खोटाङ । दिप्रुङ चुइचुम्मा–४ बतासेका ३३ वर्षीय धनकुमार जोगी यतिबेला ‘फेरी’ लगाउन व्यस्त छन् । जोगी समुदायको परम्परा अनुसार फेरी लगाउन व्यस्त भएका हुन् ।
उनी कात्तिक र चैत गरी वर्षमा दुई चोटी फेरी लगाउने गर्छन् । यो बेला भैरुङ कुल देवताथानमा राखिएको बराठ बाजालाई पूजा आराधना गरेर फेरी लगाउन सुरु गरिने उनले बताए । ‘घरवालालाई रक्खे (रक्षा) होस्, चिताएको पुगोस्, भुत पिसाचले दुःख नदिओस् भनेर जप गरिन्छ’ उनले भने ।
रातीको जपनपछि बिहानपख घरवालाले इच्छा र गच्छे अनुसारको सिदा दिने चलन छ । घर लिप–पोत गरी चोखो–नितो गरेर दशाग्रह काटिन्छ भन्ने मान्यताका साथ सिदा दिने परम्परा छ । चामल, धान, मकै, कोदो, जौ, भटमास, आलु, घिउ, नुन, तेल, बेसार, पैसा दिने गरिन्छ । ‘उहिले–उहिले ओखर, कालो मास, कालो तिल, कालो धान, कालो कपडा, फलामको हतियारसहित भेटी दिने चलन थियो रे’ उनले भने–‘तर आजभोलि त्यो चलन हरायो ।’
धनबहादुरले १४ वर्षको उमेरदेखि नै फेरी लगाउन सुरु गरेको बताए । पाँच दाजुभाइमध्ये कान्छा भाइ नवराज र उनी यो पेशामा छन् । बाबु कृष्णबहादुर, बाजे अम्बरबहादुरले पनि यही पेसा अपनाएको उनी सुनाउँछन् । ‘बाजे बराजुको पालादेखि नै फेरी लगाउँदै आएका हो’ उनले भने–‘अबको पुस्ताले भने यो पेशा जोगाउछ–जोगाउँदैन भन्न सकिँदैन ।’
उनी लगायत गाउाका अन्य २२ जनाले यो परम्परागत पेशा अपनाएको उनले सुनाए । उनीहरूले क्षेत्र निर्धारण गरेर फेरी लगाउने गरेका छन् । ‘हाम्रो छुट्टा–छुट्टै क्षेत्र छ, मेरो दिक्तेल, नुनथला र साकेला गाउँपालिकामा पर्छ’ उनले भने–‘पहिलेदेखि नै क्षेत्र तोकेर फेरी लगाउने चलन रहेछ, त्यही अनुसार हामीले पनि क्षेत्र तोकेर फेरी लगाइरहेका छौं ।’
खोटाङको साकेला गाउँपालिका, दिप्रुङ चुइचुम्मा गाउँपालिका, खोटेहाङ गाउँपालिका, जन्तेढुङ्गा गाउँपालिका, भोजपुरको टेम्के मैयु गाउँपालिकासम्म फेरी लगाउन पुग्ने गरेका छन् । पृथ्वीनारायणले सूचना दिने कर्मचारीको रूपमा जोगीलाई खटाएको तर पछि संस्कृतिको रूपमा विकास भएको संस्कृतिविद् एवं मावनशास्त्री तथा समाजशास्त्री डा. विष्णु राईले बताए ।
‘सुरुमा चाहिँ पृथ्वीनारायण साहले जासुसको रूपमा खटाएको पाइन्छ’ राईले भने–‘पछि चाहिँ संस्कृतिको रूपमा विकास भयो ।’ कान्तिपुर
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया