श्रावण २, २०८२ शुक्रबार July 18, 2025

वीरगञ्जको आयुर्वेद चिकित्सालयमा तीन गुणाले बढे बिरामी

आयुर्वेदतर्फ उपचार गराउनेको सङ्ख्यामा उल्लेखनीय मात्रामा बढोत्तरी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

वीरगञ्ज (पर्सा), २१ साउन : प्रादेशिक आयुर्वेद तथा वैकल्पिक चिकित्सालय वीरगञ्जमा गत आर्थिक वर्षमा उपचार गर्ने बिरामीको सङ्ख्या अघिल्लो वर्षभन्दा तीन गुणाले वृद्धि भएको छ ।

कार्यालयले आर्युर्वेेद र वैकल्पिक चिकित्सासम्बन्धी विभिन्न रोगको सेवा थप गरेसँगै यहाँ बिरामीको सङ्ख्या बढेको हो । आव २०८०/८१ मा ५५ हजार एक सय ७६ जना बिरामीले उपचार गराएका छन् । जबकी आव २०७९/८० मा १७ हजार छ सय २९ जना बिरामीले उपचार गराएका थिए ।

चिकित्सालय प्रमुख डा शिवनारायणप्रसाद गुप्ताले कार्यालयले नयाँ सेवा थप गरेसँगै अघिल्लो वर्षको तुलनामा तीन गुणा धेरैले उपचार पाएको जानकारी दिनुभयो । ‘‘हामीले प्रदेश कार्यालयले तोकेका भन्दा धेरै खालका उपचार सेवा बिरामीलाई उपलब्ध गराउँदै आइरहेका छौँ, जसकारण आयुर्वेदतर्फ उपचार गराउनेको सङ्ख्यामा उल्लेखनीय मात्रामा बढोत्तरी भइरहेको छ । हामीले गुणस्तरीय उपचार सेवा दिएर नै बिरामीको सङ्ख्या बढेको हो’’, उहाँले भन्नुभयो ।

कार्यालय प्रमुख डा गुप्ताकानुसार अघिल्ला वर्षमा दैनिक १०–१५ जना बिरामी आउने गरेकामा हाल दैनिक ६० देखि ८० जनासम्म आउने गरेका छन् । यहाँ विशेष गरी जोर्नीसँग सम्बन्धित रोगका धेरै बिरामी उपचारका लागि आउने गर्छन् । ‘‘हाडजोर्नीको दीर्घकालीन समस्या भएका बिरामीका लागि आयुर्वेदसँग सम्बन्धित ‘मर्म थेरापी’ निकै प्रभावकारी देखिएको छ’’, प्रमुख डा गुप्ताले भन्नुभयो ।

चिकित्सालयले बहिरङ्ग सेवा, ज्येष्ठ नागरिकको लागि स्वास्थ्य प्रवर्द्धन सेवा, स्तनपायी आमा दूधवर्धक औषधि वितरण, योग, पञ्चकर्मअन्तर्गत पूर्वकर्म कार्यक्रम, ल्याब सेवा, क्षारसुत्र, क्षारकर्म, अग्निकर्म, जलौकावचरण (लिच थेरापी) र मर्म थेरापीलगायत सेवा दिइरहेको छ ।

कार्यालयकानुसार आव २०८०/८१ मा बहिरङ्ग सेवा लिने बिरामीको सङ्ख्या ४० हजार ७१ रहेको छ । ज्येष्ठ नागरिक सेवा लिनेको सङ्ख्या तीन हजार दुई सय ८८, स्तनपायी आमा सेवा लिने दुई सय ७४, पूर्वकर्म सेवा लिने चार हजार चार सय ६६, अग्निकर्म सेवा लिनेको सङ्ख्या पाँच सय ४३ जना रहेका छन् । जलौकावचरण (लिच थेरापी) सेवा लिनेका सङ्ख्या दुई सय २२ रहेको छ । यस्तै योग सेवा लिनेको सङ्ख्या चार हजार चार सय ७३, शिराभेद र अन्य सेवा लिनेको सङ्ख्या दुई हजार २६ र क्षारसूत्र सेवा लिने बिरामीको सङ्ख्या १३ रहेको छ ।

आव २०७९/८० मा भने बहिरङ्ग सेवा लिने बिरामीको सङ्ख्या १२ हजार नौ सय ९२ रहेको थियो । त्यस्तै स्तनपायी सेवा लिने बिरामीको सङ्ख्या दुई सय ६०, ज्येष्ठ नागरिक सेवाका बिरामीको सङ्ख्या एक हजार ३८, पूर्वकर्म÷पञ्चकर्म सेवा लिनेको सङ्ख्या दुई हजार छ सय ७७ र स्वास्थ्य शिविरमा उपचार सेवा लिने बिरामीको सङ्ख्या छ सय ६२ रहेको थियो ।

बिरामीको दर्ता अनलाइनमार्फत गरिरहेको चिकित्सालयमा पायल्स र फिस्टुलासम्बन्धी शल्यक्रिया पनि गर्दै आइरहेको जनाइएको छ । सोका लागि शय्या सेवा निशुल्क र शल्यक्रिया शुल्क सात हजार लाग्ने गरेको छ ।

हाल यहाँ स्वीकृत दरबन्दीमा सात कर्मचारीसहित १५ जना रहेका छन् । जसमा एक जना स्थायी चिकित्सक, दुई छात्रवृत्तिमा अध्ययनरत चिकित्सक र एक जना होमियोथेरापीको उपचार गराउने करार चिकित्सक रहेका छन् । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया