भाद्र ३१, २०८३ बुधबार September 16, 2026

राजनीतिक स्थिरताको आशादीप : डा. टीकाराम पोखरेल

दलले लोकतन्त्रमा धब्बा लाउने काम गर्न थाले भने चाहिँ त्यसबेला नागरिक खबरदारी आवश्यक छ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

फ्रान्सबाट प्रकाशित हुने एउटा दैनिक पत्रिका ‘ले मोन्डे’ ले नेपालमा सरकार परिवर्तन भएसँगै ‘नेपाल राजनीतिक अस्थिरतामा विश्व च्याम्पियन’ भन्ने शीर्षक राखी समाचार प्रकाशित गरेछ । शीर्षक अलि व्यङ्ग्यात्मक लागे पनि १५ वर्षको अवधिमा चौध वटा प्रधानमन्त्री फेरिने देशलाई पत्रिकाले त्यसरी व्यङ्ग गर्नु अस्वाभाविक थिएन । औसतमा वर्षको एउटा प्रधानमन्त्री फेरिने देश नेपालबाहेक सम्भवत विश्वमा अरू छैन होला । जबकि राजनीतिक स्थिरता भइदिएको भए यस अवधिमा जम्मा तीन वटा प्रधानन्त्री हुनुपथ्र्यो ।

सधैँ अस्थिर

नेपालमा २०४६ सालमा प्रजातन्त्रको पुनस्र्थापनापछि कुनै पनि प्रधानमन्त्रीले पाँचवर्षे कार्यकाल पूरा गर्न पाएनन् । २०४८ र २०५६ को निर्वाचनमा नेपाली कांग्रेसले एकल बहुमत ल्याए पनि पार्टीभित्रको आन्तरिक किचलो हाबी भएर पाँच वर्ष नपुग्दै प्रधानमन्त्री फेरिए । गणतन्त्रको स्थापनापश्चात् २०७४ को निर्वाचनमा तत्कालीन नेकपाले झन्डै दुई तिहाइको हाराहारीमा सिट जित्दा पनि प्रधानमन्त्रीले पाँचवर्षे कार्यकाल पूरा गर्न पाएनन् । बरु तत्कालीन एमाले माआवादी मिलेर बनेको नेकपा नै फुट्यो । राजनीतिक संस्कार भएन भने पार्टीको एकल बहुमत भएर मात्र पनि स्थायी सरकार नहुँदो रहेछ भन्ने विगतका यी उदाहरण पर्याप्त छन् । तथापि स्थिरताका लागि एकल बहुमतबाहेक अर्को राम्रो विकल्प पनि त छैन ।

नेपालमा अस्थिर सत्ता राजनीतिको दुष्चव्रm लामो समयदेखि चलिरहेछ । यस्तो अवस्थामा जनजीविकाका विषय सबै छायामा पर्छन् । अधिकार कुण्ठित हुन्छन् । विकास निर्माणमा ढिलासुस्ती हुन्छ । राजनीतिक परिवर्तन भए पनि आर्थिक परिवर्तन भएन भन्ने नागरिकको गुनासो छ । जब दलहरूमा सत्ता टिकाउने कुरा नै प्रमुख एजेन्डा बन्छ, तब विकास निर्माणका काम छायामा पर्नु स्वाभाविक हो । स्वाभाविक नभए पनि स्वाभाविक मानिदिनुपर्ने भयो । जनताले दलहरूप्रति असन्तुष्टि व्यक्त गर्ने प्रमुख विषय पनि यही पटक पटक सत्ता परिवर्तनको विषय रह्यो । सत्ता परिवर्तनका अप्राकृतिक खेलले नै दल र जनताका बिच दुरी बढायो ।

बलियो अङ्क गणित 

झिनो बहुमतको सत्ता अस्थिर हुन्छ । अस्थिर सत्ताले दलहरूलाई आलोचित बनाउँछ । २०४६ सालदेखि नै राजनीतिलाई संसदीय अङ्क गणितले पटक पटक बदनाम गराइरहेछ । जति झिनो बहुमत उति धेरै साना दलले बार्गेनिङ गर्ने मौका पाए । राजनीतिक बार्गेनिङले संसदीय राजनीतिमा धब्बा लाग्यो । यो धब्बा मेट्न बलियो अङ्क गणितसहितको स्थिर सरकारको विकल्प थिएन । यस्तो धरातलीय अवस्थामा दुई ठुला राजनीतिक दल मिलेर सरकार बनाउँदा स्थिरताको आशादीप बल्नु स्वाभाविक छ । पटक पटक सरकार बदलेर दलका व्रिmयाकलापप्रति नै प्रश्न उठी नागरिकमा वितृष्णाको पहाड बनेको बेला त्यो वितृष्णाको पहाड हटाई आशाको दियो बाल्न बलियो अङ्क गणित सक्षम हुनु पर्छ । लामो समयदेखि संसदीय अङ्क गणितप्रतिको नागरिकको वितृष्णालाई यो सरकारले पूर्णविराम लगाउन सक्नु पर्छ ।

लोकतन्त्रमा आवधिक निर्वाचन सबैभन्दा महìवपूर्ण हुन्छ । चार वा पाँच वर्षको अवधिमा निर्वाचन गरिनु भनेको कम्तीमा पनि चार पाँच वर्ष एउटा दलको सरकार रहोस् भन्ने संसदीय व्यवस्थाको परिकल्पना हो । आवधिक निर्वाचनको व्यवस्था राखिनुको कारण भनेको सत्तामा बसेको दलले राम्रो काम गरेको छ भने उसैलाई पुनः अर्को अवधि पनि निरन्तरता दिने र नराम्रो काम गरेको छ भने अर्को विपक्षी पार्टीलाई सरकार चलाउन अवसर दिने हो । हाम्रो संविधानले पाँच वर्षमा आवधिक निर्वाचनको व्यवस्था गरेको भनेको पाँच वर्ष एउटा सरकार रहोस् भन्ने हो । संविधानको परिकल्पना विपरीत पाँच वर्षमा पाँच वटै सरकार बन्ने भएपछि आवधिक चुनावमा कुन शक्ति कस्तो भनेर छनोट गर्न पनि जनतालाई गाह्रो पर्ने स्थिति छ । छोटो अवधिका सरकारको सही मूल्याङ्कन गर्न कठिन हुन्छ । यस्तो अवस्थामा स्थिर सरकारको विकल्प थिएन ।

लोकतन्त्र खतराको अलाप

दुई ठुला दल मिलेपछि लोकतन्त्रमा खतरा पर्छ भन्ने आवाज विपक्षी दलबाट सुन्न थालिएको छ । केही विश्लेषकले पनि यो भाष्य पछ्याएका छन् । संसदीय व्यवस्थामा विपक्षी बलियो चाहिने भएकाले कतै संसद्मा आवाज कमजोर हुन्छ कि भन्ने चासो स्वाभाविक हो । त्यसको अर्थ सत्ताचाहिँ कमजोर भए पनि हुन्छ भन्ने होइन । त्यही पार्टीले सत्तामा बस्दा सरकार बलियो हुने तर त्यही पार्टी सत्ताबाट विपक्षमा पुग्दा विपक्षचाहिँ कमजोर हुने तर्क आफैँमा विरोधाभाष छ । लोकतन्त्र खतरामा नै पर्छ भन्ने कसैलाई लागेको छ भने पनि दलहरू झगडा गर्दा लोकतन्त्र खतरामा पर्छ । ठुला दलहरू मिल्दा त लोकतन्त्र झनै बलियो हुन्छ । विगतका अभ्यासले पनि यही देखाउँछ ।

लोकतन्त्र समाप्त पारियो भने दलहरू नै समाप्त हुन्छन् । आफैँ समाप्त हुने काम दलबाट कदापि हुँदैन । राजनीतिक दलका गलत व्रिmयाकलापले लोकतन्त्रलाई बदनाम गराउला तर लोकतन्त्र समाप्त हुँदैन । किनभने लोकतन्त्र भनेको राजनीतिक दलको पेवा होइन, लोकतन्त्र जनताको नासो हो । जनताको नासोमा धब्बा नलगाउनु चाहिँ दलको कर्तव्य हो । दलले लोकतन्त्रमा धब्बा लाउने काम गर्न थाले भने चाहिँ त्यसबेला नागरिक खबरदारी आवश्यक छ ।

संविधान संशोधन

राजनीतिक स्थिरताका लागि दुई ठुला दल मिल्ने काम अस्थायी समाधान मात्र हो । यसले केही वर्ष सरकारको स्थायित्व देला, तर दीर्घकालीन राजनीतिक स्थायित्वको एक मात्र उपाय भनेको पाँच वर्ष एउटै दलको सरकार हो । त्यसका लागि वर्तमान निर्वाचन प्रणालीबाट सम्भव नहुने भएकाले संविधान संशोधन नै स्थायी सरकार बनाउने एक मात्र उपाय हो । किनकि यो संविधान रहेसम्म कुनै दलको बहुमत आउने अवस्था हुँदैन ।

वर्तमान संविधानप्रति नागरिकको असन्तुष्टि छ, ठुला दलको असन्तुष्टि बाहिर आइसक्यो । केही दलले त संविधान जारी गर्ने बेलामा नै असहमति जाहेर गरेका हुन् । सबैको असहमतिलाई सम्बोधन गर्न राष्ट्रिय सहमतिका साथ संविधान संशोधन हुन सक्यो भने मात्र देश स्थायी रूपमा राजनीतिक स्थिरतामा जान्छ । त्यसैले संविधान संशोधनको एजेन्डा सरकारले अर्जुनदृष्टिका साथ अगाडि बढाउनु पर्छ । संविधान संशोधनको कार्य पूरा गर्न सके यो सरकारको सबैभन्दा ठुलो उपलब्धि हुने छ । संविधान संशोधन मात्र सबैथोक होइन, नागरिकको जनजीविकाका विषयमा सरकार गम्भीर हुनै पर्छ ।

प्रतिपक्षको साथ

लोकतन्त्रमा प्रतिपक्षको साथ नहुँदा पनि सत्ता चल्छ तर संविधान संशोधन हुँदैन । अङ्क गणितले सरकार बन्छ, संविधान बन्दैन र संशोधन पनि हुँदैन । २०७२ सालको संविधान ९० प्रतिशतभन्दा बढी सांसदको सङ्ख्याले पारित गर्दा पनि त्यसमा असहमति रही नै रह्यो । अझै पनि दशक बित्दा पनि असहमति बाँकी छ । दुई सत्ताधारी ठुला दल कांग्रेस एमालेले प्रमुख प्रतिपक्ष माओवादी र रास्वपालाई मात्र होइन, मधेशकेन्द्रित दल जो संविधान घोषणा हुँदैदेखि असहमति राखिरहेका छन् उनीहरूलाई समेत साथमा लिनु आवश्यक छ । कांग्रेस एमालेले राष्ट्रिय सहमतिको सरकारमा सहभागी हुन सबै दललाई आह्वान गर्नुले पनि सरकारले सबैको सहमति लिनु पर्छ भन्ने सङ्केत गरिसकेको छ ।

अन्तिम लक्ष्य समृद्धि

तपसिलका जतिसुकै एजेन्डामा बहस गरे पनि सरकारको अन्तिम लक्ष्य समृद्ध देश र सुखीखुसी जनता हुनु पर्छ । जुनसुकै दलको सरकार बने पनि देश र जनतालाई केन्द्रमा राखेर काम गर्न सके त्यो सरकार लोकप्रिय र सफल हुन्छ । जुन सरकार नागरिकको मानव अधिकारप्रति प्रतिबद्ध भई काम गर्छ, त्यो सरकार असफल भएको संसारमै उदाहरण छैन ।

दुई ठुला दल मिलेर दुई तिहाइको विश्वाससहित बनेको सरकारले देशमा शान्ति, समृद्धि, र राजनीतिक स्थिरता कायम गरी जनताको अपेक्षा पूरा गर्न सके मात्र कांग्रेस एमाले गठबन्धनको औचित्य पुष्टि हुन्छ । लोकतन्त्रपछि देशमा केही हुँदै नभएको होइन तर अझै पनि अँध्यारो पाटो, खास गरी आर्थिक समृद्धिको पाटो बाँकी छ । तमसोमा ज्योतिर्गमयमा सरकारको ध्यान जाओस् । नेपाल राजनीतिक अस्थिरतामा विश्व च्याम्पियन होइन, बरु छोटो अवधिमा देशलाई समृद्धिको शिखरमा पु¥याउन विश्व च्याम्पियन हुन्छ भन्ने सन्देश गठबन्धन सरकारले दिनु पर्छ । नागरिकको आमचाहना पनि यही हो । गोरखापत्र

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
विपद् व्यवस्थापनका लागि सर्वदलीय संसदीय विशेष समिति गठन गर्ने सर्वदलिय निर्णय
२०८३ भाद्र ३१, बुधबार
ठूला चाडपर्वमा उपभोग्य वस्तुको अभाव नहुने
२०८३ भाद्र ३१, बुधबार
बाढीप्रभावितलाई विद्युत् सेवामा राहत दिने ऊर्जामन्त्रीको घोषणा
२०८३ भाद्र ३१, बुधबार
पाठ्यक्रम परिमार्जनका लागि रचनात्मक सुझाव सङ्कलन
२०८३ भाद्र ३१, बुधबार
‘डिजिटल पार्लियामेन्ट प्लेटफर्म’ को परीक्षण सुरु
२०८३ भाद्र ३१, बुधबार
परराष्ट्रमन्त्री खनालसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट
२०८३ भाद्र ३१, बुधबार
चलचित्र क्षेत्रको विकासका लागि आवश्यक सहयोग गर्न सरकार तयार छः सञ्चारमन्त्री डा तिमिल्सिना
२०८३ भाद्र ३१, बुधबार