असार २४, २०८२ मंगलबार July 8, 2025

नेकपा स्थायी समिति बैठक सोमबार सम्मका लागी स्थगित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी समिति बैठक असार २२ गतेसम्मका लागी स्थगित भएको छ । शनिबार बिहान ११ बजेका लागि बोलाइएको बैठक शिर्ष नेतृत्वमा सहमति जुट्न नसकेका कारण सोमबारसम्मका लागि स्थगित भएको हो ।

प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले गम्भीर छलफल गर्नुपर्ने भन्दैअर्का अध्यक्ष दाहालसँग दुई दिन थप समय मागेपछि नेताहरु बैठक स्थगित गर्न राजी भएका हुन् ।

पार्टीभित्र देखिएको विवाद समाधानका लागि अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहालबीच पटक पटक छलफल भएपनि सहमति भने हुन नसकेका कारण बैठक सारिदै आएको छ ।

सहमतिका लागि भन्दै बिहीबार बसेको बैठकले एक दिन रोकेर शनिबारका लागि बैठक बस्ने तय गरेको थियो । पछिल्लो समय नेकपाभित्र स्थायी समितिका बहुमत सदस्यहरुले प्रधानमन्त्री ओलीको राजीनामाको माग गरेका छन् भने प्रधानमन्त्री ओली प्रधानमन्त्री र अध्यक्ष दुवै पद कुनै हालतमा पनि नछोड्ने अडानमा रहेका छन् ।

दुईदिनदेखी अध्यक्षद्वयबिच भईरहेको छलफलमा अध्यक्ष प्रचण्डले दुईमध्ये एक पद छोड्न ओलीलाई दवाव दिएका छन् । ओलीले भने प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पद नछाड्ने तर २०७६ मंसिर ४ को सहमतिअनुसार अघि बढ्न सकिने स्पष्ट पारेका छन् ।

मंसिर ४ को सहमतिमा ओलीले पाँच वर्ष सरकार चलाउने र प्रचण्डले कार्यकारी हैसियतमा पार्टी चलाउने भन्ने उल्लेख छ ।  तर मंसिर ४ को यो सहमति ओलीकै कारण कार्यान्वयन नभएको भन्दै प्रचण्डले २०७५ जेठ २ को सहमतिअनुसार अघि बढ्नुपर्ने अडान लिएका छन् । उक्त सहमतिमा आलोपालो सरकारको नेतृत्व गर्ने भन्ने उल्लेख छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया