जेठ ७, २०८१ सोमबार May 20, 2024

प्रधानमन्त्री बिहानैदेखी परामर्शमाः प्रभावशाली मन्त्री र स्थायी समिति सदस्यहरुलाई बालुवाटार बोलाएर छलफल

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले अचानक प्रभावशाली मन्त्री र स्थायी समिति सदस्यहरुलाई बालुवाटार बोलाएर छलफल थालेका छन् ।

आफ्नै अभिव्यक्तिका कारण अप्ठ्यारोमा परेका प्रधानमन्त्री केपी शर्मा ओलीले पछिल्लो राजनीतिक अवस्था र परामर्शका लागि मन्त्रीहरुलाई अचानक बालुवाटार बोलाएका हुन् । प्रधानमन्त्री ओलीले आफू निकट स्थायी कमिटी सदस्य तथा मन्त्रीहरूलाई छलफलका लागि बालुवाटार बोलाएको बुझिएको छ ।

छलफलका लागि बुधबार बिहान आठ बजे अघि नै उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोख्रेल, गृहमन्त्री राम बहादुर थापा, परराष्ट्र मन्त्री प्रदिप ज्ञवाली, प्रदेश नं ४ का मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ, प्रदेश नं ५ का मुख्यमन्त्री शंकर पोख्रेल, कृषिमन्त्री घनश्याम भुषाल, भौतिक पूर्वाधार तथा यातायात मन्त्री  रघुबिर महासेठ र नेकपा संसदिय दलको उपनेता सुबास नेम्वाङ प्रभावशाली मन्त्रीहरु समेत सहभागी छन् ।

ओलीले आज बिहान ११ बजे बालुवाटारमा पुनः बस्ने स्थायी समिति वैठकमा आफ्नो रणनीति र कसरी प्रस्तुत हुने भन्ने विषयमा सल्लाह गर्न लागेको बालुवाटार श्रोतको दाबी छ।

मंगलबारको स्थायी कमिटी बैठकमा शीर्ष नेतासहित १७ जनाले अध्यक्ष र प्रधानमन्त्री दुवै पदबाट राजीनामा दिन माग गरेपछि बुधबार बिहान प्रधानमन्त्री ओली राजनीतिक परामर्शका लागि मन्त्रीहरुलाई बालुवाटार डाकेका हुन् ।

अढाइ बर्षदेखि सरकारको नेतृत्व गरिरहेका प्रधानमन्त्री केपी शर्मा ओली स्वेच्छाचारी ढंगले अघि बढ्न खोजेपछि पार्टीे सचिवालयका पाँच शीर्ष नेताहरूले स्थायी कमिटी बैठकमै उनको राजीनामा मागेका थिए ।

नौ सदस्यीय सचिवालयमा रहेका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम, प्रवक्ता नारायणकाजी श्रेष्ठसहित मंगलबार बोल्ने अन्य १२ स्थायी कमिटी सदस्यले पार्टी र सरकार दुवैबाट ओलीको राजीनामा मागेका हुन् ।

उनीहरुले दुई तिहाइको सरकार भएर पनि जनअपेक्षा अनुसार काम गर्न नसकेको र प्रधानमन्त्रीको पछिल्लो अभिव्यक्ति आपतिजनक भएको बताएका थिए । उनीहरुले भारतले सरकार ढाल्न खोजीरहेको भन्ने भनाई प्रधानमन्त्रीले स्पष्ट पार्नुपर्ने माग समेत गरेका थिए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया