काठमाडौँ, १२ भदौ : भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले संसद्मा हुने प्रश्नोत्तर प्रक्रियालाई थप प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुभएको छ ।
सङ्घीय संसद् सचिवालयले आज यहाँ आयोजना गरेको ‘राष्ट्रियसभामा प्रश्नोत्तरको प्रभावकारी व्यवस्थापनसम्बन्धी अन्तरसंवाद’ कार्यक्रममा उहाँले सांसदका प्रश्नले मन्त्री तथा सरकारको कामलाई थप प्रभावकारी र उत्तरदायी बनाउने भएकाले थप प्रभापकारी बनाउन आवश्यक रहेको बताउनुभयो । संसद् जनताका प्रतिनिधिको थलो भएकाले जनताका जिज्ञासा, प्रश्न तथा धारणा सांसदबाटै सदनमा प्रतिविम्बित हुने भएकाले यो प्रक्रियालाई महत्वका साथ व्यवस्थापन गर्नुपर्ने उहाँको भनाइ थियो ।
संसदीय अभ्यासबाटै नागरिकका आवाज, आकाङ्क्षा र विचारको सम्बोधन हुने भएकाले प्रश्न गर्दा जनभावना समेटिने गरी आवाज उठाउनुपर्ने मन्त्री दाहालको धारणा थियो । “मैले हिजो एउटा सांसद र राष्ट्रियसभामा संसदीय दलको नेता हुँदा यस कुरालाई महत्व दिँदै आएको हुँ”, उहाँले भन्नुभयो, “प्रश्न केवल प्रश्नका लागि मात्रै नभएर समस्या समाधान गर्ने र जनभावना प्रतिविम्बित हुने गरी उठाउनेतर्फ ध्यान दिन आवश्यक छ ।”
राष्ट्रियसभाबाटै मन्त्रीको रूपमा चयन भएको उल्लेख गर्नुहुँदै उहाँले आफू कहिल्यै पनि प्रश्नबाट नभाग्ने र सांसदलाई प्रश्न गर्नका लागि प्रोत्साहित गर्नुपर्छ भन्ने मान्यतामा रहेको पनि प्रष्ट पार्नुभयो ।
कार्यक्रम राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहाल, उपाध्यक्ष विमला घिमिरे, पूर्वउपप्रधानमन्त्री वामदेव गौतमसहित राष्ट्रियसभा सदस्यको सहभागिता रहेको थियो । पूर्वसचिव ध्रुवप्रसाद घिमिरे, पूर्वसांसद रामनारायण बिडारीलगायतले संसद्मा हुने प्रश्नोत्तर प्रक्रियाका अन्तर्राष्ट्रिय अभ्यास, मान्यतालगायतका विषयमा सहजीकरण गर्नुभएको थियो । रासस
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया