कार्तिक २६, २०८३ बिहिबार November 12, 2026

बाढीपहिरो पीडितप्रति संवेदनशील भएर सरकारले काम गरिरहेको छ : मन्त्री गुरूङ

राजनीतिक स्थायित्वका लागि नेकपा एमालले नेपाली कांग्रेससँग सहकार्य गरेको भनाई

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरूङले बाढीपहिरोपीडितप्रति संवेदनशील भएर सरकारले काम गरिरहेको बताएका छन् ।

फास्ट फुड एशोसिएसन नेपालले आज यहाँ आयोजना गरेको ‘कर प्रशिक्षण’ कार्यक्रममा उनले चाडपर्व प्रारम्भ हुन लागेका बेला बाढीपहिरोबाट देश र जनताले भोग्नुपरेको अकल्पनीय परिस्थितिप्रति सरकार संवेदनशील रहेको तथा पीडितलाई राज्यका निकायबाट सक्दो सहयोग गर्नुपर्छ भन्नेमा कसैको विमति नरहेको बताए ।

‘देशका विभिन्न स्थानमा एकैपटक बाढीपहिरोबाट मानवीय क्षति भयोे, सडक सञ्जाल विच्छेद भयो, कैयौँ नागरिक घरबारविहीन भएका छन्, यस्तो जटिल अवस्थामा सरकारले सम्बन्धित निकायलाई परिचालन गरेर सहायता परिचालन गरिरहेको छ,’ मन्त्री गुरूङले भने ।

उनले दसैँ–तिहारमा यातायात सेवा सहज ढंगले सञ्चालन गर्न सरकार कटिबद्ध रहेको तथा सडक विभागसँगको समन्वयमा अवरोध भएका स्थानमा युद्धस्तरमा काम भइरहेको बताए । पृथक प्रसंगमा सञ्चारमन्त्रीले लगानीमैत्री वातावरण बनाउन सरकार लागिपरेको, लगानी बढेपछि सेवा क्षेत्र विस्तार भई रोजगारीका अवसर सृजना हुने भएकाले त्यसप्रति नै सरकारले ध्यान दिएको बताए ।

उनले भने, ‘स्थिर सरकार भएन भने नीतिगत स्थायित्व हुँदैन, नीतिगत स्थायित्व भएन भने विकास र समृद्धिले फड्को मार्न सक्दैन, राजनीतिक स्थायित्वका लागि नेकपा एमालले नेपाली कांग्रेससँग सहकार्य गरेको हो ।’

नेपाली जनताले तत्काल परिणाम खोजेका तर नीतिगत सुधार गरी त्यसलाई कार्यन्वयनमा लैजान केही समय लाग्ने भएकाले तत्काल परिणामको अपेक्षा गर्नु स्वाभाविक नहुने तर्क गरे । जनताले महसुस गर्नेगरी परिणाम निकाल्न सरकार क्रियाशील रहेको उनको कथन थियो ।

त्यस अवसरमा एसियाली खेलकुदमा पदक विजेता एरिका गुरूङ, सेफ गोविन्दनरसिंह केसीलगायत उच्च शिक्षा हासिल गरेका ‘फास्ट फुड’ व्यवसायीका सन्तति, लायन्स क्लबलगायत सामाजिक संघसंस्थालाई सम्मान गरिएको एशोसियसनका अध्यक्ष राजु श्रेष्ठले बताए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया