श्रावण १२, २०८१ शनिबार July 27, 2024

संसदीय अभ्यासको स्वरूप : सुरेश आचार्य

संसद्मा प्रतिपक्षले आवाज उठाइरहँदा सत्तापक्षले रोक्न खोज्नु संसदीय मान्यता होइन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

प्रतिनिधि सभा, जसले सरकारको चयन गर्छ । सरकारलाई विश्वासको मत दिन्छ तर त्यही प्रतिनिधि सभा हो, जसले सरकारमाथि अविश्वासको प्रस्ताव ल्याउँछ । सरकारबाट हटाउँछ । सरकारका हरेक कामकारबाही संसद्प्रति उत्तरदायी हुनु पर्छ । सरकारका हरेक काममा संसद्ले जाँच र परीक्षण गर्न पाउँछ । संसद् मात्रै एउटा यस्तो थलो हो, जहाँ बोलेका विषयमा कुनै अदालतमा मुद्दा लाग्दैन । संसद् जनताका दैनिक जीवनयापनका विषयमा समेत बोल्नु पर्ने ठाउँ हो । संसद् नै जनताको सही प्रतिनिधित्व गर्ने थलो हो । त्यसैले यसको नाम पनि प्रतिनिधि सभा भनिएको हो । जनताले चुनेका प्रतिनिधिले जनताको सरकार बनाउन मात्र होइन, जनताका पक्षमा काम नगर्ने सरकार भत्काउन पनि सक्छ र जनताका समस्याको समाधान पनि खोज्नु पर्छ ।

२०४६ को जनआन्दोलनपछि निर्वाचित प्रतिनिधि सभामा सभामुख हुनुहुन्थ्यो दमननाथ ढुङ्गाना । अहिलेको सत्तारूढ गठबन्धनको ठुलो दल एमाले त्यसबेला प्रतिपक्ष थियो । कम्युनिस्ट पार्टीहरू मध्येको बलियो र संसद्को क्रान्तिकारी दल पनि एमाले नै थियो । प्रतिपक्षको संसद्भित्रको अधिकारको संरक्षक हुनुहुन्थ्यो : सभामुख दमननाथ ढुङ्गाना । उहाँको मान्यता थियो– संसद्मा कुनै सांसद कुर्सीबाट उठ्यो भने ऊ के भन्न चाहन्छ, त्यसपछि मात्रै नियमित कारबाही अगाडि बढ्छ । संसद्मा प्रतिपक्षले बोल्ने हो, सरकारले होइन भन्ने मान्यता थियो । त्यसैले हप्तौँ नाराबाजी भइरहँदा उहाँ सभामुखको कुर्सीमा आरामसाथ बसेर सुनिरहनु हुन्थ्यो । अर्थात् संसद् प्रतिपक्षको हो, उसलाई बाइपास गरेर संसद्का कारबाही अगाडि बढ्न सक्दैनन् ।

संसद्मा प्रतिपक्षले आवाज उठाइरहँदा सत्तापक्षले रोक्न खोज्नु संसदीय मान्यता होइन । प्रतिपक्षीको आवाज सुनिएन भने स्वाभाविक रूपमा बेलको अगाडि पुग्छन् । आज नेपाली कांग्रेस प्रतिपक्षी भएका कारणले मात्र होइन, अरू दल प्रतिपक्षमा रहँदा पनि यही अभ्यास गरेका हुन् । यतिबेला प्रतिपक्षले अघिल्लो अधिवेशनमा समेत सुनुवाइ नभएपछि नयाँ अधिवेशनमा सोही मुद्दालाई उठाएको छ । प्रतिपक्षको आकार ठुलो होस् वा सानो, प्रतिपक्ष सरकारको खबरदारी गर्ने वैधानिक अख्तियार प्राप्त दल हो । संसद्को अङ्क गणितको अभ्यासमा जोसुकैले जितेको होस्, अहिलेको प्रतिपक्ष भनेको सदनको सबैभन्दा ठुलो दल हो । सत्तारूढ दलका नेताले यस कुरालाई सदैव हेक्का राख्नु पर्ने हुन्छ । सत्ताले नेतालाई अन्धो बनाउन सक्छ तर लोकतन्त्रले कसैको अहम् तुष्टिका लागि छुट दिँदैन ।

सत्तारूढ नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले अब नेपाली कांग्रेसलाई संसद‍्मा बोल्न नदिने चेतावनी दिनुभएको छ । उहाँको यो अभिव्यक्ति उहाँकै पार्टीको संसदीय दलको बैठकमा आएको हो । उहाँले कांग्रेस मात्र संसद्मा बोलिरहेको र अरू कसैले बोल्न नपाएको व्याख्या गर्दै यो पनि भन्नुभएछ– “यस्तो न डेमोक्रेसी हुन्छ, न संसदीय अभ्यास ।”

वर्तमान प्रतिनिधि सभामा एमाले दोस्रो ठुलो दल हो । यसको स्वाभाविक अर्थ उसको प्रतिपक्षी हैसियत हो । कुनै पार्टीले बहुमत ल्याउन नसकेको अवस्थामा संसद्को पहिलो ठुलो दललाई सरकार बनाउन दिनु संसदीय मान्यता हो । त्यस अनुरूप नै २०५१ सालमा इतिहासमै पहिलो पटक मुलुकमा एमाले नेतृत्वको कम्युनिस्ट सरकार बनेको हो । यो पनि संसदीय मान्यता नै हो कि संसद्को दोस्रो ठुलो दल वैकल्पिक सरकारसमेत हो । संसद्मा कुनै पनि दलले बहुमत नल्याएको अवस्थामा पहिलो दल असफल हुँदा दोस्रो ठुलो दल सत्ताको स्वाभाविक उत्तराधिकारी हो ।

सरकारमा रहेपछि सत्तारूढ गठबन्धनमा रहेका दल र उनीहरूको नेताको स्वार्थ रक्षा गर्नुपर्ने नैतिक जिम्मेवारी अन्यथा होइन तर कुनै सत्ता गठबन्धनका बारेमा प्रश्न उठाएका कारणले प्रतिपक्षलाई संसद्मा बोल्न दिइँदैन भन्नु कति संसदीय अभ्यास हो ? सत्ता पक्ष हुनुको बेफाइदा वा मर्यादा जे भने पनि उसले संयम अपनाउनु पर्छ । आफूलाई छान्ने संसद्प्रति ऊ जवाफदेही हुनु पर्छ र सरकारप्रति प्रश्न नगर्ने वा प्रश्नै नउठाउने हो भने प्रतिपक्षको औचित्य पनि समाप्त हुन्छ । पदीय जिम्मेवारीमा रहेको व्यक्तिले व्यक्तिमाथि आक्रमण गरियो भन्न मिल्दैन । पदमा नरहेको भए सम्भवतः व्यक्ति केन्द्रित भएर प्रश्न उठ्ने थिएन । पदीय मर्यादाले व्यक्तिको वैयक्तिक स्वतन्त्रतालाई साँघुरो बनाउँछ भन्ने बुझाउन कसैलाई छुट्टै पाठ पढाइरहनु पर्ने होइन ।

एक पटक डा. रामशरण महत अर्थमन्त्री हुँदा उहाँको विदेशी बैङ्कमा खाता रहेको प्रश्न उठ्यो । पदमा रहँदा त्यसलाई छाड्ने रुचि जोकसैलाई हुँदैन । उहाँले पनि स्पष्टीकरण दिएर कुनै रकम जम्मा गर्न खाता नखोलिएको बताउनु भयो तर संसद्ले यो कुरा मानेन । उहाँले आफ्नो स्पष्टीकरण राख्दै संसद्को रोस्टमबाटै राजीनामा गर्नुभयो । उहाँको खाताबारे छानबिन गर्न संसदीय समिति नै बन्यो । अन्ततः उहाँँले भने जस्तै विदेशी संस्थामा जागिर खाँदा तलब जम्मा गर्न उहाँले खाता खोल्नु भएको रहेछ । त्यो बन्द गरिएको रहेनछ । त्यसमा नेपालबाट कुनै रकम जम्मा गरिएको फेला परेन । त्यस कारण कारबाहीमा पर्नुपर्ने पनि भएन । यद्यपि उहाँको मन्त्री पद गुम्यो ।

अहिले कांग्रेसले उठाएको प्रश्न नैतिकताको पनि हो र स्वार्थ बाझिने विषय पनि हो । नैतिकवान् सबै हुनु पर्छ । संसद्मा मन्त्रीलाई बोल्ने अधिकार नहुने होइन, हुन्छ । उसले संसद्मा उठेका प्रश्नको जवाफ दिने हो । संसद्लाई मुठभेडमा लैजानु हुँदैन । कतिपय मुलुकका संसद्मा यस्ता घटना दोहोरिएका छन् तर ती संसदीय आदर्श बन्न सकेका छैनन् । सरकारमा रहनु भनेको संयम र धैर्य रहन सक्नु र सिक्नु पनि हो । संसद्मा सहमति बन्न नसक्दा जुन खालको अप्रिय अवस्थामा संसद् जान लागेको आभास हुँदै थियो, सहमतिका प्रयासले फेरि संसद्लाई आफ्ना काममा फर्कने वातावरण तयार हुँदै छ । तिक्ततालाई होइन, मित्रतालाई आधार बनाएर मात्र एकअर्काको सम्मान गर्न सकिन्छ । सत्ता र प्रतिपक्षमा रहनु त समयको खेल हो । गोरखापत्र

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
खार्मीमा अस्थायी प्रहरी चौकी स्थापना
२०८१ श्रावण ११, शुक्रबार
मीरा तामाङको तीजको कोसेली धमाका मच्चाउँछु सार्वजनिक (भिडियो हेर्नुहोस्)
२०८१ श्रावण ११, शुक्रबार
हिल्टन होटलले विदेशी पर्यटक आकर्षित गर्नेछः प्रधानमन्त्री ओली
२०८१ श्रावण ११, शुक्रबार
रेशमलाई लुम्बिनीमा धक्का, संसदीय दलको नेता परिवर्तनलाई प्रदेश सभाले मानेन
२०८१ श्रावण ११, शुक्रबार
देशको कमजोर शिक्षा नीतिले साम्राज्यवादी देशलाई मद्दत पुगिरहेको छ : नारायणमान बिजुक्छे
२०८१ श्रावण ११, शुक्रबार
आइतबार उपत्यकाका पालिका र मातहतका निकायमा सार्वजनिक बिदा
२०८१ श्रावण ११, शुक्रबार
मौद्रिक नीतिले समर्थन र स्वागत पाएको छः प्रधानमन्त्री ओली
२०८१ श्रावण ११, शुक्रबार