असार ३०, २०८१ आइतबार July 14, 2024

बाइरोडको बाटोमा: कुर्सीमोहमा कमरेड – गुणराज लुइँटेल

धेरै सत्तालिप्साले दलको अवस्था कहाँ पुर्‍याउँछ भन्ने बुझ्न माओवादी केन्द्रको अवस्था हेरे पुग्छ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

हामीकहाँ प्रधानमन्त्री पुष्पकमल दाहालको सरकार ढल्दै गर्दा बेलायतमा नयाँ संसद्का निम्ति निर्वाचन हुँदै थियो। यसबीच कन्जरभेटिभ पार्टीका प्रधानमन्त्री ऋषि सुनकले राजीनामा गरी पराजय स्वीकार मात्र गरेका छैनन्, त्यसको जिम्मेवारी पनि लिएका छन्। लेबर पार्टीको तर्फबाट प्रधानमन्त्री बनिसकेका छन्-कियर स्टार्मर।

लेबर पार्टीलाई सत्तामा फर्कन १४ वर्ष लागेको छ। यो धैर्य हाम्रो राजनीतिमा देखिन मुस्किल छ। निर्वाचनमा पराजय भएपछि आफ्नो कमजोर प्रदर्शनका निम्ति माफी माग्दै प्रतीक्षा गर्नुको सट्टा हामीकहाँ भने नयाँ सरकार बनाउने षड्यन्त्र सुरु हुन्छ। त्यस्तो नहुँदो हो त निर्वाचनपछिका १९ महिनामा पाँचौँ पटक प्रधानमन्त्रीले विश्वासको मत लिनुपर्ने थिएन। विश्वासको मत लिन प्रधानमन्त्री प्रचण्डले असार २८ को दिन चुनेका छन्।

सामान्यतः सबैभन्दा ठूलो दलले निर्वाचनपछि सरकार चलाउन खोज्छन्। त्यसमा पनि सम्भव भएन भने दुई ठूला दल वा ठूलामध्ये केही दलकै नेतृत्वमा सरकार बनाएर गठबन्धन बनाइ अघि बढ्छन्। हामीकहाँ ठूलाभन्दा साना दल हुनुमा फाइदा छ। यसको थालनी २०५१ सालमा त्रिशंकु संसद् बनेपछि राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता लोकेन्द्रबहादुर चन्द र सूर्यबहादुर थापालाई पालैपालो सरकारको नेतृत्व गर्ने ठाउँमा क्रमशः नेकपा (एमाले) र नेपाली कांग्रेसले पु¥याएका हुन्।

संयोगले गत संसदीय निर्वाचनपछि कांग्रेस र एमालेको भूमिकाका कारण नेकपा (माओवादी केन्द्र) अध्यक्ष दाहालले यतिका महिना सरकार चलाउने अवसर पाइरहेका हुन्।

त्यसैले ठूलो दल बनाएर सरकार चलाउने भन्दा पनि सानै भए पनि ‘जादुयी नम्बर’ भएपछि पुग्ने देखिएको हो। जादुगरीपूर्ण संख्याको खुलासा गर्दै दाहालले आफ्नो सरकार पाँचै वर्ष टिक्ने उद्घोषण गरेको केही सातामै मुलुकको परिस्थिति फेरिएको छ। दुई ठूला दल नेपाली कांग्रेस र एमाले यतिबेला सरकार आफैँ बनाउन तम्सिएका छन्। यी दुई आपसमा नमिलेकै कारण दाहालको ‘जादुयी नम्बर’ ले किसिम किसिमको सरकार बनाइरहन सकेको हो। कहिले बूढानीलकण्ठ त कहिले बालकोट पुगेर उनले सरकार बनाइरहन सकेका हुन्।

संविधान संशोधन र सुधारलाई अजेन्डा बनाउँदै एमाले र कांग्रेस मिल्न तयार भएका छन्। २०७२ सालमा संविधान जारी गर्ने बेलामा पनि यी दल सँगै रहेका हुन्। त्यसपछि यी दुईको सहयात्रा हुन सकेन। मुलुकमा जहिले/ जहिले यी दुई दल एक ठाउँमा भए, तिनले परिवर्तनका निम्ति काम गर्न सकेका हुन्।

२०४६ सालको जनआन्दोलन प्रजातन्त्रवादी र वामपन्थी शक्ति एक ठाउँमा भएकै कारण सम्भव भएको हो। मुलुकमा प्रजातन्त्र आएपछि केही समय सँगै मिलेर जाने सोच बनाइएको भए पनि कांग्रेसले २०४८ को निर्वाचनमा सुविधाजनक बहुमत ल्याएपछि मिल्न सक्ने अवस्था भएन। जनआन्दोलन २०६२/ ६३ का बेला कांग्रेस, एमालेलगायतका सात दलसँगै सशस्त्र विद्रोहमा रहेको नेकपा (माओवादी) शक्ति पनि एक ठाउँमा आएपछि सफल हुन सकेको हो।

केही सीमित अवसरमा बाहेक अन्य अवस्थामा कांग्रेस र एमालेले आफूलाई प्रतिस्पर्धी मात्र बनाएनन्, कतिपय अवस्थामा शत्रुतापूर्ण व्यवहार पनि भएको हो। त्यसैको परिणामस्वरूप माओवादी केन्द्रले लाभ लिइरहेको हो।

माओवादी केन्द्र अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल कसैका पनि अन्तरविरोधमा पसेर सहजै फाइदा लिन सक्षम छन्। उनको यो कार्यशैलीप्रति दलहरू जानकार छन्। कतिपय अवस्थामा दाहाल बीचमा बसे भने दुईजना नेतालाई केही छिनमै झगडाको अवस्थामा पुर्‍याउन सक्छन्। त्यसको सहज लाभ भने उनी जहिल्यै लिन्छन्। माओवादीले ‘दीर्घकालीन जनयुद्ध’ गरेदेखि अहिले पटकपटक सरकारको नेतृत्व गर्ने बेलासम्म दाहालको यही चतुर्‍याइँबाट फाइदा उठाइरहेको छ। दाहाललाई अब यसरी नै फाइदा हुन नदिने उद्देश्य कांग्रेस र एमालेले राखेका हुन् भने बेग्लै हो। अन्यथा, दाहालको चतुर्‍याइँसँग अहिलेका कुनै नेताको क्षमता पुग्दैन।

कांग्रेस र एमालेले मुलुकका अजेन्डामा ध्यान दिएर काम गरेका भए अहिलेको अवस्था आउने थिएन। त्यसैकारण सर्वसाधारणले कहिले माओवादी त कहिले अन्य दललाई मौका दिएका हुन्।

गत निर्वाचनमा यी दुई पहिलो र दोस्रो स्थानमा रहे पनि तेस्रो र चौथो दल क्रमशः माओवादी केन्द्र र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सरकारको साँचो अहिलेसम्म हात पारेका हुन्। त्यो साँचो खोस्ने ठाउँमा बल्ल कांग्रेस र एमाले आइपुगेका छन्। अहिले यी दुई दलले मुलुकमा सुशासन दिए भने आगामी निर्वाचन परिणाम फरक हुन सक्छ। यिनले सुशासन दिन सक्दैनन् भन्ने आमविश्वास छ, त्यो परिवर्तन हुन सक्ने गरी यिनले काम गर्लान् भन्ने अझै लागिसकेको छैन।

एकपटक यसो विगततिर फर्केर हेरौँ त, कस्तो परिस्थिति मनमा आउँछ? २०४६ सालको परिवर्तन हुँदा हामीले यो देशको कस्तो अनुहार मनमा सजाएका थियौँ? अझ २०६२/ ०६३ को परिवर्तनपछि देशले अब कोल्टे फेर्छ भन्ने लागिसकेको थियो। यी वर्षहरूमा सधैँ निराशा मात्र हात लागेको छ। त्यसैले पछिल्ला दिनमा हुने राजनीतिक परिवर्तनप्रति आमनागरिकमा कुनै ठूलो उत्सुकता देखिँदैन। आमनागरिक निस्पृह रहनुको अनेकन कारण छन्, तिनको निराकरण नगरी वर्तमान स्थितिबाट पार पाउँन सकिँदैन।

राजनीतिक परिवर्तनका निम्ति क्रियाशील पुस्ताले इमानदारीपूर्वक काम गरेन भने इतिहासको योगदान पनि त्यत्तिकै हराएर जाने खतरा हुन्छ। अहिलेको पुस्ताका निम्ति हिजो पञ्चायतका बेला कति संघर्ष गर्नुपर्‍यो भन्ने कुराको के अर्थ हुन्छ र? माओवादीले ‘जनयुद्ध’ गरेर देशलाई अधिकारको क्षेत्रमा कति उच्च स्थान दिलायो भन्ने उपलब्धिको पनि केही अर्थ नहुने रहेछ।

आजको पुस्ता हिजोका योगदानप्रति धेरै उत्सुक देखिँदैन। उसका निम्ति आज संसारका सुविधा सम्पन्न देशमा भएका उपलब्धि यहाँ पनि प्राप्त हुनुपर्छ भन्ने अपेक्षा हुन्छ। अरूले गर्न सक्ने त्यही काम यहाँ किन हुन सक्दैन भन्ने प्रश्नको जवाफ उसले खोजिरहेको हुन्छ।

त्यसैले कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीले अहिले दाहालको हातबाट सरकार खोसेर आफैँ चलाउन खोज्नुपछाडिको उद्देश्य तिनका कामबाट पुष्टि हुन सक्नुपर्छ। त्यसका निम्ति तिनले आगामी दिनमा आफूलाई कसरी लगाउँछन् भन्ने पक्ष मुख्य हुन्छ। केबल तीन ठूला नेताको ‘म्युजिकल चेयर’ मात्रै बन्यो भने सरकार परिवर्तनले खासै उपलब्धि दिँदैन, केबल केही दिनको मनोरञ्जन मात्र हुन्छ। नेपालमा बस्ने कूटनीतिक व्यक्तिहरूका निम्ति नेपालको यही अनिश्चित राजनीतिचाहिँ सबैभन्दा मनोरञ्जक हुँदोरहेछ। तिनीहरू ‘जिग्स पजल’ जस्तो यहाँको राजनीतिको अर्थ लगाउन खोजिरहेका हुन्छन्।

३२ स्थान मात्र प्रतिनिधिसभामा रहेको माओवादी केन्द्रका अध्यक्ष दाहालले फेरि विश्वासको मत लिन खोज्नु भनेको यस्तै अनिश्चितता र जोड/ घटाउका निम्ति केही समय लिनु मात्र हो। वास्तवमा आफूलाई विगतमा विश्वास गर्ने दुई ठूला दलले अविश्वास गरिसकेपछि त्यहाँ बसिरहनुको के अर्थ हुन्छ र? उनले खुरुक्क पत्रकार सम्मेलन गरेर सरकार छाडेका भए केही हदसम्म आमनागरिकको विश्वास हासिल गर्न सक्थे। वास्तवमा सरकार बनाउने संख्या नभई यसमा लाग्नु भनेको समयको बर्बादी मात्र हो। कसैले समर्थन गर्छन् भने त्यसका लागि कोसिस गर्ने हो, समर्थन छैन भने विपक्षमा बसेर आफूलाई अर्को चुनावको तयारीमा लगाइरहने हो। कम्तीमा लामो समयदेखि लोकतन्त्रको अभ्यास गरिरहेका मुलुकका नेताका गतिविधि हेरेर पनि यसमा केही बाटो पाउन सकिन्छ।

धेरै सत्तालिप्साले दलको अवस्था कहाँ पुर्‍याउँछ भन्ने बुझ्न माओवादी केन्द्रको अवस्था हेरे पुग्छ। २०६२/ ६३को जनआन्दोलनको सफलता, शान्ति सम्झौता र माओवादीप्रतिको अपेक्षाले निर्वाचनका बेला सुविधाजनक बहुमत प्राप्त भएको हो। त्यसयताका प्रत्येक निर्वाचनमा माओवादीले आफूलाई कमजोर पारेको छ। त्यो सबै भएको कुर्सीको अधिक मोहले हो। त्यही भएर यसपटक पनि सत्ताबाट हट्ने बेलामा ‘कसैलाई माया गर्ने एउटा भुल गरेँ मैले’ भन्दै दाहालले गुनासो गरिरहँदा उनीसँगै हिजो ‘जनयुद्ध’ मा लागेका नेता बाबुराम भट्टराईले गरेको व्यंग्य कम्ता मार्मिक छैन- कुर्सीलाई माया गर्ने एउटा भुल गरेँ मैले! नागरिक

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया