कार्तिक ११, २०८३ बुधबार October 28, 2026

बत्तिस वर्षपछि पनि उत्तिकै लोकप्रिय ‘कन्दरा’

वार्षिक उत्सव मनाउने क्रममा कन्दराले विश्वव्यापी अभियान स्वरुप “पहिले घर देश, अनि परदेश” सांगीतिक यात्रा सुरु गर्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौं। २६ वर्षअघिको कुनै दिन। सरुभक्त श्रेष्ठका रचनाहरु कन्दरा ब्यान्डका ‘भोकलिस्ट’ विवेक श्रेष्ठको हातमा पर्‍यो। जुन रचना पढ्यो उत्तिकै लोभ लाग्दो।

कुन रोज्ने, कुन छोड्ने रु गीत छनोटमा उनी दुविधामा परे। तिनै रचना मध्ये, ‘हङकङ पोखरा निर्मोही आफ्नो को छ र रु’ बोलको गीतमा गायक श्रेष्ठको नजर पर्‍यो।

सोही गीत छनोट गरी गाए। जुन गीतले सोच्दै नसोचेको सफलता प्राप्त गर्‍यो। उक्त गीत हालसम्म पनि श्रोतामाझ उत्तिकै लोकप्रिय छ। श्रेष्ठ भन्छन्, “ऊ बेला काँचै उमेरको थिएँ। विदेसिनु के हो थाहा थिएन। ख्यालख्यालैमा रोजेर गाएको गीत अहिलेसम्म सदावहार छ।”

श्रेष्ठले कन्दरा ब्यान्डका हरेक गीतमा यस्तै कथा र व्यथा समेटिएको बताए। नोस्टाल्जिक हुँदै उनले भने, “आफैं विदेसिएपछि मात्रै यो गीतको मर्म महसुस गरें।”

युवा विदेसिनुको घाउ दिनानुदिन चर्कँदै छ। यस गीतको लोकप्रियता युवा माझ कति थियो भन्ने कुरा गत शनिबार मात्रै ठमेलस्थित एलओडी क्लबमा कन्दरा व्यान्डको कन्सर्टमा झल्कियो।

३२ वर्ष पुरानो यो ब्यान्डको ओझले दर्शक तानिएकै थिए। जब ‘हङकङ पोखरा’ गीत गायक विवेक श्रेष्ठले गाए। त्यसपछि दर्शकको उत्साहको सीमा रहेन। ‘वान्समोर’सँगै विवेकले त्यही गीत दोहोर्‍याएर गाउन बाध्य भए।

‘विदेसिनु लेखियो कर्मैमा
भाला रोपी नबोल मर्मैमा
जीउ त हैन ढुङ्गाको छपनी
आउँला माया नमरे म पनि
हङकङ पोखरा निर्माही आफ्नो को छ र ?’

गायक श्रेष्ठले युवाको मन छुने गीतमध्ये यो निकै रुचाइएको बताए। विभिन्न कन्सर्टहरुमा प्रायः यही गीतको फर्माइस हुन्छ। विदेशमा होस् या स्वेदशमा, हङकङ पोखरा रोजाइमा पर्छ।

“यो गीत मनपराउनुको खासियत प्रष्ट छ”, श्रेष्ठ भन्छन्, “दिनप्रति दिन युवाहरु पलायन हुने क्रम बढ्दो छ। यो गीतमा आफ्नै कथा पाउँछन्। त्यसैले रुचाइएको हुनुपर्छ।” हङकङ पोखराले समाजको जीवन्तता समेटे जस्तै कन्दरा ब्यान्डको इतिहास पनि रचेको छ।

सन् १९९० को प्रारम्भमा पोखरामा स्थापित कन्दरा ब्यान्डले निरन्तर पप र आधुनिक गीत संगीतको फ्युजनमार्फत युवा माझ बेग्लै छाप छोड्न सफल भएको छ। वर्ष गाँठको अवसरमा ब्यान्डले पहिलो पटक काठमाडौँमा कन्र्सट गरेको गायक श्रेष्ठले बताए।

“कन्दराका यस्ता अरु गीत पनि छन्, जुन सधैँ ताजा र जवान छन्”, उनले भने, “नेपाली माटोका सुगन्ध समेटिएका गीत भएकाले स्रोताले हामीलाई अझै उत्तिकै माया गरिरहेका छन्।” यिनै कथा व्यथाको उत्सव मनाउन यति बेला कन्दरा व्याण्डले ३२ वर्षपछि वार्षिक उत्सव मनाएको श्रेष्ठले बताए।

कन्दराका गायक विवेक श्रेष्ठसहित गितारमा देव लामा, बेसिस्टमा पंकज झा, ड्रमरमा सुनिल थापा, मादलमा अविनाश गायक र किबोर्डमा नील घतानी मञ्चमा प्रस्तुत भएका थिए। कन्दराले ‘तगारोमा रुमाल राखी बाटो छेकिन उनले’, ‘तिमी परी’, ‘लेककी हे माया’, ‘विदेसिएर गइन् उनी’, ‘हङकङ पोखरा’ जस्ता चर्चित गीत प्रस्तुत गरेको थियो।

आफ्ना गीतसँगै कन्दराले गोपाल योञ्जन, रञ्जित गजमेर लगायतका पाका पुस्ताका गीतसमेत प्रस्तुत गरेको थियो। वार्षिक उत्सव मनाउने क्रममा कन्दराले विश्वव्यापी अभियान स्वरुप “पहिले घर देश, अनि परदेश” सांगीतिक यात्रा सुरु गर्न लागेको हो। यो अभियान नेपाली संगीतलाई नेपालमा मात्र नभई अन्तर्राष्ट्रियस्तरमा पनि प्रवर्द्धन गर्ने उद्देश्य रहेको गायक श्रेष्ठले बताए।

उनका अनुसार नेपाली संस्कृतिको गहिराइ देखाउने उद्देश्यका साथ यो भ्रमण सन् २०२५ को जनवरीमा बेलायत र दुबई, फेब्रुअरीमा जापान, मार्च र अप्रिलमा अस्ट्रेलिया र न्यूजिल्याण्ड, मेमा अमेरिका, जुनमा क्यानडा र अन्तमा जुलाईदेखि अगस्टसम्म युरोपमा सम्पन्न हुनेछन्। रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
महिला, शान्ति र सुरक्षा एजेन्डालाई अगाडि बढाउन प्रयास गर्न राष्ट्रसङ्घ प्रमुखको आह्वान
२०८३ कार्तिक ११, बुधबार
स्थानीय तहको निर्वाचनलाई गैरदलीय बनाउन उज्यालो नेपालको ध्यानाकर्षण
२०८३ कार्तिक ११, बुधबार
परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट
२०८३ कार्तिक ११, बुधबार
भारत–पाकिस्तान द्वन्द्व रोक्न भूमिका खेलेको ट्रम्पको दाबी
२०८३ कार्तिक ११, बुधबार
Birgunj customs revenue surpasses monthly target
२०८३ कार्तिक ११, बुधबार
शिक्षक सेवा आयोगद्वारा छ हजार शिक्षकको बढुवा पुनरावलोकन हुँदै
२०८३ कार्तिक ११, बुधबार
दशौँ राष्ट्रिय खेलकुदका लागि जिल्लामा खेलाडी छनोट
२०८३ कार्तिक ११, बुधबार