भाद्र २९, २०८३ सोमबार September 14, 2026

मेलम्चीको पानी सुरुङमा पठाउने तयारी, घरघरमा पुग्न भने अझै केही समय लाग्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः मेलम्चीको पानी काठमाडौँ उपत्यकामा झार्नका लागि पथान्तरणको तयारी गरिएको छ । राष्ट्रिय गौरवको सो आयोजनामा सुरुङ निर्माणको काम झण्डै सकिएकाले पानी सुरुङमा पठाउन लागिएको हो । सुरुङ निर्माणको काम सकिएर अहिले अन्तिम काम भइरहेको छ ।

बन्दाबन्दीले सो आयोजना निर्माणमा केही ढिलाइ भएपनि निर्धारित समय असार मसान्तमा नै पानी पठाउन तयारी भइरहेको खानेपानी तथा सरसफाइ मन्त्रालयले जनाएको छ । सुरुङमा पठाइए पनि पानी काठमाडौँ उपत्यकावासीको घरघरमा पुग्न अझै केही समय लाग्ने मन्त्रालयका प्रवक्ता रितेशकुमार शाक्यले बताउनुभयो । उहाँका अनुसार सुरुङ परीक्षणकै लागि केही समय लाग्नेछ ।

पहिले सुरुङमा पानी भरिने र भरिएपछि त्यसमा कुनै चुहावट छैन भनी परीक्षण गरिने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “पानी भरिसकेपछि कुनै चुुहावट नभएपछि मात्रै उपत्यकामा पानी झार्न सकिन्छ, चुहावट भएमा त्यसको मर्मत गरिन्छ ।”

सुरुङभित्र अहिले तीन मुख्य र अर्काे एउटा गरी चार गेटहरुको अन्तिम काम भइरहेको छ । सो आयोजनाअन्तर्गत नै सुन्दरीजलमा दुई पानी प्रशोधन केन्द्र निर्माण सम्पन्न भइसकेको छ । एउटा केन्द्रको निर्माण जापानी अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) र अर्काे एशियाली विकास बैंकको सहयोगमा निर्माण भएको हो ।

उपत्यकामा पानी झारेपछि पनि यहाँ जडान भएका पाइपहरुको परीक्षण हुने प्रवक्ता शाक्यले बताउनुभयो । आयोजना कार्यान्वयन निर्देशनालयले पानी वितरणका लागि आवश्यक पर्ने पानी ट्याङ्की नौ ठाउँमा र पहिलो चरणमा वितरण हुने अधिकांश स्थानमा पाइप जडान गरिसकेको छ । अहिले पाइपको बाग्मती नदीको पानीले परीक्षण भइरहेको छ ।

परीक्षणका क्रममा नयाँ प्रणालीमा रहेका चुहावट मर्मत गरेर त्यसमा पानी पठाउनका लागि तयार गरिनेछ । सुख्खा मौसममा दैनिक १७ करोड लिटर भनिएपनि वर्षामा मेलम्चीबाट दैनिक २२ करोड लिटरसम्म पानी आउनेछ । उपत्यकाभित्रै रहेका स्रोतबाट पनि दैनिक २० करोड लिटर पानी हुँदा त्यसको व्यवस्थापनका लागि योजना भइरहेको छ ।- रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया