काठमाण्डाैंः प्रिमियर लिग फुटबलमा चेल्सीले हार ब्यहोरेको छ । गएराति चेल्सी वेस्ट ह्यामसंग ३-२ गोल अन्तरले पराजित भएको हो । ब्राजिली स्टार विलियनमले दुई गोल गरेपनि लण्डन क्लबको अग्रता कायम हुन सकेन । उनैले खेलको ४२औं मिनेटमा पेनाल्टीमा चेल्सीलाई अग्रता दिलाएका थिए ।
खेल सकिन एक मिनेट अघि एन्ड्री यरमालेन्कोले वेस्ट ह्यामका लागि विजयी गोल गरे । बैकल्पिक खेलाडीको रुपमा मैदान छिरेका उनले काउन्टरमा गोल गर्दै चेल्सीलाई निराश बनाएका थिए ।
चेल्सीबिरुद्ध जित निकाल्दै वेस्ट ह्यामले रेलिगेशनको दवाबबाट बाहिर निस्किएको छ । जस अनुसार चेल्सीको च्याम्पियन्स लिग छनोटको दौड थप प्रतिस्पर्धात्मक बनेको छ ।
चौथो स्थानमा ५४ अंक जोडेर बसेको चेल्सीलाई म्यान्चेष्टर युनाईटेड र उल्भ्सले ५२ अंक सहित पछ्याईरहेका छन् । वेस्टह्याम भने ३० अंक सहित तालिकाको १६औं स्थानमा छ ।
त्यस्तै, शीर्ष चारको क्लब लेस्टर सिटीले एभर्टनसंग हार ब्यहोरेको छ । एभर्टनको घरेलु मैदानमा लेस्टर २–१ गोल अन्तरले पराजित भयो । घरेलु टोलीका रिचर्डसन र जी सिगर्डसनले लगातार गोल गर्दै एभर्टनलाई दुई शुन्यको अग्रता दिलाएका थिए ।
लेस्टरका इहनाचोले खेलको ५१औं मिनेटमा एक गोल फर्काएपनि टोलीलाई जिताउन सकेनन् । लेस्टर ५५ अंक सहित तालिकाको तेस्रो र एभर्टन ४४ अंक सहित ११औं स्थानमा छ ।
त्यस्तै, अर्को खेलमा वर्नेमाउथ घरेलु मैदानमा न्युक्यासल युनाईटेडसंग ४–१ ले पराजित भएको छ । न्युक्यासलका लागि ड्वाई गेल, सीन लान्गस्टाफ, मिगुएल अल्मिरान र भालेन्टिनो लजारोले गोल गरेका थिए । वर्नेमाउथका लागि दान गोसलिङ्गले एक गोल फर्काए ।
यो नतिजासंगै वर्नेमाउथमाथि रेलिगेशनको सम्भावना थप चुनौतीपूर्ण बनेको छ । न्युक्यासलले आफुलाई रेलिगेशन जोनबाट बाहिर राख्ने कोशिश गरेको छ । न्युक्यासल ४२ अंक सहित तालिकाको १३औं स्थानमा छ । वर्नेमाउथ २७ अंक सहित तालिकाको पुछारदेखि दोस्रोमा छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया