भाद्र ३१, २०८१ सोमबार September 16, 2024

सङ्घीयताबिना जनताको अधिकार सुनिश्चित हुँदैन : प्रदेश प्रमुख जोशी

भाषा, संस्कृति र सभ्यताको उद्गमस्थल कर्णालीको विकासमा प्रदेश सरकारले नेतृत्वदायी भूमिका खेल्नुपर्छ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

कर्णाली, ४ भदौ: कर्णाली प्रदेशका प्रमुख यज्ञराज जोशीले सङ्घीयताबिना जनताका अधिकार सुनिश्चित नहुने बताउनुभएको छ ।

कर्णाली प्रदेश स्थापना तथा सहिद दिवसका अवसरमा आज सुर्खेतमा आयोजित समारोहमा उहाँले जनताको बलिदानबाट संविधान र सङ्घीयता प्राप्त भएको बताउनुभयो ।

प्रदेश प्रमुख जोशीले भन्नुभयो, “कर्णाली अधिक साधन स्रोतले भरिपूर्ण प्रदेश हो । यसको भरपूर उपयोग हुन जरुरी छ ।

भाषा, संस्कृति र सभ्यताको उद्गमस्थल कर्णालीको विकासमा प्रदेश सरकारले नेतृत्वदायी भूमिका खेल्नुपर्छ ।” कृषि, प्राकृतिक,सांस्कृतिक र साहसिक पर्यटनका माध्यमबाट कर्णालीलाई समृद्ध तुल्याउन सकिने बताउनुभयो ।

मुख्यमन्त्री यामलाल कँडेलले जुम्लाका हरिबहादुर कुँवर, सुर्खेतका यामबहादुर बिसी, टीकाराम गौतम र गोपालसिंह रजवारको बलिदानीपूर्ण योगदानको स्मरण गर्दै उहाँहरूका परिवारका एक–एकजना सदस्यलाई रोजागरीको व्यवस्था गर्ने निर्णय भएको जानकारी दिनुभयो ।

सीमाङ्कनको विषयलाई लिएर  २०७२ साउन २३ गतेदेखि भदौ ४ गतेसम्म भएको कर्णाली आन्दोलनमा जुम्लाका कुँवर, बिसी, गौतम र रजवारको निधन भएको थियो ।

सहिद तथा प्रदेश स्थापना दिवसका अवसरमा मुख्यमन्त्री कँडेलसहित मन्त्रीहरुले प्रादेशिक सहिद पार्कमा सहिदहरुप्रति श्रद्धाञ्जलि अर्पण गर्नुभएको थियो ।

कर्णालीलाई कार्य क्षेत्र बनाएर पत्रकारिता गर्दै आएका जाजरकोटका पत्रकारद्वय राजेन्द्र कार्की र यज्ञबहादुर खत्री र कालीकोटका तुलराम पाण्डेलाई जनही रु ५० हजार प्रदान गरिएको छ ।

कर्णाली प्रदेश अस्पतालका निर्देशक प्रा डा डम्बर खड्कालाई सर्वोत्कृष्ट र अन्य दश कर्मचारीलाई उत्कृष्ट पुरस्कारबाट सम्मान गरिएको छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया