मंग्सिर ६, २०८३ आइतबार November 22, 2026

गर्मीमा कुन फलफूल कति खाने ? जानीराखौं

ठूलो भए चार वटा र सानो भएमा आठ वटासम्म आल्चा खान उपयुक्त हुन्छ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः गर्मीको बेला शरीरमा पानीको मात्रा पूरा गर्न प्रशस्त तरल पदार्थ खानुपर्छ । चर्को घाम र वातावरणको तातोले पनि विभिन्न रोगको जोखिम बढाउँछ जसले शरीरमा आलस्य र कमजोरी ल्याउँछ ।

गर्मीमा यस्ता धेरै फलफूल पनि पाइन्छ जसलाई खाएपछि शरीरमा पानीको कमीलाई पूरा गर्नुका साथै गर्मीमा हुने धेरै रोगबाट बचाउन मद्दत गर्छ । त्यसैले मौसमअनुसार विभिन्न प्रकारका फलफूल खाएर स्वस्थ रहन सकिन्छ ।

गर्मीमा आँप, लिची, खरबुजा, आरु, आल्चा लगायतका फलफूल धेरै पाइन्छ । यी फलफूलमा भिटामिन, मिनरल, रेशा लगायतका पोषण तत्त्व धेरै पाइन्छ जसले शरीरको पाचन प्रणालीलाई मद्दत गर्दछ ।

खरबुजा

खरबुजा गर्मीको समयमा सबैभन्दा लोकप्रिय फल हो । यसमा झन्डै ९० प्रतिशत पानी हुन्छ जसले शरीरलाई पानीको मात्रा कायम राख्न मद्दत गर्छ । खरबुजामा भिटामिन ए, सी, बी ६ र रेशा पनि प्रचुर मात्रामा पाइन्छ जसले ताजगी र ऊर्जा प्रदान गर्छ । खरबुजामा आइरन पनि प्रशस्त मात्रामा पाइन्छ । एक पटकमा एक सय ५० ग्रामदेखि दुई सय ग्रामसम्म खरबुजा खान मिल्छ ।

आँप

आँपलाई फलको राजा मानिन्छ । आँपमा कार्बोहाइड्रेट र चिनीको मात्रा धेरै हुन्छ । आँपमा भिटामिन ए, बी, सी, ई, पोटासियम, म्याग्नेसियम लगायतका तत्त्व अन्य फलफूलभन्दा धेरै पाइन्छ । यी भिटामिनले रोग प्रतिरोधी क्षमता बढाउँछ । आँपमा भएको रेशाले ठूलो आन्द्राको क्यान्सरको जोखिम पनि कम गर्छ । आँप खाँदा मुटुलाई पनि फाइदा पुर्‍याउँछ । दैनिक एक पटकमा एक सयदेखि एक सय ५० ग्रामसम्मको आँप खान सकिन्छ । अर्थात् एक चिया कप बराबर आँप खान उपयुक्त हुन्छ ।

लिची

लिची पनि स्वादिष्ट र पानीको मात्रा राम्रो भएको फल हो जसले शरीरलाई चिसो र ताजगी महसुस गराउँछ । यसमा भिटामिन बी, सी, म्याग्नेसियम र रेशा पाइन्छ जसले प्रतिरक्षा प्रणालीलाई मजबुत बनाउँछ । आँप जस्तै लिचीमा पनि चिनीको मात्रा धेरै हुन्छ । लिची एक चोटीमा एक सयदेखि एक सय ५० ग्रामसम्म खान मिल्छ, अर्थात् पाँचरछ वटासम्म खान मिल्छ ।

आल्चा

पाकेको आल्चा कलेजी रङ्गको हुन्छ । यसको विशेषता यसको रङ्गसँगै जोडिएको छ । आल्चामा अरू फलभन्दा भिन्न पोषक तत्त्व पाइन्छ । आल्चाको रङ्गमा फाइटोकेमिकल हुन्छ जसले धेरै पोषक तत्त्व प्रदान गर्छ । यसमा एन्टिअक्सिडेन्टु पनि हुन्छ जसले शरीरको रोग प्रतिरोधी क्षमता बढाउँछ । भिटामिन सी र रेशा पनि यसमा पाइन्छ । ठूलो भए चार वटा र सानो भएमा आठ वटासम्म आल्चा खान उपयुक्त हुन्छ ।

आरु

आरुमा पनि भिटामिन सी को मात्रा धेरै हुन्छ । रेसा बढी हुन्छ । पाकेको आरुमा पनि फाइटोकेमिकल हुन्छ । एकपटकमा ठूलो आरु दुई वटा र सानो आरु पाँच वटासम्म खान मिल्छ ।

भुइँकटहर

भुइँकटहरमा प्रशस्त मात्रामा भिटामिन सी पाइन्छ जसले रोग प्रतिरोधी क्षमता बढाउँछ । यसमा पाइने रेशाले आन्द्रा र स्तन क्यान्सरको सम्भावना घटाउँछ । पोटासियम, म्याग्नेसियम जस्ता खनिजले उच्च रक्तचापको समस्या घटाउन मद्दत गर्छ । एकपटकमा ७० देखि एक सय ५० ग्रामसम्म भुइँकटहर खान उपयुक्त हुन्छ ।

नास्पाती

नास्पातीमा फाइबर र भिटामिन सी प्रचुर मात्रामा पाइन्छ । यसले पाचन प्रणालीलाई सुधार गर्न मद्दत गर्छ र शरीरमा पानीको मात्रा बनाइ राख्छ । एकपटकमा नास्पाती एक सय ग्रामसम्म खान मिल्छ ।

एकैपटक धेरै फलफूल खाएमा पोट दुख्ने वा पाचन प्रणालीमा असर पर्छ । धेरै फलफूल खाएमा शरीरमा चिनीको मात्रा बढ्छ । मौसमी फल दैनिक दुईदेखि तीन पटकसम्म खान सकिन्छ । तर एक पटकमा एक सय ५० ग्रामभन्दा बढी खानु हुँदैन ।

कस्तो फल खाने ?

काँचो फल खाँदा पाचन प्रक्रियामा असर पार्न सक्छ जसले गर्दा पेट दुख्ने, पेटमा हावा भरिने जस्ता समस्या हुन सक्छन् । मौसमभन्दा छिटो फल पकाउन विभिन्न रसायन प्रयोग गरिएको हुन सक्छ ।

हानिकारक रसायनबाट बच्नका लागि फललाई कम्तीमा आधा घण्टा चिसो पानीमा भिजाएर राख्नुपर्छ जसले फलको बोक्रामा लागेको विषादीलाई घटाउन मद्दत गर्छ ।

मौसमी फलमा प्राकृतिक मिठास हुने भएकाले यी फलको सेवनले कृत्रिम चिनीको आवश्यकता कम गर्छ । यसले मधुमेह जस्ता समस्याबाट बच्न मद्दत गर्दछ । प्राकृतिक रूपमा पाइने मिठासले शरीरलाई ऊर्जा प्रदान गर्छ । मौसमी फलमा फाइबरको मात्रा उच्च हुने भएकाले पाचन प्रणालीलाई सुधार गर्न मद्दत गर्दछ ।

नियमित मौसमी फल खाने व्यक्तिमा कब्जियत र पेटसम्बन्धी समस्या कम हुने गर्छ । पाचन प्रणालीलाई स्वस्थ राख्न फाइबरयुक्त फलको सेवन गर्नु आवश्यक छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
तल्लो अरुण जलविद्युत् आयोजना : सोमबार शिलान्याश हुँदै
२०८३ मंग्सिर ६, आइतबार
दूधको मूल्य प्रतिलिटर ८० रुपैयाँ कायम गर्न धनकुटाका किसानको माग
२०८३ मंग्सिर ६, आइतबार
अमेरिकी सेयर बजारमा १० प्रतिशत गिरावट, लगानीकर्तामा अनिश्चितता
२०८३ मंग्सिर ६, आइतबार
साहित्यकारले विकृतिमाथि प्रश्न उठाउँदै सकारात्मक प्रयासलाई प्रोत्साहन गर्नुपर्छ : सभामुख अर्याल
२०८३ मंग्सिर ६, आइतबार
पर्सामा आर्थिक अपराधका घटना सबैभन्दा बढी, एक महिनामा ४९ मुद्दा दर्ता
२०८३ मंग्सिर ६, आइतबार
सन्दीपको घातक बलिङ र कुशलको अर्धशतक, यूएईमाथि नेपालको ६ विकेटको शानदार जित
२०८३ मंग्सिर ६, आइतबार
झापा महिला गोल्डकप : १० गोल गर्दै आर्मीले काट्यो सेमिफाइनलको टिकट
२०८३ मंग्सिर ६, आइतबार