असोज २, २०८१ बुधबार September 18, 2024

परराष्ट्रमन्त्री डा राणा र विदेश विभाग प्रमुख डा चौथाइवालेबीच भेटवार्ता

नेपाल–भारत सम्बन्धका विविध आयाम, कांग्रेस र भाजपाबीचको सम्बन्धलगायत विषयमा छलफल

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं। भारतको औपचारिक भ्रमणका क्रममा नयाँदिल्लीमा रहेकी परराष्ट्रमन्त्री एवं नेपाली कांग्रेसकी नेत्री डा आरजु राणा देउवा र भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख डा विजय चौथाइवालेबीच आज भेटवार्ता भएको छ।

भेटमा उनीहरुबीच नेपाल–भारत सम्बन्धका विविध आयाम, कांग्रेस र भाजपाबीचको सम्बन्धलगायत विषयमा छलफल भएको मन्त्रीको सचिवालयले जनाएको छ।

सो अवसरमा मन्त्री डा राणाले भारत भ्रमणका क्रममा आतिथ्यताका लागि भारत सरकार र भारतीय जनतालाई उनीमार्फत धन्यवाद व्यक्त गरेको सामाजिक सञ्जालमा उल्लेख गरेकी छन्।

भ्रमणका क्रममा मन्त्री डा राणाले यही भदौ ३ गते भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग शिष्टाचार भेटवार्ता गरेकी थिइन्। त्यस्तै सोही दिन आफ्ना भारतीय समकक्षी विदेशमन्त्री एस जयशंकरसँगसमेत भेटवार्ता गरेकी थिइन्।

भारतीय विदेशमन्त्री जयशंकरको निमन्त्रणामा मन्त्री डा राणा भारतको औपचारिक भ्रमणका लागि आइतबार नयाँदिल्ली पुगेकी थिइन्। यो उनी परराष्ट्रमन्त्री नियुक्त भएपछिको पहिलो विदेश भ्रमण हो। मन्त्री डा राणा भोलि स्वदेश फर्कने छिन्।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया