असार २४, २०८२ मंगलबार July 8, 2025

ओलीको अयोध्या कार्ड- चन्द्रकिशोर

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
मुलुक इतिहासकै सर्वाधिक चुनौतीपूर्ण अवस्थामा छ । राजा महेन्द्रको राज्यकालपछि सम्भवतः पहिलोपल्ट उग्र राष्ट्रवादी नस्लको विकास भएको छ र त्यसको प्रयाणकर्ता खड्गप्रसाद शर्मा ओली हुन् । जनतासँगका सम्बन्धका आयामहरूलाई भत्काउँदै अटेरी अन्दाजमा एकसुरले हिँड्दै गर्दा पनि उनलाई उनको दलले छेकबार लगाउन सकेको छैन ।
कोरोना कहरका कारण आसन्न आर्थिक–सामाजिक संकटको कल्पना मात्रले जनतालाई असीमित मानसिक तनाव दिइरहेको छ । तर, नवीनतम लोकतान्त्रिक गणतन्त्रका जिम्मेवार मानिएका कुनै पनि निर्वाचित नेताले भुइँमान्छेहरूको सरोकारलाई मुखरित गरेका छैनन् । बरु पक्ष–विपक्षको राजनीति अमूर्त एजेन्डाहरूको अनुपालनमा अल्झिएको लोकबुझाइ बाक्लिएको छ । सत्तारूढ दलका नेता–कार्यकर्ताले नेतृत्वको अहंको प्रतिच्छाया बन्नुभन्दा विवेक प्रयोग गर्न सके दल र देशको भलो हुन्थ्यो भन्ने लोकअपेक्षा अरण्यरोदन भएको छ ।

राजनीतिक अस्तव्यस्तताको असर समग्र शासनव्यवस्थामा देख्न सकिन्छ । जता हेर्‍यो उतै भद्रगोलबाहेक केही देखिँदैन । कोरोना संकट छल्न घरफिर्ती गर्ने वा फेरि जीविकाका लागि सहर फर्किने भुइँमान्छेहरूको मनोदशा त जे छ छँदै छ, त्यसभन्दा पनि अनौठो देखिन्छ नेकपाका नेता–कार्यकर्ताको चर्तिकला । तर हाम्रा सत्तापति तुक न तर्कको वक्तव्य दिँदै हिँडिरहेका छन्, जसका कारण सारा राष्ट्रको राजनीतिक ऊर्जा महत्त्वहीन मुद्दामा खर्च भइरहेको छ । तथापि मुलुकको परम्परागत सम्भ्रान्त र सुविधाभोगी वर्ग आश्वस्त नै थियो, तर जब प्रधानमन्त्री ओलीले ‘अयोध्या’ कार्ड फाले, त्यसउपरान्त ओली साम्राज्यमा चैनसँग बाँचिरहेको यो तप्का झस्कियो । यही तप्काको दबाबका कारण परराष्ट्र मन्त्रालयले रफ्फु वक्तव्य निकाल्यो ।

नेपाल र भारतलाई जोड्ने साँध साँच्चिकै लामो छ । यी दुई मुलुकबीच सम्बन्धको आयाम पनि निकै फराकिलो छ । बदलिँदो अन्तर्राष्ट्रिय परिस्थिति र राष्ट्रिय आवश्यकताका आधारमा नेपालको विदेशनीतिलाई समयानुकूल परिमार्जित बनाउँदै लैजानुपर्ने आग्रह हुँदै आएको छ । कतिपयले नेपालमा भारतको संलग्नतालाई प्रतिसन्तुलन गर्न चीनसँगको सम्बन्ध घनीभूत पार्नुपर्ने मान्यता राख्छन् । चीनसँग झन् नजिकिन भारत र चीनसँग ‘समनिकटता’ को भाष्य प्रस्तुत गर्ने गरिएको छ । त्यसका लागि चीन र भारतसँग समान धरातलहरू मात्रै कायम राख्नुपर्ने भन्न थालियो, जसअन्तर्गत ती सबै आधारलाई संकुचनमा ल्याउनुपर्‍यो जसले नेपाल–भारत सम्बन्धलाई अरूभन्दा भिन्न र मौलिक बनाउँछन् । भारतसँगको सम्बन्धलाई अलग र स्वतन्त्र रूपमा परिभाषित गर्नुको साटो नेपालको ‘अबको चीननीति कस्तो हुनेछ’, त्यसकै अनुकूल पारिस्थितिकीका आधारमा भारतसँग सम्बन्ध निर्माणका लागि नवढाँचा तयार गर्न कटिबद्ध देखिनु ‘खड्गकाल’ को विशेषता हुन पुगेको छ । यस अवस्थालाई कतिपयले दुई छिमेकी चीन र भारतबीचको प्रतिस्पर्धा र प्रणयमा नेपाललाई छद्म प्रवेश गराउन खोजेको संकेतका रूपमा लिने गरेका छन् । पूर्वाग्रही तथ्यहरूको इँटा जोडेर भारतसँगको जनसम्बन्धका सूत्रहरू चुँडाल्ने प्रयास हुँदै छ ।

अहिलेको दिल्लीले सांस्कृतिक विस्तारका लागि अयोध्याको जग हालेको होइन । जनआस्थाले जनकपुर र अयोध्याको अस्तित्व जोगाइरहेको हो । काठमाडौं र दिल्लीबीच ‘सीता–राम’ लाई ल्याउनु भनेको जनसम्बन्धको गरिमा र गुरुत्वलाई बेवास्ता गर्नु हो ।

यो काम आउरेबाउरे राष्ट्रवादीहरूबाट सम्भव थिएन । त्यसैले यसका निमित्त स्वयं ओली आफैं तत्पर भए र भनिदिए— हिन्दुहरूका आराध्य मर्यादापुरुषोत्तम राम नेपाली राजकुमार थिए र उनको जन्मभूमि अयोध्या भारतको नभई नेपालभित्रकै अमूक क्षेत्र हो । यसो भन्दा ओलीलाई ‘राष्ट्रवादी प्रसाद’ मान्नेहरू चमत्कृत भए, तिनलाई के–के न खजाना फेला परेको अनुभूति भयो । नेपाल–भारत सम्बन्धको हरेक चर्चा वा भाषण भगवान् राम र देवी सीताको उदाहरणका साथ प्रारम्भ हुन्छ । यो पौराणिक सन्दर्भ यी दुई छिमेकीको जनसम्बन्धको आत्मीयता र अभिन्नतालाई प्रतीकका रूपमा अगाडि सारिन्छ । उसो त यो पनि सत्य हो, राम–सीताको कालखण्डमा भारत र नेपालको अहिलेको राजनीतिक भूगोल थिएन । त्यसैले सीता–रामको वैवाहिक सम्बन्धको विम्ब काठमाडौं–दिल्ली सम्बन्धको सूचक होइन, यो त जनजन सम्बन्धको द्योतक हो । काठमाडौं–दिल्ली सम्बन्धबीच ‘सीता–राम सम्बन्ध’ लाई ल्याउनु भनेको जनसम्बन्धको गरिमा र गुरुत्वलाई बेवास्ता गर्नु हो ।

राज्य बन्नुभन्दा अगाडि विभिन्न समूह र समाजबीच सम्बन्ध रहन सक्छ । तर आधुनिक समयमा अन्तर्राष्ट्रिय सम्बन्ध भनेको अन्तरराज्य सम्बन्ध हो । त्यसैले सम्बन्धको निर्धारण राज्यका प्रतिनिधिहरूद्वारा नै निर्धारित हुन्छ । स्वतन्त्र, सार्वभौम तथा प्रगतिमुखी नेपालका लागि स्वीकारयोग्य र हितकारी भारतनीति कस्तो हुने, त्यसका लागि शासनको बागडोर सम्हालेकाहरूले नै मन्थन गर्ने हो । तर त्यसमा जनसम्बन्धको सुवास कति मिसिएको छ भन्ने हेक्का राख्नुपर्छ । किनभने निकट अतीतको तथ्य हो, तिब्बत (चीन) सँगको हिमाली क्षेत्रको जनसम्बन्धलाई छेकबार गर्दा कर्णाली पछाडि पर्‍यो । कर्णाली क्षेत्रबारे गहिरो अध्ययन–अनुसन्धान गरेका विज्ञहरू नै हाकाहाकी भन्छन्, ‘कर्णाली पछाडि पर्ने मुख्य कारणहरूमध्ये एक त्यस क्षेत्रको सीमाञ्चल साइनोलाई संकुचनमा ल्याउनु हो ।’ अहिले नेपाल र भारतका जनताबीच कतिपय विषयमा सकारात्मक सोचाइ छ तर राज्यको सम्बन्ध चिसिनेबित्तिकै सम्पूर्ण सम्बन्ध प्रभावित हुन्छ, भइरहेको छ ।

नेपाल–भारत सम्बन्ध दुई सरकारबीचको सम्बन्ध मात्र होइन, तर चीनसँगको नेपालको सम्बन्ध राज्यराज्यबीचको मात्रै हो । चीनमा त्यहाँको सरकारभन्दा फरकमत राख्ने छुट छैन । चीनसँगको सम्बन्धमा जनसम्बन्धले खासै असर गर्दैन । किनभने चीनको शासकीय बनोट नै त्यस्तो छ । उता भारतसँगको सम्बन्धमा खुला सिमाना, भूगोल, सामाजिक अन्तरक्रिया, बहुतह र स्तरको आर्थिक क्रियाशीलता, धार्मिक आस्था, समान सभ्यता, सांस्कृतिक र ऐतिहासिक पक्ष र यससँग गाँसिएका मान्यताहरूले पनि भूमिका खेलेका हुन्छन् । यही कारण प्रधानमन्त्रीको अयोध्यासम्बन्धी अभिव्यक्तिको उनकै दलबाट विरोध भयो । दिल्लीले बन्दकोठाबाट जेजस्तो गोटी चाले पनि राजनीतिक नेतृत्वबाट जनसामान्यलाई बिझ्ने खालको अभिव्यक्ति आएको छैन । नेपालसँग सीमा जोडिएका भारतीय राज्यहरूमा समेत नेपाल विमर्श हुँदैन । भारतीय जनताहरू जहिले पनि नेपालका शासकभन्दा जनतालाई हेर्छन्, बुझ्छन् । यता नेपालतिर भारतसँगको सम्बन्धमा दिल्लीको शासक र काठमाडौंमा रहेका दूतलाई नै हेर्ने परिपाटी चलाइयो ।

यसको फेरि आफ्नै कथा–व्यथा छ । भारतको सरकार र जनताबीचको भिन्नता बुझ्नुपर्छ । सरकारहरू आउने र जाने गर्छन्, तीसँगै सम्बन्धमा आरोह र अवरोह आइराख्छ । मूल कुरा हो— जनता । राष्ट्रको भूभागसम्बन्धी विषय जहिले पनि संवेदनशील हुन्छ, यस्तो सवालमा समेत भारतीय संस्थापनसँग पृथक् मत राख्ने नागरिक समाज त्यही भारतभित्र छ । नेपालभित्र भने यदाकदा अति साधारण विषयलाई समेत सम्पूर्ण राष्ट्रको अस्तित्वसँग जोड्ने अनि तीसँगै राष्ट्रघात र राष्ट्रहितको जोखिमपूर्ण परीक्षामा कित्ताकाट गर्ने खेललाई नै राष्ट्रवादी राजनीति मान्ने गरिएको छ ।

अयोध्याको इतिहास आजको हैन, न त अहिलेको दिल्लीले सांस्कृतिक विस्तारका लागि अयोध्याको जग हालेको हो । जनआस्थाले जनकपुर र अयोध्याको अस्तित्व जोगाइरहेको हो । अयोध्याबारे नेपालका कुनै शोधकर्ता वा उत्खननको निष्कर्ष आएको छैन, त्यो नेपालभित्रै छ भनेर, न त कुनै लोकसाहित्यमै अभिरेखांकित छ । समाजको आस्थाभित्र अनैतिक किसिमले प्रवेश गर्नु ओलीको ‘मन की बात’ थियो, जसबाट जनसम्बन्धको एउटा आधार आस्थालाई मेट्न र राष्ट्रवादको नशामा लट्ठिएको वृत्तलाई भारतप्रतिको सम्मोहनबाट अलग गर्नु थियो । विश्वमा अनेक रामायण छन् । कैयौं भूगोलविशेषको मानसमा आफ्नै रामकथा छ । सीता–राम लीलासँग स्थानविशेषका सम्बन्धलाई गाँसेर हेर्ने गहिरो लोकपरम्परा रहिआएको छ । तर यसअघि कहिल्यै अयोध्या नेपालमै छ भन्ने सुनिएको थिएन ।

साँचो राष्ट्रियता त्यो हो, जसले आम जनताको आत्मीयता र आस्थालाई परिष्कार गर्दै स्वतन्त्रताको अनुभूति दिलाउन सक्छ । ओलीले भारतसँगको जनसम्बन्धका एकाइहरू खुला सिमाना, वैवाहिक सम्बन्ध, सीमा व्यवस्थापनमा सैनिकीकरण र साझा मानसका सूत्रहरूमाथि एकपछि अर्को प्रहार गर्दै आएका छन् । आफ्नो सत्तारोहण मधेस र भारतसँगको दूरीका आधारमा तय भएको स्व–निष्कर्षले गर्दा उनमा एक प्रकारको ईख पैदा भएको छ । उनले जसलाई राष्ट्रिय स्वार्थ र राष्ट्रवादी तुरूप भन्दै छन्, त्यो नितान्त उनकै दोषी चस्मा हो ।

भारतीय जनताले बुझ्न थालेको कुरा के हो भने, प्रत्येक नेपालीलाई आफ्नो स्वतन्त्रता, अस्तित्व र संघर्षप्रति गर्व छ । नेपालप्रति आम भारतीयको जनस्तरीय व्यापक दृष्टिकोणप्रति अहिलेको नेपाली नेतृत्व अनजान छ । ओलीको बोली र व्यवहारले पुर्खाको नासोका रूपमा सुरक्षित राख्नुपर्ने राजकीय अभिभारा रहेको जनसम्बन्धमा रिक्तता बढ्दै गएको छ । त्यस्तो खाडलको निर्माणलाई नै ओलीले आफ्नो सफलता ठान्दै छन् । जनसम्बन्धको थलोकिलो, यसको मर्म र महत्त्वको हरण गर्नु नै खड्गकालको पर्याय हुँदै छ । एक पलको चूकले गर्दा शताब्दियौंसम्म शोक मनाउने अवस्था आउने संकेत देखिँदै छ । कान्तिपुरबाट

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
पोर्चुगलमा ‘दोस्रो बुढासुब्बा कप’ फुटबल प्रतियोगिता हुने
२०८२ असार २४, मंगलबार
साउनमा पशुपतिनाथको दर्शनमा आउने भक्तजनका लागि महाशिवरात्रिकै जस्तो व्यवस्थापन गर्ने तयारी
२०८२ असार २४, मंगलबार
कुलिङ पिरियड गडबडी : समितिको नेतृत्वमाथि रास्वपाको असन्तुष्टि
२०८२ असार २४, मंगलबार
आजको मौसम : यी प्रदेशमा भारी बर्षाको सम्भावना
२०८२ असार २४, मंगलबार
प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची
२०८२ असार २४, मंगलबार
आज मंगलबार, गणेश भगवानको दर्शन गर्दै थाहा पाउनुहोस् तपाईंको राशिफल ?
२०८२ असार २४, मंगलबार
स्वास्थ्य उपचार र न्यायिक उपचारमा उल्झन
२०८२ असार २४, मंगलबार