मंग्सिर ६, २०८३ आइतबार November 22, 2026

‘नागरिकलाई सहज स्वास्थ्य सेवा दिनु सरकारको पहिलो प्राथमिकता’

अस्पताललाई थप गुणस्तरीय र आधुनिक बनाउन योजनाबद्ध रुपमा काम गर्दै जाने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौः स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले नागरिकलाई सहज रुपमा स्वास्थ्य सेवा प्रवाह गर्नु सरकारको पहिलो प्राथमिकता भएको बताउनुभएको छ । नेपालगञ्जस्थित भेरी अस्पतालको नवनिर्मित इन्डोर भवन र एमआरआइ सेवाको आज उद्घाटन गर्दै उहाँले अहिलेको पहिलो विषय र ध्यानदृष्टि नागरिकलाई सहज रुपमा सेवा सुविधा दिने रहेको बताउनुभयो ।

अस्पतालमा अहिले भएका स्रोत र साधनको अधिकतम प्रयोग गरेर सेवालाई प्रभावकारी बनाउन आग्रह गर्दै मन्त्री पौडेलले भन्नुभयो, “पहिलो विषय नागरिकलाई स्वास्थ्य सेवा प्रवाह गर्ने हो । अस्पताललाई थप गुणस्तरीय र आधुनिक बनाउन योजनाबद्ध रुपमा काम गर्दै जानेछौँ । यसमा सबैले सहयोग गर्नुहुन्छ भन्ने अपेक्षा लिएको छु ।”

अहिले रोग लागिरहेका नागरिकलाई कसरी स्वास्थ्य सेवा दिनेतर्फ बढी ध्यान दिनुपर्ने भन्दै निरोगी नेपाल बनाउन उपचार पद्धतिका साथै स्वस्थ जीवनशैलीका लागि आवश्यक सावधानी अपनाउन र चेतनाको विकास गर्नतर्फ पनि आफूले योजना बनाइरहेको मन्त्री पौडेलले उल्लेख गर्नुभयो ।

“सरकारी अस्पतालले सेवा गर्न नसकेको होइन, आफ्नो सेवालाई प्रभावकारी बनाउन नसकेको मात्रै हो । त्यसका लागि व्यवस्थित तरिकाले काम गर्न जरुरी छ”, मन्त्री पौडेलले भन्नुभयो, “गरिरहेको काममा अलि बढी योगदान गर्नुपर्ने अवस्था छ । अतिरिक्त समयमा काम गरेर भए पनि नागरिकलाई सेवा दिऔँ, त्यसबापतको गर्नुपर्ने सहयोग मन्त्रालयले गर्नेछ ।” भेरी अस्पतालले आफूले सोचेभन्दा व्यवस्थित रुपमा सेवा प्रवाह गरेको पाए पनि अझै सुधार गर्नुपर्ने आवश्यकता रहेको उहाँले जोड दिनुभयो ।

अनलाइनबाट बिरामी दर्ता गर्ने प्रणाली सञ्चालन गरेकामा प्रशंसा गर्दै स्वास्थ्यमन्त्री पौडेलले प्रयोगशालाको रिपोर्ट पनि अनलाइन सेवाबाटै नागरिकले पाउनेगरी व्यवस्था गर्न आग्रह गर्नुभयो । भेरी अस्पतालमा न्यूनतम दरबन्दी उपलब्ध गराई चिकित्सक र स्वास्थ्यकर्मी बढाइने आश्वासन दिँदै उहाँले भन्नुभयो, “अहिले भएको स्रोतसाधनलाई अधिकतम प्रयोग गरी सेवा दिनुहोस्, एमआरआइ र सिटीस्क्यानको सेवा नागरिकले पाउनुपर्छ, यो सेवा बाहिर गरेर उपचार गर्न भेरीमा आउनुस् भन्न मिल्दैन ।”

सो अवसरमा भेरी अस्पतालका प्रमुख मेडिकल सुपेरिटेन्डेन्ट डा प्रकाश थापाले भेरी अस्पतालको अहिलेको अवस्था, समस्या र आगामी योजनाका बारेमा जानकारी गराउनुभएको थियो । स्वास्थ्य सचिव डा रोशन पोखरेलले सरकारी अस्पतालमा जनताको विश्वास बढ्दै गएको बताउँदै भेरी अस्पतालका आवश्यकता र समस्या समाधान गर्न मन्त्रालय सकारात्मक रहेको बताउनुभयो ।

अस्पताल विकास समिति अध्यक्ष वीरेन्द्र शाहको अध्यक्षतामा भएको कार्यक्रममा सङ्घीय सांसद दीपा शर्माले भेरी अस्पताल पश्चिम नेपालको लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशकै प्रेषण केन्द्रका रुपमा रहेकाले यसको स्रोतसाधन, दक्ष जनशक्ति र भौतिक पूर्वाधारमा मन्त्रालयले आवश्यक ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
तल्लो अरुण जलविद्युत् आयोजना : सोमबार शिलान्याश हुँदै
२०८३ मंग्सिर ६, आइतबार
दूधको मूल्य प्रतिलिटर ८० रुपैयाँ कायम गर्न धनकुटाका किसानको माग
२०८३ मंग्सिर ६, आइतबार
अमेरिकी सेयर बजारमा १० प्रतिशत गिरावट, लगानीकर्तामा अनिश्चितता
२०८३ मंग्सिर ६, आइतबार
साहित्यकारले विकृतिमाथि प्रश्न उठाउँदै सकारात्मक प्रयासलाई प्रोत्साहन गर्नुपर्छ : सभामुख अर्याल
२०८३ मंग्सिर ६, आइतबार
पर्सामा आर्थिक अपराधका घटना सबैभन्दा बढी, एक महिनामा ४९ मुद्दा दर्ता
२०८३ मंग्सिर ६, आइतबार
सन्दीपको घातक बलिङ र कुशलको अर्धशतक, यूएईमाथि नेपालको ६ विकेटको शानदार जित
२०८३ मंग्सिर ६, आइतबार
झापा महिला गोल्डकप : १० गोल गर्दै आर्मीले काट्यो सेमिफाइनलको टिकट
२०८३ मंग्सिर ६, आइतबार