जेठ ७, २०८२ बुधबार May 21, 2025

राप्रपाभित्रको आन्तरिक विवाद चरम उत्कर्षमा – संस्थापन र इतरपक्षबीच आरोपप्रत्यारोप

पार्टीका विभागहरूमा जिम्मेवारी हेरफेर र मनोनयन भए पनि महामन्त्री राणालाई हटाइएको विषयमा मात्रै विवाद उत्पन्न

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भित्रको आन्तरिक विवाद पुनः एकपटक चरम उत्कर्षमा पुगेको छ । पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले पछिल्लोपटक गर्नुभएको नेताहरूको जिम्मेवारी हेरफेरले धर्मनिरपेक्षता र गणतन्त्रविरोधी पार्टी राप्रपाभित्र विवाद देखिएको हो । आगामी महाधिवेशनलाई लक्षित गर्दै अध्यक्ष लिङ्देनले रणनीतिक निर्णयमार्फत महामन्त्री धवलशमशेर राणालाई संगठन विभाग प्रमुखको जिम्मेवारीबाट हटाएपछि इतर समूह रुष्ट बनेको छ । इतर पक्षले अध्यक्षबाट ‘अमानवीय’ निर्णय भएको आरोपसमेत लगाएको छ । इतर पक्षले आगामी महाधिवेशनमा राजेन्द्र लिङ्देनलाई चुनौती दिन महामन्त्री राणालाई अघि सार्ने तयारी गरिरहँदा अध्यक्ष लिङ्देनले पनि आफूलाई बलियो राख्न सोही अनुसारको रणनीति अपनाएर नेताहरूको जिम्मेवारी हेरफेर गरेपछि विवाद पार्टी नै फुट्नेसम्मको दिशातिर अघि बढेको छ ।

लिङ्देनले संगठनमा राणाको हालिमुहाली हुन नदिने रणनीतिका साथ जिम्मेवारी नै खोसेर आफ्नो विश्वास पात्र उपाध्यक्ष बुद्धिमान तामाङलाई दिएको नेताहरूको भनाइ छ । हुन त अध्यक्ष लिङ्देनले पार्टीभित्र आवश्यक परामर्श नै नगरी राणासहितका केही नेताको जिम्मेवारी हेरफेर गर्नुभएको हो । पार्टीको संगठन विभागबाट हटाइएका राणा उपचारका सिलसिलामा भारतको मुम्बईमा रहनुभएको छ ।

दाँतको क्यान्सरको उपचारका लागि राणा भारत जानुभएका बेला यसखालको निर्णय गरेर अध्यक्षले अमानवीय निर्णय गरेको पूर्वअध्यक्ष डा.प्रकाशचन्द्र लोहनीले सार्वजनिक रूपमै टिप्पणी गर्नुभएको छ । लोहनीले मात्रै नभई राप्रपाभित्र लिङ्देन इतरसमूहका नेताहरूले निर्णयको आलोचना गरिरहँदा संस्थापन पक्ष भने विधानबमोजिम विभाग प्रमुखहरूको जिम्मेवारी हेरफेर भएको तर्क गर्दै बचाउ गरिरहेका छन् ।

संस्थापन बचाउमा लाग्ने र इतर पक्ष विरोधमा उत्रिँदै गर्दा पार्टीभित्र एकपछि अर्को गर्दै समस्या बढ्दै गएको राप्रपाका नेताहरू बताउँछन् । पार्टीका विभागहरूमा जिम्मेवारी हेरफेर र मनोनयन भए पनि महामन्त्री राणालाई हटाइएको विषयमा मात्रै विवाद उत्पन्न भएको छ ।

पछिल्लो समय अध्यक्ष लिङ्देन र राणाबीच सम्बन्ध राम्रो नरहेको नेताहरू बताउँछन् । त्यसमाथि आगामी महाधिवेशनबाट फेरि शक्तिमा पुग्ने अध्यक्ष लिङ्देनको महŒवाकांक्षाले समेत पछिल्लो निर्णय भएको बताइएको छ । अघिल्लो महाधिवेशनमा लिङ्देनलाई अध्यक्ष बनाउन राणाले नै बलियो साथ दिनुभएको थियो । तर, समयक्रमसँगै अध्यक्षको कार्यशैलीप्रति राणाले प्रश्न उठाउँदै आउनुभएको छ । राणा केही समयदेखि पार्टीभित्र छुट्टै गतिविधिसमेत गर्दै आउनुभएको छ । अध्यक्ष लिङ्देनलाई चुनौती दिनेगरी राणाले आफू संयोजक रहेको ‘आन्दोलन परिचालन समिति’मार्फत पार्टीको गतिविधि गर्दै आउनुभएको छ । राणाले लिङ्देनसँग कुनै सल्लाह नै गर्न छोडेको संस्थापन पक्षका नेताहरूको दाबी छ ।

अध्यक्ष लिङ्देनले अमानवीय निर्णय गरे : डा.लोहनी

राप्रपाका पूर्वअध्यक्ष डा.प्रकाशचन्द्र लोहनीले पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले अमानवीय निर्णय गरेको आरोप लगाउनुभएको छ । लिङ्देनले बिहीबार विभागका प्रमुखहरूको जिम्मेवारी हेरफेर गर्दै महामन्त्री डा.धवलशमशेर राणालाई संगठन विभाग प्रमुखबाट हटाएपछि प्रतिक्रिया दिँदै लोहनीले बिरामी भएर विदेशमा उपचार गर्न गएका बेला प्रमुखबाट हटाउने कार्य अविवेकी र अमानवीय निर्णय भएको टिप्पणी गर्नुभएको छ । बिरामी सहकर्मीलाई तनाव दिने कार्यप्रति दुःख व्यक्त गर्दै हाल अमेरिकामा रहनुभएका लोहनीले फेसबुकमार्फत भन्नुभएको छ, ‘राप्रपाका सांसद तथा महामन्त्री धवलशमशेर बिरामी भएर विदेशमा उपचार गराउँदै हुनुहुन्छ । यस्तो बेलामा उहाँलाई संगठन विभागको प्रमुखबाट हटाउनु अविवेकी तथा अमानवीय निर्णय हो र बिरामी साथीलाई तनाव दिने काम मात्र हो । यो निर्णयप्रति म दुःख व्यक्त गर्दछु र मेरो असहमति स्पष्ट गर्दछु ।’

विधानबमोजिम जिम्मेवारी हेरफेर : प्रवक्ता श्रेष्ठ

जिम्मेवारी हेरफेरको पछिल्लो निर्णयसँगै पार्टीभित्र तीव्र बहस र विवाद भइरहँदा राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले अध्यक्ष लिङ्देनले पार्टीको विधानबमोजिम विभाग प्रमुखहरूको जिम्मेवारी हेरफेर र केही विभागका प्रमुखहरूको मनोनयन गरेको दाबी गर्दै विज्ञप्तिमार्फत भन्नुभएको छ, ‘पार्टीको अध्यक्ष भएर आएकाले पनि, भोलिका दिनमा पार्टी अध्यक्ष हुन्छु भन्नेहरूले पनि र पार्टी सदस्य सबैले बुझ्नुपर्ने कुरा के भने राप्रपाको विधानमा विभाग प्रमुखहरूको मनोनयन पार्टी अध्यक्षले गर्ने भन्ने स्पष्ट व्यवस्था छ । कुनै समितिको बैठकले गर्ने होइन ।

अघिल्लोपटक अध्यक्षलाई विधानले दिएको त्यही अधिकारबमोजिम नेताहरू बुद्धिमान तामाङ राजनीतिक विभाग प्रमुख, ध्रुवबहादुर प्रधान प्रशिक्षण विभाग प्रमुख, डा.धवल शमशेर राणा संगठन विभाग प्रमुख र अरू अन्य विभागहरूको प्रमुख मनोनयन हुनुभएको हो । अहिले पनि अध्यक्षले सोही विधानबमोजिम केही विभाग प्रमुख नेताहरूको जिम्मेवारी हेरफेर र केही विभाग प्रमुखहरूको नयाँ मनोनयन गर्नुभएको हो ।’ विभाग प्रमुख मात्रै नभई विभागका सदस्यहरूको समेत मनोनयन अध्यक्षले गर्ने प्रावधान रहेको श्रेष्ठको जिकिर छ ।

अध्यक्षको निर्णयले प्रश्न उब्जियो : प्रवक्ता लावती

तर, राणापक्षीय नेता तथा अर्का प्रवक्ता सगुन सुन्दर लावतीले सार्वजनिक बिदाको दिन गरिएको निर्णयले प्रश्न उत्पन्न भएको जिकिर गर्दै भन्नुभयो, ‘बिदाको दिन निर्णय आयो, संगठन विभागको जुन कुरा छ, त्यो पार्टीको सक्रियमध्येकै एक निकाय हो । विधानमा विभागको जिम्मेवारी हेरफेरको अधिकार केन्द्रीय कार्य समितिलाई तोकेको छ । पछिल्लो निर्णयले देशभरका नेता कार्यकर्तामा चर्चा र असन्तुष्टि निम्त्याएको छ । देशभित्र राजनीतिक विकल्प खोजिँदा पार्टीभित्र भने विधानको समेत पालना नहुनेगरी संवेदनाहीन कार्य भइरहेको छ ।’

राप्रपाको विधानको धारा २४ मा ४३ वटा विभाग रहने उल्लेख छ । ती विभागमध्ये कतिपयमा भने हालसम्म पनि मनोनयन गरिएको छैन । ४२ विभाग तथा समितिहरूका अतिरिक्त केन्द्रीय समितिले आवश्यकताअनुसार अन्य विषयगत विभाग तथा समितिसमेत गठन गर्नसक्ने विधानमा उल्लेख छ । जिम्मेवारी हेरफेरको निर्णयले तीव्र असन्तुष्टि बढिरहँदा कतिपय नेताहरू भने पार्टीभित्र गुटगत राजनीति हाबी हुँदा अनावश्यक विवाद बढ्दै गएको बताइरहेका छन् । पार्टीभित्र एकले अर्कालाई नमान्ने, गुटगत राजनीति गर्ने र नजिकिँदै गरेको महाधिवेशनको कारणले समेत अस्वस्थ प्रतिस्पर्धा भएको नेताहरूको बुझाइ छ ।

राप्रपाले समयमा महाधिवेशन गर्ने हो भने २०८२ मंसिरमा महाधिवेशन गर्नुपर्ने हुन्छ । राप्रपाको २०७८ मंसिरमा सम्पन्न एकता महाधिवेशनबाट अध्यक्षका बलिया उम्मेदवार कमल थापालाई पराजित गर्दै राजेन्द्र लिङ्देन निर्वाचित हुनुभएको थियो । महाधिवेशनका लागि राप्रपाले तल्लो तहको अधिवेशनको प्रक्रियासमेत सुरु गरिसकेको छ । जसअनुसार एक पक्षले अर्को पक्षलाई रोक्ने रणनीतिका साथ गतिविधि भइरहेका छन् । राप्रपामा अहिले इतर समूहमा महामन्त्री डा.राणासहित पूर्वअध्यक्ष प्रकाशचन्द्र लोहनी, हरिबहादुर बस्नेत, नवराज सुवेदीलगायत एकठाउँमा रहेको बताइएको छ । उनीहरूलाई पूर्वअध्यक्ष लोकेन्द्रबहादुर चन्दको समेत सद्भाव रहेको दाबी छ । यस्तै, अध्यक्ष लिङ्देन भने बुद्धिमान तामाङ, ध्रुवबहादुर प्रधानसहितका प्रभावशाली नेताहरूलाई साथमा लिएर पार्टीमा आफ्नो पकड कायम राख्ने रणनीतिमा रहनुभएको छ ।

नवनियुक्त विभाग प्रमुखलाई मनोनयन पत्र हस्तान्तरण

अध्यक्ष लिङ्देनले पार्टीको विधानबमोजिम बिहीबार मनोनयन गरेका विभिन्न विभागका प्रमुखहरूलाई शुक्रबार मनोनयन पत्र हस्तान्तरण गर्नुभएको छ । लिङ्देनले संगठन विभागको प्रमुखमा वरिष्ठ नेता उपाध्यक्ष बुद्धिमान तामाङ, स्थानीय तह परिचालन विभागको प्रमुखको जिम्मेवारी वरिष्ठ नेता उपाध्यक्ष ध्रुवबहादुर प्रधान, राजनीतिक विभागको प्रमुखको जिम्मेवारी वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, पर्यटन विभागको प्रमुखमा सहायक महामन्त्री विजय खड्का, विपद् व्यवस्थापन विभागको प्रमुखमा केन्द्रीय सदस्य उद्धव थापा, सूचना प्रविधि विभाग (आइटी) को प्रमुखमा केन्द्रीय सदस्य उद्धवराज भेटुवाल, लेखा समितिको प्रमुखमा केन्द्रीय सदस्य केदार न्यौपानेलाई मनोनयन गर्नुभएको थियो ।हिमालयन टाइम्सबाट

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया