काठमाडौं : अमेरिकाको राष्ट्रपतिमा डोनाल्ड ट्रम्प निर्वाचित भएलगत्तै बुधबार डलरको मूल्य अहिलेसम्मकै उच्च भयो। नेपाली रुपैयाँ कमजोर भयो।
जबकि पाँच महिनादेखि अमेरिकी डलरको बिक्री मूल्य १३४ रुपैयाँ आसपासमा चलिरहेको थियो। तर नेपाल राष्ट्र बैंकले बिहीबार जारी गरेको दररेटअनुसार अमेरिकी डलरको बिक्री मूल्य ह्वात्तै बढेर १३५.१६ पुग्यो। खरिद मूल्य १३४.५६ रुपैयाँ छ। डलर महँगो हुँदा मुलुकको अर्थतन्त्रमा प्रत्यक्ष प्रभाव पर्ने विज्ञहरू बताउँछन्। डलरको मूल्यसँगै युरोको बिक्री मूल्य १४४.८६ र खरिद मूल्य १४४.२१ निर्धारण गरिएको छ।
यसैगरी, पाउन्ड स्टर्लिङको बिक्री मूल्य १७३.९७ र खरिद मूल्य १७३.२० निर्धारण गरिएको छ। यससँगै, अस्ट्रेलियन डलको बिक्री मूल्य ८८.७३ र खरिद मूल्य ८८.३३ रुपैयाँ पुगेको छ। २०७९ असोजदेखि डलरको मूल्य निरन्तर उकालो लागेको थियो। त्यतिबेला एक अमेरिकी डलरको बिक्री दर अर्थात् विनिमय दर १३०.०९ पुगेको थियो । यस्तै खरिद दर भने १३०.०३ पैसा पुगेको थियो।
डलर बलियो हुँदा मुलुकमा भित्रिने रेमिट्यान्समा अझै वृद्धि हुने औंल्याउँछन्, बैंकविज्ञ, अनलराज भट्टराई। नेपाल रेमिट्यान्स केन्द्रित मुलुक भएकाले थुप्रै रकम बाहिरबाटै आउँछ। बैंकविज्ञ भट्टराई भन्छन्, ‘अब वैदेशिक रोजगारमा गएका नेपालीले पठाउने रेमिट्यान्स केही हदसम्म बढ्छ। एक हिसाबले यो फाइदा नै हुन्छ। पहिला प्रतिडलर १३४ रुपैयाँ हाराहारीमा आइरहेको रेमिट्यान्स अब १ डलरको १३५ रुपैयाँ हुँदा धेरै फरक पर्छ।’ जबकि अहिले नेपालमा रेमिट्यान्स महिनैपिच्छे वृद्धि भएर विदेशी मुद्रा सञ्चिति पर्याप्त हुन थालेको छ।
डलरको विनिमय दर बढ्दा रेमिट्यान्स आउने देशलाई फाइदै हो तर आयातमुखी देश भएकाले वस्तु तथा सेवा महँगो पर्न जाने र मूल्यवृद्धि हुने उनले गराए। ‘यसले सरकारको राजस्व केही हदसम्म त बढ्छ । तर यसबाट मूल्यको चाप आम उपभोक्तालाई पर्ने भएकाले मारमा सर्वसाधारण पर्छन्,’ बैंक विज्ञ भट्टराईले अन्नपूर्णसँग भने।
अमेरिकामा ट्रम्प नेतृत्वको सरकार आएसँगै अब वैदेशिक नीतिहरू कस्तो आउँछ। विभिन्न मुलुकमा भएको द्वन्द्व कस्तो हुन्छ भन्नेमा पनि डलरको विनिमय दर सोहीअनुसार घटबढ हुने उनको भनाइ छ। डलर बढेपछि सुनको मूल्य भने एक्कासि घटेको छ। अमेरिकामा ट्रम्प निर्वाचित भएपछि अन्तर्राष्ट्रिय बजार स्थिरतातिर जान सक्ने र जियोपोलिटिकल विषयले पनि निकासा पाउन सक्ने अनुमानले गर्दा पनि यस्तो अवस्था देखिएको विज्ञहरू बताउँछन्। अन्नपूर्णपोष्ट
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया