भाद्र ३१, २०८१ सोमबार September 16, 2024

सुशासन र स्वनियमनबाट सहकारीलाई प्रभावकारी बनाउनुपर्छ : मुख्यमन्त्री सिंह

समस्याग्रस्त सहकारीको अवस्था पहिचान र समस्या समाधानका उपाय खोज्नुपर्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री शतिशकुमार सिंहले विभिन्न सूचकहरूको निरीक्षण तथा विश्लेषण गरी समस्याग्रस्त सहकारीको अवस्था पहिचान र समस्या समाधानका उपाय खोज्नुपर्ने बताउनुभएको छ ।

राष्ट्रिय सहकारी बैङ्क लिमिटेडको २२औँ स्थापना दिवसका अवसरमा आज बर्दिबासमा आयोजित ‘सहकारीको वर्तमान अवस्था र भावी कार्यदिशा’ विषयक प्रदेश स्तरीय गोष्ठी एवं सदस्य सम्मान कार्यक्रममा उहाँले सहकारी क्षेत्रलाई मर्यादित, व्यावसायिक, समावेशी एवम् सहभागितामूलक बनाएर अगाडि बढाउनुपर्ने बताउनुभयो ।

मुख्यमन्त्री सिंहले आवश्यक नियमन र दायित्वबोधका साथ सुशासन कायम गर्न ध्यान दिन सकिए आर्थिक समानता र सामाजिक न्यायको राष्ट्रिय लक्ष्य हासिल गर्न सहकारी क्षेत्रले महत्वपूर्ण योगदान गर्नसक्ने विश्वास व्यक्त गर्नुभयो ।

पछिल्ला दिनमा केही सङ्कटग्रस्त सहकारीका कारण समग्र सहकारी क्षेत्र बदनाम भएको भन्नुहुँदै उहाँले सुशासन र स्वनियमनमार्फत सहकारी मूल्य, मान्यता र आदर्श प्रवर्द्धन गरी विश्वसनीयता र प्रभावकारिता वृद्धि गर्न लाग्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले सञ्चालक समिति र सदस्यहरूबिच तालमेल नहुँदा किसान लगायत सर्वसाधारणको निक्षेपदेखि अन्य विषयमा समस्या देखिएको भए पनि ती कुरालाई समाधान गर्न सम्बद्ध निकायहरूलाई प्रतिबद्ध भएर लाग्न निर्देशन दिनुभयो ।

कार्यक्रममा सहकारी सदस्यहरूलाई सम्मान गरिएको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया