बाँके । नेपालगन्ज १० किमी रात्रीदौडको उपाधि नेपाली सेनाको त्रिभुवन आर्मी क्लबका मुकेश पाल र नरैनापुर कि गीता साहुले जितेका छन् । बिहीबार भएको नाइट रन अन्तर्गत १० किलोमिटर मेन्स ओपनमा मुकेश पाल प्रथम, सन्तोष विक्रम विष्ट दोस्रो, किरण सिंह बोगटी तेस्रो भएका थिए ।
संविधान दिवसका अवसरमा बिहीबार राति नेपालगञ्जमा भएको रात्रि दौडमा पालले ३१.०७.२१ मिनेटमा १० किलोमिटर दौड पूरा गर्दै च्याम्पियन बनेका हुन् । एपीएफ क्लबका सन्तोष विक्रम बिष्ट दोस्रो र किरणसिंह बोगटी तृतीय भए । सन्तोषले ३२.४८.४४ मिनेटमा निर्धारित दुरी पूरा गर्दा किरणले ३२.५४.६३ मिनेटमा दौड पूरा गरी तृतीय भएका थिए ।
धारा नेपालगञ्ज म्याराथनको दशौँ संस्करण विशेष बनाउन दशौँमा दश इभेन्ट अन्तर्गत पहिलो कार्यक्रमका रूपमा भएको १० किलोमिटर रात्रि दौडमा महिला खुलातर्फ बाँके नरैनापुरकी गीता कुमारी साहु प्रथम बन्न सफल हुनु भयो । साहुले ५९.१६.५२ मिनेटमा दुरी पूरा गर्दा कोहलपुरकी स्वस्तिका शाहीले ५१.०६.३७ मिनेटमा दुरी पूरा गरी दोस्रो भइन् । सलिना थारु १ घण्टा ६ मिनेट ४८ सेकेन्डमा फिनिसिङ लाइन छुँदै तृतीय भइन् ।
पुरुष तथा महिला खुलातर्फका शीर्ष तीन जनाले क्रमशः नगद २५ हजार, १५ हजार र १० हजारका साथै पदक र प्रमाणपत्र प्राप्त गरे । लुम्बिनी प्रदेश खेलकुद परिषद्का सदस्यसचिव तिरनदाज गौतम, केएल दुगड ग्रुपका सीईओ प्रदीप छाछड, नेपालगञ्ज म्याराथनका संरक्षक सदस्य केसर बहादुर आले, राखेप सदस्य दिपेन्द्र बिष्ट लगायतले पुरस्कृत गर्नु भएको थियो ।
जीवनमा पहिलोपटक रात्रि दौड पहिलोपटक दौडन पाउँदा र विजयी हुँदा खुसी भएको पालले प्रतिक्रिया दिनुभयो। “मैले उपाधि नै जितेँ, इतिहास बनाउने अवसर पाएँ” पालले भन्नुभयो, रात्रि दौडको मज्जा नै बेग्लै हुने रहेछ ।”
बाँके नरैनापुरकी गीता साहुले आफूले नसोचेको नतिजा हात पार्दा खुसी भएको बताउनु भयो । “पहिलोपटक यति धेरै पैसा जितेकी छु,” उहाँले भन्नुभयो, “यो पैसा आमालाई दिन्छु, अब त अझै धेरै खेल्छु ।”
नेपालगञ्ज उपमहानगरपालिका प्रवेशद्वार अगाडि निर्मित नाइट रन गेटबाट सुरु भएको दौड बिपीको चोक, धम्बोजी चोक, पुष्पलाल चोक, कारकादो चोक हुँदै राँझा नजिकै पुगेर पुनः सोही रुटमा बीपी चोक पुगेपछि दौड सम्पन्न भएको थियो ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया