मंग्सिर २४, २०८१ सोमबार December 9, 2024

उर्जामन्त्री खड्का र भारतका विद्युतमन्त्रीबीच भेटवार्ता

नेपाल–भारतबीचको विद्युत् आयत/निर्यात, बङ्गलादेशसँगको विद्युत् व्यापार, अन्तरदेशीय प्रसारण लाइन निर्माणलगायतका विषयमा छलफल

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्का र भारतका विद्युत् मन्त्री मनोहरलाल खट्टरबीच भेटवार्ता भएको छ । भारतको भ्रमणमा रहनुभएका मन्त्री खड्काले मङ्गलबार राती नयाँ दिल्लीमा भारतका विद्युतमन्त्री खट्टरसँग भेट गर्नुभएको हो ।

भेटमा नेपाल–भारतबीचको विद्युत् आयत/निर्यात, बङ्गलादेशसँगको विद्युत् व्यापार, अन्तरदेशीय ४०० केभी प्रसारण लाइन निर्माणलगायतका विषयमा छलफल भएको भेटमा सहभागी मन्त्रालयका ऊर्जा विज्ञ प्रबल अधिकारीले जानकारी दिनुभयो ।

यस्तै, भेटका क्रममा मन्त्री खड्काले अरुण करिडोरको ट्रान्समिसन लाइन चाँडो निर्माण गर्न र पञ्चेश्वर परियोजनालाई अगाडि बढाउन भारतसमक्ष प्रस्ताव राख्नुभएको थियो । भेटमा भारतका विद्युतमन्त्री खट्टरले नेपालका ठूला विद्युत् आयोजना निर्माणमा भारतको साथ र सहयोग रहेको बताउनुभएको थियो ।

बैठकमा नेपालका ऊर्जा मन्त्रालयका ऊर्जा विज्ञ अधिकारी र भारतीय विद्युत् मन्त्रालयका सचिव पंकज अग्रवालले दुई मन्त्रीले उठाएको विषयलाई व्याख्या गर्नुभएको थियो । भेटमा भारतका मन्त्रीसँगै विद्युत् मन्त्रालयका सचिव अग्रवाल, केन्द्रीय विद्युत् प्राधिकरणका प्रमुख इन्जिनियर बीएस वैरवालगायत भारतीय उच्च अधिकारीहरूको सहभागिता रहेको थियो ।

यस्तै, नेपालको तर्फबाट मन्त्री खड्कासँगै मन्त्रालयका वरिष्ठ ऊर्जा विज्ञ अधिकारी, विद्युत् विकास विभागका महानिर्देशक नविनराज सिंह, उर्जामन्त्रीका आर्थिक सल्लाहकार अमित श्रेष्ठसँगै नयाँदिल्लीस्थित नेपाली राजदूतावासका प्रतिनिधिको सहभागिता रहेको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया