कार्तिक २९, २०८३ आइतबार November 15, 2026

संरक्षणका लागि पाँच लाख शालग्राम जुटाइँदै

पूर्वाधार तयार गरी दोस्रो चरणअन्तर्गत करिब तीन लाख शालग्राम पुर्‍याउने उद्देश्य

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

गलकोट (बागलुङ),  कात्तिक ४ गते ।  बागलुङको कुडुलेमा शालग्राम संरक्षणका लागि सङ्ग्रहालय बनेको छ वर्ष पुग्यो । तिरुपति बालाजीधाममा सङ्ग्रह गरेका २४ हजार शालग्रामलाई सङ्ग्रहालयमा राख्ने उद्देश्यले सङ्ग्रहालय बनाएर संरक्षण थालिएको थियो ।

संरक्षण अभियानले तीव्रता पाएपछि शालग्रामको सङ्ख्या बढाएर सवा लाख पुर्‍याइयो । अहिले उक्त सङ्ग्रहालयमा शालग्रामको सङ्ख्या बढाएर पाँच लाख पुर्‍याउने लक्ष्यसहित शालग्राम खोजीलाई पनि तीव्रता दिइएको छ ।

भूमिगत सङ्ग्रहालयमा सजाएर राखिएका शालग्राम शिला दर्शन गर्न आउने नेपाली तथा विदेशी पर्यटकको सङ्ख्या बढेपछि शालग्रामको सङ्ख्यालाई थप गर्ने योजना श्रीधराचार्य शालग्राम सङ्ग्रहालयले लिएको छ ।

श्रीधराचार्य शालग्राम सङ्ग्रहालयका अध्यक्ष ऋषि प्रपन्नचार्यले लोप हुन थालेको शालग्रामको महत्व बढ्दै जानु, सङ्ग्रहालय अवलोकनका लागि आउने धार्मिक पर्यटकको सङ्ख्या बढ्दै गएकाले सङ्ख्या थपेर पाँच लाख पु र्‍याउने उद्देश्यअनुसार शालग्राम जुटाउन थालिएको बताउनुभयो ।

“कालीगण्डकी नदीमा मात्र पाइने शालग्राम शिला हिन्दू धर्मावलम्बीका लागि महत्वपूर्ण र पुज्य छ । कालीगण्डकीको दोहन र शालग्रामको चोरी बढेकाले पछिल्लो पुस्तालाई शालग्राम देख्नै नपाएने अवस्था नआउला भन्न सकिँदैन”, अध्यक्ष प्रपन्नचार्यले भन्नुभयो, “शालग्रामको संरक्षणसँगै धार्मिक पर्यटक भित्र्याउने हाम्रो लक्ष्य थियो, २४ हजार शालग्राम सङ्कलन गरी थालिएको अभियानलाई सवा लाखमा पुर्‍याएको थियो ।”

अहिले सङ्ग्रहालयको पूर्वतर्फ शालग्राम राख्न पूर्वाधार तयार गरी दोस्रो चरणअन्तर्गत करिब तीन लाख शालग्राम पुर्‍याउने उद्देश्यले सङ्कलनमा जुटेको प्रपन्नचार्यले जानकारी दिनुभयो । “केही वर्षभित्र शालग्रामको सङ्ख्या बढाएर पाँच लाख पुर्‍याउने योजना छ, एकै पटक पाँच लाख शालग्राम सङ्ग्रह गरिएको स्थान विश्वमा चर्चित बन्ने विश्वास लिएका छौँ”, उहाँले भन्नुभयो ।

प्रपन्नचार्यका अनुसार शालग्राम संरक्षण र पर्यटकीय पूर्वाधार निर्माण एकसाथ अघि बढिरहेकोे छ । लोपन्मुख मानिएको शालग्राम शिलाको सङ्ग्रह गरी बनाइएको सङ्ग्रहालयमा पर्यटकको आकर्षण बढ्न थालेपछि शालग्राम संरक्षण अभियानले तीव्रता पाएको उहाँले उल्लेख गर्नुभयो । धार्मिक महत्व जगाउन, कालीगण्डकी सभ्यता जोगाउन र शालग्रामको संरक्षण गर्न अभियान थालिएको भन्दै वर्षौँदेखिको योजनाले क्रमशः सफलता पाउँदै गएको उहाँले बताउनुभयो ।

विश्वमै दुर्लभ मानिएको शालग्राम शिलाको संरक्षण र प्रचारप्रसारका कारण बागलुङ–४ कुडुलेस्थित शालग्राम सङ्ग्रहालयमा धार्मिक पर्यटक आउने क्रम बढ्दै गएको छ । दसैँ र तिहार जस्ता चाडपर्वको समयमा धेरै धार्मिक पर्यटक आउने गरेका बताउँदै अध्यक्ष प्रपन्नचार्यले चार वर्षदेखि सर्वसाधारणलाई खुल्ला गरिएको भूमिगत सङ्ग्रहालयले शालग्रामको संरक्षण गर्न थालेपछि भारतीय पर्यटक आकर्षित हुन थालेका जानकारी दिनुभयो ।

मुस्ताङको मुक्तिनाथबाट म्याग्दी, बागलुङ र पर्वत भएर बहने कालीगण्डकी ९कृष्णगण्डकी० नदीमा मात्र पाइने शालग्राम शिलाको संरक्षण गर्न बागलुङ–४ कुडुलेस्थित तिरुपति बालाजीधाममा श्रीधराचार्य शालग्राम सङ्ग्रहालय निर्माण भएपछि शालग्राम दर्शन गर्न आउने धार्मिक पर्यटकको सङ्ख्या वृद्धि भएको हो । शालग्राम संरक्षणसँगै यसको सङ्ख्या बढाउन सङ्कलन अभियान थालिएको अध्यक्ष प्रपन्नचार्यले उल्लेख गर्नुभयो ।

हिन्दूधर्मावलम्बीका लागि कालो रङ्गको बाटुलो शिला (ढुङ्गा) शालग्राम अति पूजनीय मानिन्छ । वैष्णवहरु र सनातनीहरुले पनि शालिग्रामलाई साक्षात विष्णुको अवतारका रुपमा लिने गरेकाले यसको महत्व धेरै रहेको अध्यक्ष प्रपन्नचार्यले जानकारी दिनुभयो ।

सङ्ग्रहालय अवलोनका लागि विद्यालय, आमा समूह, सहकारी, स्थानीय तहका कर्मचारी, जनप्रतिनिधि तथा धार्मिक पर्यटक उल्लेख्य मात्रमा यहाँ आउने गरेका छन् । अहिले दैनिक तीन सयको हाराहारीमा पर्यटक शालग्राम दर्शनका लागि  आउने गरेका अध्यक्ष प्रपन्नचार्यले जानकारी दिनुभयो ।

शालग्रामको महिमा बढाउन सङ्ग्रहालयले शालग्राम महोत्सव, शालग्रामसम्बन्धी प्रवचन गरिरहेको बताउँदै शालग्राम दर्शनपछि पुण्य कमाउने विश्वासका साथ यहाँ आउने दर्शनार्थीको सङ्ख्यामा वृद्धि हुँदै गएको स्थानीय रामप्रसाद शर्माले उल्लेख गर्नुभयो । शालग्राम थप गरेर पाँच लाख पुर्‍याउने अभियानले स्थानीयमा उत्साह छाएको उहाँको भनाइ छ ।

भगवान् शिवको प्रिय अस्त्रका रुपमा मानिने शालग्राम सङ्ग्रहालय त्रिशूल आकारमा भूगर्भभित्र ७६ मिटर लामो सुरुङ निर्माण गरी व्यवस्थित गरिएको छ । यहाँ सङ्ग्रहालय, त्रिवेणीधामबाट दामोदर कुण्डसम्मको नक्सा, विभिन्न धार्मिक महत्वका मठमन्दिर, वृत्तचित्र, प्रदर्शनी कक्षलगायत संरचना निर्माण गरिएका छन् । सङ्ग्रहालयमा ससाना तथा तीन सय किलोसम्मका शालग्राम संरक्षण गरी राखिएका छन् । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सबै नागरिकले सुरक्षित महसुस गर्ने राज्य निर्माण गर्नु आजको आवश्यकता : सभामुख अर्याल
२०८३ कार्तिक २९, आइतबार
क्यान्सर अस्पतालको स्तरोन्नतिमा चिनियाँ सहयोग आवश्यक: राष्ट्रियसभा अध्यक्ष दाहाल
२०८३ कार्तिक २९, आइतबार
खुलामञ्चको क्षति सुधार्दै कांग्रेस, दुबो रोपेर संरक्षणको जिम्मेवारी लिने प्रतिबद्धता
२०८३ कार्तिक २९, आइतबार
जलवायु प्रतिबद्धता कार्यान्वयनमा लैजान राष्ट्रसंघको जोड
२०८३ कार्तिक २९, आइतबार
अक्टोबर ७ आक्रमणका योजनाकार हमास कमान्डर गाजामा मारिए
२०८३ कार्तिक २९, आइतबार
छठ पर्वले राष्ट्रिय एकता र सद्भाव बढाउनेमा प्रदेश प्रमुख भट्ट विस्वस्त
२०८३ कार्तिक २९, आइतबार
दूध बेचेर आत्मनिर्भर, दुई जनालाई रोजगारी
२०८३ कार्तिक २९, आइतबार