श्रावण २९, २०८३ शुक्रबार August 14, 2026

गलकोटमा डेङ्गी र स्क्रब टाइफसका ५८ बिरामी बढे

नगरभित्र असारदेखि अहिलेसम्म ४१ जनामा डेङ्गी र १७ जनामा स्क्रब टाइफस फेला

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौं १९ श्रावण । बागलुङ जिल्लामा साउनयता २६ जनामा डेङ्गी पुष्टि भएको छ । डेङ्गी पुष्टि भएकामध्ये गलकोट नगरपालिकामा मात्रै २४ जना छन् ।

बागलुङको मध्यभागमा रहेको गलकोट अहिले डेङ्गी र स्क्रब टाइफसको उच्च जोखिममा रहेको स्वास्थ्य कार्यालयका जनस्वास्थ्य निरीक्षक देवप्रकाश घिमिरेले जानकारी दिनुभयो । साउनमा जिल्लाभर २६ जनामा डेङ्गी पुष्टि भएकामध्ये गलकोटमा मात्रै २४ जना बिरामी छन् । दुईजनाको धौलागिरि अस्पतालमा सङ्क्रमण पुष्टि भएको थियो ।

“गलकोट डेङ्गी मात्रै हैन स्क्रब टाइफसको समेत उच्च जोखिममा रहेको पाइएको छ”, जनस्वास्थ्य निरीक्षक घिमिरेले भन्नुभयो, “अहिले गलकोट नगर अस्पतालमा एक दर्जन डेङ्गी र स्क्रब टाइफसका बिरामी उपचाररत छन् भने दैनिक चारदेखि पाँच जनामा डेङ्गी र स्क्रब टाइफस पुष्टि भइरहेको छ ।”

गलकोटमा गत असारदेखि हालसम्म ४१ जनामा डेङ्गी पुष्टि भइसकेको नगर स्वास्थ्य शाखा प्रमुख सुशील पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार साउनमा मात्रै गलकोटभित्र १७ जना स्क्रब टाइफसका बिरामी फेला परेका छन् । अहिले अधिकांशले घरमा उपचार गराइराख्नुभएको भन्दै जटिल समस्या देखिएकाको नगर अस्पतालमा उपचार भइरहेको पौडेलले जानकारी दिनुभयो ।

“असारमा खोज र नष्ट गर अभियान सञ्चालन गरेका थियौँ । नगरभित्र असारदेखि अहिलेसम्म ४१ जनामा डेङ्गी र १७ जनामा स्क्रब टाइफस फेला परेको छ । सङ्क्रमण भएका बिरामीमध्ये केही घरमा स्वास्थ्यलाभ गर्दै हुनुहुन्छ भने केहीलाई अस्पतालमा राखेर उपचार गरिरहेका छौँ”, पौडेलले भन्नुभयो, “दुई वर्ष अघिसम्म डेङ्गी र स्क्रब टाइफसका बिरामी परीक्षण गर्ने व्यवस्था थिएन, अहिले ताराखोला र बडिगाडबाट पनि बिरामी नगर अस्पताल आउने गरेका छन् ।”

डेङ्गी र स्क्रब टाइफसको उच्च जोखिममा गलकोट नगरपालिका देखिएपछि सतर्कता अपनाउन थालिएको छ । ‘खोज र नष्ट गरौँ’अभियान गलकोटमा तीव्ररुपमा सञ्चालन थालिएको बताउँदै सचेतनामूलक कार्यक्रमलाई थप तीव्रता दिइने उहाँले उल्लेख गर्नुभयो ।

गलकोट नगर अस्पतालमा दैनिक २५ जनासम्म उच्च ज्वरोका बिरामी आउने गरेका नगर अस्पतालका प्रमुख डा राजेश पौडेलले जानकारी दिनुभयो । अस्पताल आएकामध्ये करिब ३० प्रतिशतमा डेङ्गी र स्क्रब टाइफस पुष्टि हुने गरेको छ ।

“दैनिक २० देखि २५ जना अस्पताल आउनुहुन्छ, परीक्षण गर्दा पाँचदेखि सात जनासम्ममा डेङ्गी र स्क्रब टाइफस पुष्टि हुने गरेको छ”, डा पौडेलले भन्नुभयो, “गलकोटमा उच्च सतर्कता अपनाउन आवश्यक छ । अहिले अस्पतालमा ज्वरो, वाकवाकी आउने, रिङ्गाटा लाग्ने बिरामीको सङ्ख्या वृद्धि भएको जनाउँदै सबैमा डेङ्गी सङ्क्रमण भने नदेखिएको उहाँले जानकारी दिनुभयो ।

लामखुट्टेको लार्भा नष्ट गर्न पानीको खाल्डा पुर्ने, पानी जम्ने र लामखुट्टे उत्पादन हुने क्षेत्रमा सरसफाइ गर्ने, सुत्दा नियमित झुलको प्रयोग गर्ने, घर बाहिर, खेतबारीमा काम गर्दा पूरै शरीर छोपिने किसिमका लुगा लगाउनेलगायत कुरामा विशेष ध्यान अपनाउनुपर्ने स्वास्थ्य कार्यालय बागलुङले जनाएको छ ।

“डेङ्गी लामखुट्टेका माध्यमबाट मानिसमा सर्छ । स्क्रब टाइफस ‘ओरेन्सिया सुसुगमुसी’ नामक परजीवीको सङ्क्रमणले लाग्ने गर्दछ । यो परजीवीलाई एक प्रकारको ‘माइट’ जातिको सूक्ष्म कीराले सार्ने गर्दछ । रोगको कीटाणु बोक्ने ‘माइट’ स–साना बोटबिरुवाको झाडीमा बस्छ”, नगर अस्पतालका प्रमुख डा पौडेलले भन्नुभयो, “केही वर्षअगाडिसम्म स्क्रब टाइफस धेरैजसो पहाडी र दुर्गम स्थानमा देखिँदै आएकामा पछिल्लो समय सहरी क्षेत्रमा पनि देखिँदै आएको छ ।”

यसको समयमै उपचार नगरेमा वा जीर्ण बन्दै गएको खण्डमा कलेजो, मिर्गौला, फोक्सो, मुटुलगायत अन्य अङ्गमा सङ्क्रमण फैलिई बिरामीको मृत्युसमेत हुने डा पौडेलले बताउनुभयो । यो रोगबाट बच्ने प्रभावकारी माध्यम भनेको सरसफाइमा विशेष ध्यान दिने र सावधानी अपनाउने रहेको उहाँले उल्लेख गर्नुभयो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
जेनजी आन्दोलनको राजनीतिक सहमति सबैले स्वीकार्नु पर्छः मन्त्री गौतम
२०८३ श्रावण २९, शुक्रबार
मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ६ पदमा जागिर खुल्यो, भदौ १२ सम्म आवेदन
२०८३ श्रावण २९, शुक्रबार
सरकारी कर्मचारीलाई वैदेशिक भ्रमणमा पूर्वस्वीकृति अनिवार्य
२०८३ श्रावण २९, शुक्रबार
दीर्घकालीन सहकार्यबारे युएनएफपिएसँग स्वास्थ्यमन्त्रीको छलफल
२०८३ श्रावण २९, शुक्रबार
काठमाडौं विश्वविद्यालयका उपकुलपतिमा विवेक बराल नियुक्त
२०८३ श्रावण २९, शुक्रबार
‘विगत बिर्सेर कांग्रेस एकताका लागि पहल गरौँ’ : डा. प्रकाशशरण महत
२०८३ श्रावण २९, शुक्रबार
मुग्लिन–मलेखु सडक तीन वर्षः आधाभन्दा थोरै काम
२०८३ श्रावण २९, शुक्रबार