घोडाघोडी (कैलाली), ८ भदौ : सुदूरपश्चिम प्रदेश प्रमुख नजिर मियाँले सुदूरपश्चिम भाषा र संस्कृतिको खानी भएको बताउनुभएको छ ।
राष्ट्रिय लोक संस्कृति प्रतिष्ठान नेपाल केन्द्रीय समिति सुदूरपश्चिम प्रदेश अत्तरिया कैलालीले आज आयोजना गरेको गौरा तिज विशेष कार्यक्रममा उहाँले अहिले राष्ट्रियस्तरमा पनि सुदूरपश्चिम प्रदेशका भाषा संस्कृति झल्काउने गीतसङ्गीतले राम्रो चर्चा पाइरहेको बताउनुभयो ।
प्रमुख मियाँले भन्नुभयो, “सुदूरपश्चिम भाषा र संस्कृतिको एउटा खानी हो यो अन्य क्षेत्रभन्दा धेरै महत्त्वपूर्ण रहेको छ । यहाँ धेरै सांस्कृतिक पहिचान रहेको छ, अहिले सुदूरपश्चिमले राष्ट्रियस्तरमा आफ्नो पहिचान कायम गरेको छ ।” उहाँले यहाँको संस्कृति संरक्षणका लागि सरकार प्रतिबद्ध रहेको बताउनुभयो ।
गौरा, तिज विशेष कार्यक्रममा प्रदेश प्रमुख मियाँलाई नागरिक अभिनन्दन गरिएको थियो । अध्यक्ष लीलाधर बाँस्कोटा, सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला राज्यमन्त्री प्रकाश बम, प्रदेशसभा सदस्य तुलसी देवकोटा, सहायक प्रमुख जिल्ला अधिकारी किरण जोशीलगायतले प्रदेश प्रमुख मियाँलाई दोसल्ला ओढाएर र कदरपत्र प्रदान गरेर सम्मान गर्नुभएको थियो ।
सुदूरपश्चिम प्रदेशका पाँचजना महिलालाई समेत कार्यक्रममा सम्मान गरिएको थियो । कार्यक्रममा तिज गीत प्रतियोगिता आयोजना गरिएको थियो ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया