बैसाख १३, २०८२ शनिबार April 26, 2025

भद्रकाली मन्दिरका सत्तल पुनःनिर्माण गरिँदै

धार्मिक तथा ऐतिहासिक सम्पदा पुनः निर्माण गर्न राजनीतिकरुपमा सबैको सहयोग आवश्यक पर्नेमा उपमेयरको जोड

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ, असार २७ गते । राणाकालमा सिंहदरबार निर्माण सम्पन्न भएपछि बाँकी रहेको सामग्री प्रयोग गरेर बनाइएको भद्रकाली मन्दिरको सत्तल पुनःनिर्माण गरिने भएको छ । वि.सं.२०७२ वैशाख १२ गतेको भूकम्पअघि नै जीर्ण बनेको सत्तल पुनः निर्माण गर्न लागिएको हो ।

सत्तलको दक्षिणी भागको एउटा भवनबाट पुनः निर्माण सुरु गर्ने गरी आज काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनिता डङ्गोलले शिलान्यास गर्नुभयो । तीन वर्षमा ३४ करोड ७० लाखको लागतमा निर्माण गरिने सत्तलको शिलान्यास गर्दै उहाँले धार्मिक तथा ऐतिहासिक सम्पदा पुनः निर्माण गर्न राजनीतिकरुपमा सबैको सहयोग आवश्यक पर्नेमा जोड दिनुभयो ।

महानगरपालिका सांस्कृतिक, ऐतिहासिक, धार्मिक पक्ष जीवित राख्ने गरी यहाँका सम्पदा पुनःनिर्माणमा जुटेको उपप्रमुख डङ्गोलले बताउनुभयो । वसन्तपुर दरबार क्षेत्रको आगम्छे घर पुनःनिर्माणका लागि पनि महानगरपालिकाले पहल गर्ने उहाँले योजना सुनाउनुभयो । राणा प्रधानमन्त्री चन्द्रशमशेर राणाले सिंहदरबार पुनःनिर्माण गराएपछि बाँकी रहेको निर्माण सामग्रीले सत्तल बनाएको भनिए पनि कति सालमा बनाइएको भन्ने प्रमाण कतै नभेटिएको गुठी संस्थानले जनाएको छ ।

करिब एक सय वर्षअघि बनेको भवन वि.सं.२०७२ वैशाख १२ गतेको भूकम्पअघि नै जीर्ण बनेको थियो । गुठी संस्थान केन्द्रीय लगत तथा अभिलेख शाखा कार्यालय रहेको भवन भूकम्पपछि टेकोकाभरमा अड्याइएको थियो । महानगरपालिका पर्यटन तथा संस्कृति समितिका संयोजक एवम् वडा नम्बर ८ का वडाध्यक्ष आशामान सँगतले महानगरको ठूला योजनामध्येमा पर्ने गरी भद्रकाली मन्दिरको सत्तल पुनःनिर्माण गर्न लागिएको जानकारी दिनुभयो ।

सत्तल पुनःनिर्माण गर्न आवश्यक सामान व्यवस्थापनको काम गर्न पुरातत्व विभाग र गुठी संस्थानले गरिदिनुपर्नेमा उहाँले जोड दिनुभयो । महानगरपालिका-११ का वडध्यक्ष हीरालाल तण्डुकारले अहिले जस्तो छ, सत्तल त्यही स्वरुपमा पुनःनिर्माण हुने बताउनुभयो । सम्पदा पुनःनिर्माणका क्रममा अवलोकन गरेर तत्कालीन समयमा जस्तो मिलेनमिलेको समयमै जानकारी गराउन उहाँले पुरातत्व विभागलाई आग्रह गर्नुभयो ।

महानगरपालिका-२२ का वडध्यक्ष चिनीकाजी महर्जनले भद्रकाली महादेवको तेस्रो आँखाको रुपमा उत्पत्ति भएको विश्वास गरिने उल्लेख गर्दै न्यूरोड क्षेत्रका पाँच सय परिवारले भद्रकाली मन्दिरको संस्कृतिलाई सुरक्षित गरिराखेको बताउनुभयो । महानगरपालिका-२१ का वडध्यक्ष उदयचुडामणि बज्राचार्य, गुठी संस्थानका सहप्रशासक बैकुण्ठप्रसाद रेग्मी, स्थानीयका तर्फबाट पुनःनिर्माण समितिका संयोजक गौतम डङ्गोललगायतले भद्रकाली राजगुठी अन्तर्गतको मन्दिर भएको उल्लेख गर्दै आर्थिक अभाव भएकाले महानगरले पुनःनिर्माण गर्न लागेको बताउनुभएको थियो ।

महानगरका पूर्वप्रमुख विद्यासुन्दर शाक्यले सत्तल पुनःनिर्माण सुरु गर्न समय लागेपनि सक्न समय लगाउन नहुनेमा जोड दिनुभएको थियो । जीर्ण भएर टेकोका भरमा अड्याइएको भवनका कारण भद्रकाली मन्दिरमा आउने दर्शनार्थीसमेत त्रसित हुने अवस्था थियो । टेकोका भरमा राखिएको देख्दा मन्दिर वरपर बस्न असहज भएको दर्शनार्थीले गुनासो गर्ने गरेका थिए । संस्थानको अभिलेख, पुस्तकलायलगायत महत्वपूर्ण संरचना रहेको भवनमा अन्य सङ्घ संस्थाका साथै व्यापारिक कम्पनीसमेत भाडामा बसिरहेका छन् ।

पुनः निर्माणका क्रममा ती संस्था एवम् व्यापारिक कम्पनीलाई हटाउँदै जाने गुठी संस्थानले जनाएको छ । वि.सं.२०३२ मा स्थापना भएदेखि गुठी संस्थानको अभिलेख कार्यालय भद्रकालीकै भवनमा राखिएको छ । यही कार्यालयले यो सत्तलको रेखदेख गर्ने गरी जिम्मेवारी तोकिएको छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सुदूरपश्चिमका मुख्यमन्त्री नेतृत्वको टोली भारत भ्रमणमा जाँदै
२०८२ बैसाख १३, शनिबार
सीमा क्षेत्रका स्थानीयलाई प्रवेश पास प्रदान
२०८२ बैसाख १३, शनिबार
सरकार सबै नागरिकको उज्यालो भविष्य सुनिश्चित गर्न लागि परेको छ : मन्त्री शाही
२०८२ बैसाख १३, शनिबार
“कांग्रेस–एमाले सहमतिको कार्यान्वयनमा धनराज गुरुङको जोड”
२०८२ बैसाख १३, शनिबार
शोषणविरुद्धको संघर्षलाई अन्तर्राष्ट्रिय अभियान बनाउने उपेन्द्र यादवको आह्वान
२०८२ बैसाख १३, शनिबार
बरियारपट्टीमा ‘जनता आवास’ अनुदानको घर प्रयोगविहीन
२०८२ बैसाख १३, शनिबार
कलेजो बलियो बनाउन खानुहोस्, यी पाँच आयुर्बेदिक औषधी
२०८२ बैसाख १३, शनिबार