असार २५, २०८२ बुधबार July 9, 2025

उपनिर्वाचनमा कांग्रेसलाई आफ्नो विरासत जोगाउने चुनौती

मोरङको ग्रामथान गाउँपालिका अध्यक्षमा कांग्रेसले बलराम सरदारलाई उम्मेदवार बनाउने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । आउँदो स्थानीय तहको उपनिर्वाचनमा नेपाली कांग्रेसलाई आफ्नो विरासत जोगाउनुपर्ने चुनौती देखिएको छ । २०७९ सालको निर्वाचनपछि रिक्त ४२ वटा स्थानीय तहमा यही १६ मंसिरमा उपनिर्वाचन हुँदै छ । रिक्त स्थानमध्ये अधिकांश स्थानीय तह नेपाली कांग्रेसले जितेका स्थान हुन् ।

२०७९ सालमा स्थानीय तहको निर्वाचनमा ठूला राजनीतिक दलहरू आपसमा गठबन्धन गरेर निर्वाचन लडेका थिए । यसपटक यी ठूला दलले एक्लाएक्लै उपनिर्वाचनमा उम्मेदवारी दिने भएका छन् । यो उपनिर्वाचन दलहरूको शक्ति परीक्षण गर्ने समय पनि भएकाले सबै दल गृहकार्यमा लागेका छन् । रिक्त भएका स्थानीय तहको तथ्यांक हेर्दा एक नगरप्रमुख, एक उपप्रमुख, दुई गाउँपालिका अध्यक्ष, दुई उपाध्यक्षमा कांग्रेसबाट जनप्रतिनिधि निर्वाचित भएका थिए ।

त्यस्तै, नेकपा (माओवादी केन्द्र)बाट निर्वाचित जनप्रतिनिधि रहेका दुई गाउँपालिकाको उपाध्यक्ष पद रिक्त छ । सो गाउँपालिकामा पनि उपनिर्वाचन हुँदै छ । १६ मंसिरमा ३४ वडाध्यक्ष पदका लागिसमेत उपनिर्वाचन हुँदै छ । तीमध्ये काठमाडौं महानगरपालिका–१६ पनि एक हो । काठमाडौं–१६ कांग्रेसले जितेको थियो । वडाध्यक्षमा निर्वाचित मुकुन्द रिजालको निधनपश्चात् सो पद रिक्त छ । २१ भ्दौ २०८० मा रिजालको निधन भएको थियो ।

यसअघि माओवादी केन्द्रले कतिपय ठाउँमा एक्लै र धेरै ठाउँमा नेपाली कांग्रेससँग गठबन्धन गरेर निर्वाचन लडेको थियो । अहिले माओवादीले स्थानीय तहमा एक्लै निर्वाचन लड्नुपर्नेछ । आफूले जितेका स्थानीय तहमा यसपटकको उपनिर्वाचनमा जित्नैपर्ने बाध्यता माओवादीलाई पनि छ ।

रिक्त भएको काठमाडौंको कीर्तिपुर नगरपालिकामा कांग्रेसबाट राजकुमार नकर्मीले जितेका थिए । मिर्गौलासम्बन्धी रोगका कारण नकर्मीको १० साउन २०८१ मा निधन भएपछि सो ठाउँमा उपनिर्वाचन हुन लागेको हो । यसपटक कांग्रेसले कसलाई उम्मेदवार सिफारिस गर्छ सोहीनुसार निर्वाचन परिणाम आउनेछ । कांग्रेसले नगरसभापति कृष्णमान डंगोलसहित बद्रीलाल महर्जन, हिमाल कार्की, जमुना नकर्मी, संगीत बोगटी, सशीर महर्जन, राममान सिंह, जनकलाल महर्जन, मीनप्रकाश महर्जन, किरण केसी र सचिन्द्र महर्जनको नाम सिफारिस गरेको छ ।

नेकपा एमालेले डा. सुरेन्द्र मानन्धरलाई अघि सारेको छ । माआवादीले प्राध्यापक डाक्टर शिवशरण महर्जनलाई उमेदवार बनाउने निर्णय गरेको छ । कीर्तिपुर नगरपालिकामा १ र ४ नम्बरको वडाध्यक्ष पदका लागि पनि उपनिर्वाचन हुँदै छ । २०७९ सालको निर्वाचनमा तत्कालीन कांग्रेसका उम्मेदवार नकर्मीले ९ हजार ४३ मत प्राप्त गरेर विजयी भएका थिए । उनका निकटम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार केशरत्न बज्राचार्यले ५ हजार ५ सय ७ मत पाएका थिए । साथै, तेस्रोमा माओवादी केन्द्रका शिवशरण महर्जनले ४ हजार ९० मत प्राप्त गरेका थिए ।

त्यस्तै, कांग्रेसले दैलेखको महाबु गाउँपालिका अध्यक्षका लागि झलकबहादुर भण्डारीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । सो गाउँपालिकाको अध्यक्ष पद यसअघि नेपाली कांग्रेसले जितेको थियो । गाउँपालिका अध्यक्ष लछुमन गुरुङको २७ माघ २०७९ मा हृदयाघातका कारण निधन भएपछि सो स्थान रिक्त छ ।

कांग्रेस उम्मेदवार गुरुङले एमालेका हरिप्रसाद उपाध्यायलाई पराजित गर्दै पालिका अध्यक्ष बनेका थिए । गुरुङ ४ सय ६० मतान्तरले निर्वाचित भएका थिए । उनले २ हजार ९ सय ७९ र उपाध्यायले २ हजार ५ सय १९ मत पाएका थिए ।

यस्तै, दोलखाको गौरीशंकर गाउँपालिकामा पनि उपाध्यक्ष पदका लागि उपनिर्वाचन हुँदै छ । सो ठाउँमा कांग्रेसका तर्फबाट श्यामसुन्दर तामाङ निर्वाचित भएका थिए । ३१ असार २०८० मा हृदयाघातका कारण तामाङको निधन भएपछि उपाध्यक्ष पद रिक्त भएको हो । कांग्रेसले रिक्त स्थानमा बाग्मती प्रदेश महिला विभागकी सदस्य रहेकी पासाडिकी तामाङलाई उम्मेदवार बनाउने भएको छ । नेकपा एमालेले भने उपाध्यक्ष पदका लागि उमा शेर्पालाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

कांग्रेस–माओवादी गठबन्धनबाट निर्वाचित तामाङले ४ हजार ७ सय ४१ मत ल्याएका थिए । निकटतम प्रतिस्पर्धी एमालेकी मुना शिवाकोटीले ३ हजार २ सय ८१ मत ल्याएकी थिइन् । राप्रपाकी यशोदा पाठकले २४ मत पाएकी थिइन् ।

यस्तै, मोरङको ग्रामथान गाउँपालिका अध्यक्षमा कांग्रेसले बलराम सरदारलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । पालिका अध्यक्ष जयप्रकाश गच्छदारको हृदयाघातका कारण निधनपश्चात सो पद रिक्त छ । ३ असार २०८१ मा गच्छदारको निधन भएको थियो । एमालेले भने अध्यक्षमा ११ जना आकांक्षीको नाम सिफारिस गरेको छ । एमाले ग्रामथान गाउँ कमिटीले अध्यक्षका लागि ११ जना आकांक्षी देखिएपछि उनीहरूको नाम जिल्ला कमिटीमा सिफारिस गरेको हो ।

सो गाउँपालिकामा कांग्रेसका गच्छदारले ७ हजार ६ सय ५ मत ल्याएर विजयी भएका थिए । उनका निकटतम प्रतिस्पर्धी एमालेका शिवनारायण माझी थारूले ६ हजार ९३ मत ल्याएका थिए । उनीहरूबीचको मतान्तर १ हजार ५ सय १२ थियो । त्यहाँ माओवादी केन्द्रका विजयकुमार सरदारले २ हजार ७ सय २७, राप्रपाका पखुलाल विश्वासले ४ सय ४७, एकीकृत समाजवादीका राकेश चौधरीले १ सय ३९ मत पाएका थिए । यस्तै, जनमत पार्टीका उमेदवार पञ्चनारायण चौधरी थारूले ९८, नेमकिपाका मनोजकुमार चौधरीले ४ मत प्राप्त गरेका थिए ।

यस्तै, जाजरकोटको नलगाड नगरपालिकाको उपप्रमुखमा कांग्रेसले इन्द्राचन्द्र सिंहलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । यसअघि कांग्रेसबाट निर्वाचित नलगाड नगरपालिकाकी उपप्रमुख सरिता सिंहको भूकम्पमा परी मृत्यु भएपछि सो पद रिक्त छ । १७ कात्तिक २०८० को भूकम्पमा उनको निधन भएपछि सो पद रिक्त छ । कांग्रेसका तर्फबाट निर्वाचित सिंहले ५ हजार ४ सय ६ मत ल्याएकी थिइन् । निकटतम प्रतिस्पर्धी एमालेकी सुनिता बोहराले ३ हजार ३ सय ९३ मत पाएकी थिइन् । यस्तै, नेकपा एमालेले सो नगरपालिकाको रिक्त उपप्रमुखको उम्मेदवार सुनिता बोहरलाई बनाउने निर्णय गरेको छ ।

हुम्लाको सर्केगाड गाउँपालिकाको उपाध्यक्ष पद पनि रिक्त छ । माओवादीका तर्फबाट उपाध्यक्षमा निर्वाचित चन्द्रसिंह कार्कीको निधनपश्चात सो पद रिक्त भएको हो । ४ भदौ २०८१ मा सवारी दुर्घटनामा परी कार्कीको निधन भएको थियो ।

स्थानीय तह निर्वाचनमा सो पालिकामा कांग्रेस–माओवादी गठबन्धन थियो । कार्कीले ३ हजार २ सय ६९ मत ल्याएका थिए । एमालेकी जुनकुमारी फडेरा १ हजार ६४ मत ल्याएर पराजित भएकी थिइन् ।

यस्तै, बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकाको उपाध्यक्ष पद पनि रिक्त छ । कांग्रेसका तर्फबाट उपाध्यक्षमा निर्वाचित मैना जोशीको निधनपश्चात सो पद रिक्त भएको हो । ४ माघ २०८० मा जोशीको निधन भएको थियो । उनले एमालेकी सुलोचनाकुमारी भण्डारीलाई पराजित गरेकी थिइन् ।

जोशीले १ हजार ८ सय १० मत प्राप्त गरेकी थिइन् । भण्डारीले १ हजार ६ सय ३७ मत ल्याएकी थिइन् । उनीहरूबीचको मतान्तर जम्मा १ सय ७३ थियो । त्यहाँ माओवादीका सुरेशबहादुर रोकायाले १ हजार २ सय १३ मत प्राप्त गरेका थिए ।

यस्तै, रुकुम पूर्वको पुथाउत्तरगंगा गाउँपालिकाको उपाध्यक्ष पदका लागि पनि उपनिर्वाचन हुँदै छ । स्थानीय तह निर्वाचनमा माओवादीका तर्फबाट निर्वाचित उपाध्यक्ष भूपेन्द्रा बुढामगरको निधन भएपछि सो पद रिक्त छ । गत २८ भदौमा सवारी दुर्घटनामा परी उनको निधन भएको थियो ।

२०७९ सालको निर्वाचन जितेर उपाध्यक्ष बनेकी बुढाले ४ हजार ५९ मत ल्याएकी थिइन् । निकटतम प्रतिस्पर्धी कांग्रेसकी कमलाकुमारी मल्लले २ हजार १०, एमालेकी धर्म घर्ती बुढाले १ हजार ८ सय १२ मत पाएकी थिइन् । राजधानी 

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
विपक्षी दलको विरोधका कारण प्रदेशसभा बैठक अवरुद्ध
२०८२ असार २५, बुधबार
उपराष्ट्रपति यादव र फ्रान्सेली राजदूतबिच शिष्टाचार भेट
२०८२ असार २५, बुधबार
‘पार्टी नेतृत्वको विषयमा छलफल गर्ने बेला भएको छैन’ – महासचिव पोखरेल
२०८२ असार २५, बुधबार
स्पेन भ्रमणलाई लिएर फैलिएको भ्रमप्रति परराष्ट्र मन्त्रालयको आपत्ति, भ्रामक समाचारमा विश्वास नगर्न आग्रह
२०८२ असार २५, बुधबार
राप्रपा अनुशासन आयोगमा कार्की, प्रवक्ता लावती पदमुक्त
२०८२ असार २५, बुधबार
पोखरा विश्वविद्यालयको सिनेटः एक अर्ब ५४ करोडको बजेट पारित
२०८२ असार २५, बुधबार
त्रिविका नवनियुक्त उपकुुलपतिले लिए पद तथा गाेपनियताको सपथ
२०८२ असार २५, बुधबार