कार्तिक २६, २०८३ बिहिबार November 12, 2026

भिस्ताराको विमानमा कुनै शङ्कास्पद वस्तु फेला परेन, उडान नियमित

विमानमा सवार एक सय ५७ यात्रुलाई खानतलासी गर्दा कुनै शङ्कास्पद वस्तु फेला परेन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ
काठमाडौंः भारतको विमान सेवा कम्पनी भिस्तारा एयरको विमानमा कुनै शङ्कास्पद वस्तु फेला नपरेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । विमानमा बम राखेको हल्ला फैलिएपछि नेपाली सेनाको बम डिस्पोजल टोलीले जाँच गर्दा बम नभेटिएको हो ।
उक्त विमानमा कुनै पनि शङ्कास्पद वस्तु नभेटिएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान नियमित रूपमा सञ्चालन भइरहेको प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भूलले जानकारी दिनुभयो । उहाँले विमानमा शङ्कास्पद वस्तु फेला नपरेपछि विमानलाई खतरामुक्त घोषणा गरिएको बताउनुभयो । “विमानको बाहिरी, भित्री र यात्रु तथा सबै सामान जाँच भयो । शङ्कास्पद वस्तु फेला नपरेपछि विमानलाई खतरामुक्त पनि घोषणा गरिएको हो”, सूचना अधिकारी भूलले भन्नुभयो, “अहिले विमानस्थलको सबै उडान सामान्य अवस्थामा सञ्चालन भइरहेका छन् । व्यागेज सम्बन्धित यात्रुलाई हस्तान्तरण गर्ने काम भइरहेको छ । उक्त विमानले नियमित उडानमा काठमाडौँबाट यात्रु लिएर नयाँदिल्ली उड्ने तयारीमा रहेको छ ।”
भारतको नयाँदिल्लीबाट काठमाडौँस्थित विमानस्थलमा दिउँसो ४ः३० बजे अवतरण गरेको भिस्ताराकोे उडान नम्बर ‘यूके १५५’ भएको विमानमा बम राखेको हल्लापछि सेनाको डिस्पोजल टोलीले दिउँसो ४ः३० बजेदेखि साँझ ७ बजेसम्म विमानको जाँच गरेको थियो ।
अज्ञात समूहले भिस्ताराको एयरबस ए ३२० विमानमा बम रहेको धम्कीपूर्ण सूचना आएपछि  काठमाडौँ विमानस्थलमा उक्त विमानलाई पार्किङवेबाट अलग्गै राखेर सुरक्षा जाँच गरिएको थियो । विमानका यात्रुहरुलाई विशेष रुपमा शरीर खानतलासी गरेर उच्च निगरानीका साथ अध्यागमनबाट बाहिर पठाइएको थियो ।
नेपाली सेनाका प्रवक्ता गौरवकुमार केसीका अनुसार भिस्तारा एयरको विमानमा बम राखेको हल्लापछि सेनाको विस्फोटक पदार्थ निष्क्रय गर्ने विशेष टोलीले खानतलासी गरेको थियो । विमानमा सवार एक सय ५७ यात्रुलाई खानतलासी गर्दा कुनै शङ्कास्पद वस्तु फेला नपरेको उहाँले बताउनुभयो । बम राखेको फोन दिल्लीबाटै आएको सूचनाका आधारमा अनुसन्धान गरिएको हो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया