काठमण्डाैंः नेपाल औषधी उत्पादन संघ आन्दोलनमा उत्रिएको छ । नेपालमा उत्पादन हुने औषधिहरू विदेशबाट ल्याउन बन्द गर्न माग गर्दै उत्पादन संघ आन्दोलनमा उत्रिएको हो ।
गत २२ असारमा सेनिटाइजर दर्ताको म्याद तीन महीना थप्ने निर्णय गरेसँगै औषधि उत्पादक संघ आन्दोलनमा उत्रिन बाध्य भएको संघका महासचिव विप्लव अधिकारीले युगखबर अनलाईनलाई बताए ।
देशलाई अर्थतन्त्रमा आत्मनिर्भर बनाउने नीति लिएको सरकारले त्यसलाई कार्यान्वयनमा लैजानुपर्ने उनले बताए । बन्दाबन्दीको महत्वपूर्ण समयमा कुनै पनि प्रकारको औषधि अभाव हुन आफूहरूले नदिएको उल्लेख गर्दै उनले अवस्था सहज भएपछि गुणस्तरहीन र दर्ता नभएका औषधि बजारमा आउने क्रम रोक्न आग्रह गरे।
मास्क, पीपीई, कस्मेटिक, खाद्य परिपूरक लगायतका सामग्री नेपालमै उत्पादन हुनसक्ने भएतापनि सरकारले उत्पादन अनुमति र प्रोत्साहन नगरेको संघको भनाइ छ।
मंगलबार औषधि व्यवस्था विभाग अगाडि संघले धर्ना दिएको छ । आफ्ना मागहरू पूरा नभए आन्दोलन थप कडा पार्ने चेतावनी संघले दिएको छ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया