काठमाडौंः राष्ट्रिय खेलकुद परिषद् (राखेप) को सदस्य-सचिवमा पनि नयाँ नियुक्त हुने भएको छ । नयाँ खेलकुद विकास ऐन बिहीबारबाट लागु भएसँगै सदस्य-सचिव रमेशकुमार सिलवालसँगै राखेपका सबै पदाधिकारी कार्यालय आउन छाडेका थिए ।
नयाँ ऐनअनुसार राखेपमा सदस्य-सचिवलगायत पदाधिकारी नियुक्ति गरिने युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्माले जानकारी दिए । उनका अनुसार यसका लागि अब नयाँ प्रक्रिया थालिनेछ । खेलकुदका अन्य काम कारबाही २०४८ को ऐन अनुसारै हुने भए पनि पदाधिकारीको नियुक्तिका हकमा भने नयाँ ऐन लागु हुने उल्लेख छ ।
नयाँ ऐनअनुसार सदस्य-सचिव नियुक्तिको प्रक्रिया अघि बढ्ने र नियुक्तिका लागि मन्त्रालयले तीन सदस्यीय सिफारिस समिति गठन गर्ने उल्लेख छ । समितिबाट प्रस्तावित नामलाई मन्त्रालयले नियुक्तिका लागि मन्त्रिपरिषदमा पेस गर्नेछन् । जसबाट उपयुक्त लागेको व्यक्ति चार वर्षका लागि राखेपको सदस्य-सचिवमा नियुक्त गरिनेछ ।
नयाँ ऐनमा सदस्य-सचिवका लागि योग्यतासमेत तोकिएको छ । सदस्य-सचिव हुन मान्यता प्राप्त विश्वविद्यालयबाट स्नातक तह उत्तीर्ण गरेको नेपाली नागरिक, खेलकुद क्षेत्रमा कम्तीमा ५ वर्ष काम गरेको, प्रचलित कानुनले अयोग्य नभएको र ३० वर्ष उमेर नाघेको हुनेपर्ने योग्यता तोकिएको छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया