असार २५, २०८२ बुधबार July 9, 2025

बेलायतको कन्जरभेटिभ पार्टीको नेतामा बदेनोच निर्वाचित

पूर्व अध्यागमनमन्त्री रोबर्ट जेनरिकसँगको प्रतिस्पर्धामा ४४ वर्षीय बदेनोचले ५७ प्रतिशत मत पाए

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

लण्डन, कात्तिक १७ गते। बेलायतको कन्जरभेटिभ पार्टीका तर्फबाट जुलाईमा भएको आम निर्वाचनमा पार्टीको खराब प्रदर्शनपछि राजीनामा दिएका ऋषि सुनकको स्थानमा शनिबार ‘एन्टी–वोक’ उम्मेदवार केमी बदेनोच चयन हुनुभएको छ।

जात, लिङ्ग र एलजिबिटी अधिकारको इन्कारजस्ता सामाजिक असमानताहरूको व्यापक जागरूकतालाई सन्दर्भित गर्न सन् २०१० पछि ‘एन्टी वोक’ अभियानको प्रयोग गरिन थालिएको थियो।

पूर्व अध्यागमनमन्त्री रोबर्ट जेनरिकसँगको प्रतिस्पर्धामा ४४ वर्षीय बदेनोचले ५७ प्रतिशत मत प्राप्त गर्नुभएको थियो।

पार्टी नेता निर्वाचित भएपछि उहाँले भन्नुभयो, “पार्टीको नेता बन्नु ठूलो सम्मानको कुरा हो, तर हाम्रो अगाडि उभिएको काम कठिन छ।”

“हामीले गल्ती गरेको तथ्यप्रति हामी इमानदार हुनुपर्छ र मानकहरू थप खस्किने अवस्थामा देखिएका छन्,” उहाँले भन्नुभयो। उहाँले भन्नुभयो, “यो व्यवसायमा जाने समय हो, नवीकरण गर्ने समय हो।’’

१४ वर्ष सत्तामा रहेर गत जुलाईमा सत्ताबाट हटेको विभाजित र कमजोर पार्टीलाई पुनः एकताबद्ध गर्ने चुनौतीपूर्ण कार्य अहिले जुझारु पूर्वमन्त्रीसमक्ष आएको छ।

ब्रेक्जिटका प्रमुख निगेल फराजको नेतृत्वमा रहेको दक्षिणपन्थी रिफर्म यूके पार्टीलाई समर्थन को प्रवाहलाई रोक्दै उनले जनताको विश्वास पुनः प्राप्त गर्ने रणनीति बनाउनुपर्छ।

दक्षिणपन्थी मञ्चमा अभियान चलाउनुभएका उहाँले टोरी सांसदहरूको पङ्क्तिमा भविष्यमा कठिनाइहरूको सम्भावनाको पनि सामना गरिरहनुभएको छ, जसमा धेरै मध्यमार्गीहरू पनि सामेल छन्।

नाइजेरियाली आमाबाबुको कोखबाट लन्डनमा जन्मिएकी र लागोसमा हुर्केकी बदेनोचले आफ्नो पार्टी लैङ्गिक पहिचानजस्ता सामाजिक मुद्दाहरूमा उदार बन्दै गएको आरोप लगाउँदै रूढिवादी मूल्यमान्यतामा फर्कन आह्वान गर्नुभएको छ। रासस/एएफपी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया