असार २३, २०८२ सोमबार July 7, 2025

आगामी १४औं महाधिवेशन फाल्गुन ७-१० सम्म काठमाडौंमा गर्ने काँग्रेसको निर्णय

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमण्डाैंः नेपाली काँग्रेसले पूर्वघोषित पार्टीको आगामी कार्यतालिका संशोधन गर्ने निर्णय गरेको छ ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा सोमबार बसेको केन्द्रीय समिति बैठकले आगामी फाल्गुन ७ देखि १० गतेसम्म पार्टीको १४औं महाधिवेशन काठमाडौं गर्ने निर्णयसहित महाधिवेशनको अन्तिम मिति कायमै राखेर अन्य सबै तालिका संशोधन गर्ने निर्णय गरेको हो ।

गत असार १४ गतेको पदाधिकारी बैठकले तयार गरेको संशोधित कार्यतालिकालाई केन्द्रीय समिति बैठकले अनुमोदन गरेको छ । माघ १४ गतेको केन्द्रीय समितिले तय गरेको पूर्वर्निधारित कार्यतालिकामा कत्तिमा दुई महिना संशोधन गरिएको छ ।तर, संशोधित कार्यतालिका अनुसार कार्यसम्पादन हुनेमा कांग्रेस नेताहरूले नै आशंका व्यक्त गरेका छन् ।

असार १४ गते बसेको पदाधिकारी बैठकले तयार गरेको कार्यतालिकालाई केन्द्रीय समितिले अनुमोदन गरेको केन्द्रीय सदस्य प्रदिप पौडेलले जानकारी दिए । पदाधिकारी बैठकले तयार गरेको प्रस्तावमा संगठन समायोजनको काम सक्ने समय अवधि भने साउन १० गतेसम्मका लागि थप गरिएको छ ।

एकातिर कोरोना भाइरसको जोखिम बढ्दै गएको छभने अर्कोतिर फागुनमै सक्नुपर्ने संगठन समायोजनको काम अझै सकिएको छैन । संशोधित कार्यतालिका अनुसार साउन १० गतेभित्र संगठन समायोजनको काम सक्ने भनिएको छ । तर, आन्तरिक विवादका कारण अझै २६ जिल्लाको संगठन समायोजनको काम बाँकी छभने ५१ जिल्लाको मात्र समायोजनको काम सकिएको छ अहिलेसम्म । थपिएको समयमा पनि विवादित जिल्लाको समायोजनको काम सकिने अवस्था छैन ।

केराना भाइरसको जोखिम न्यूनिकरणका लागि सरकारले चैत ११ गते देखि लकडाउनको घोषणा पूर्व नै कांग्रेसले संगठन समायोजनको काम सकेका ४० जिल्लामा क्रियाशील सदस्यता फारम लगेका छन् । तर, ती जिल्लाहरूले पनि अझै सदस्यता वितरणको काम सुरु भएको छैन ।

कांग्रेस महाधिवेशनका लागि सबैभन्दा पेचिलो विषय नै सदस्यता वितरण र नविकरण हो । महाधिवेशनको पूर्वाधार मात्र नभएर गाउँ देखि केन्द्रसम्मको नेतृत्व चयनको आधार नै क्रियाशील सदस्यता भएकाले त्ययसलाई आफ्नो पक्षमा पार्न नेताहरू सक्रिय रहने गर्दछन् ।

कात्तिक १६ गते देखि तल्लो तहको अधिवेशन सुरु गर्ने यसअघिको कार्यतालिका संशोधन गर्दै कांग्रेसले पुसमा पुर्याएको छ । संशोधित कार्यतालिका अनुसार पुस ८ गते,गाउँ÷नगर, प्रदेशसभा पुस ११ गते, प्रतिनिधिसभा क्षेत्र पुस १३ गतेका लागि तय भएको छ । कात्तिक २५का लागि तय भएको जिल्ला अधिवेशन पुस १६ गते गर्ने निर्णय गर्दै कांग्रेसले प्रदेश अधिवेशन माघ ६ गतेका लागि प्रस्ताव गरिएको छ । यसअघि प्रदेश अधिवेशन मंसिर २९ गते गर्ने कांग्रेसले निर्णय गरेको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया