असार २५, २०८२ बुधबार July 9, 2025

त्रिवि सेवा परीक्षा सञ्चालनमै सकस, उपप्राध्यापक छान्न लोक सेवा

आंशिक प्राध्यापकको आन्दोलनको डरकै कारण खुला प्रतिस्पर्धाबाट पछी हट्यो त्रिवि

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः  शिक्षक, विद्यार्थी र कर्मचारी आन्दोलनका कारण थिलोथिलो बनेको त्रिभुवन विश्वविद्यालय (त्रिवि) पछिल्लो समय आफैँलाई आवश्यक उपप्राध्यापक तथा कर्मचारी छनोटका लागि परीक्षा सञ्चालन गर्नसमेत असमर्थ बनेको छ । आंशिक प्राध्यापकको आन्दोलनको डरकै कारण खुला प्रतिस्पर्धाबाट छनोट गर्न लागेको उपप्राध्यापक पदको परीक्षा सञ्चालनको जिम्मेवारी त्रिविले लोक सेवा आयोगलाई दिएको छ ।

आफ्नै सेवा आयोग भए पनि आफूले परीक्षा सञ्चालन गर्दा असुरक्षित तथा अमर्यादित हुन सक्ने देखेपछि त्रिविले यी पदको परीक्षा सञ्चालनको जिम्मेवारी आयोगलाई दिएको हो । यसअघि त्रिविले आवश्यक पर्ने सम्पूर्ण जनशक्ति भर्नाको काम त्रिवि सेवा आयोगमार्फत गर्दै आएको थियो ।

त्रिविमा पछिल्लो समय २०७७ सालमा उपप्राध्यापक पदका लागि खुला आवेदन आह्वान गरिएको थियो । उक्त आवेदन अनुसार अहिलेसम्म लिखित परीक्षा सञ्चालन गर्न सकिएको छैन । विगतमा आफैँले परीक्षा सञ्चालन गर्न खोज्दा शिक्षक तथा विद्यार्थीको समूहले विभिन्न माग तेस्र्याएर परीक्षा बिथोल्न खोज्ने तथा सेवा आयोगको कार्यालयमा तालाबन्दी नै गर्ने क्रम चलेपछि यस्तो निर्णय लिइएको त्रिविका शिक्षाध्यक्ष प्राडा खड्ग केसीले बताए  ।

त्यतिखेर मानविकी तथा सामाजिकशास्त्र, शिक्षाशास्त्र, व्यवस्थापन, विज्ञान तथा प्रविधि, इन्जिनियरिङ, चिकित्सा, वन विज्ञानलगायतका सङ्कायका लागि कुल ५८१ वटा उपप्राध्यापक दरबन्दीका लागि खुला विज्ञापन आह्वान गरिएको थियो । उक्त विज्ञापन अनुसार २०७७ सालमै परीक्षा सञ्चालन गर्न खोज्दा विश्वविद्यालयमा कार्यरत आंशिक प्राध्यापकले आन्दोलन गरेपछि रोकिएको थियो ।

संविधानमा भने विश्वविद्यालय र शिक्षक सेवा आयोगको परीक्षा सञ्चालनमा लोक सेवाको संलग्नता नरहने स्पष्ट छ । संविधानको धारा २४३ मा लोक सेवा आयोगको काम कर्तव्य र अधिकार उल्लेख छ । त्रिवि सेवा आयोग कार्यालयका प्रमुख केदार ढकालले भने अहिलेको विशेष परिस्थितिमा मात्रै लोक सेवालाई परीक्षा सञ्चालनको जिम्मेवारी दिएको बताए । आफूहरूलाई करारमा नियुक्त गर्नुपर्ने माग गर्दै त्रिविमा कार्यरत आंशिक प्राध्यापकहरू लामो समयदेखि आन्दोलनमा छन् । पछिल्लो समय आंशिक प्राध्यापकलाई करारमा नियुक्त गर्ने विषयमा कार्यदल बनाएर त्रिविले क्याम्पस तथा विभागहरूमा अध्ययन गरिरहेको छ ।

खुला प्रतिस्पर्धाबाट उपप्राध्यापक तथा कर्मचारी छनोटको काम रोकिएपछि त्रिविले फेरि तत्काल ठुलो सङ्ख्यामा उपप्राध्यापक तथा कर्मचारी भर्नाको आवेदन खुलाउने तयारी गरेको छ । शिक्षाध्यक्ष प्राडा खड्ग केसीका अनुसार झन्डै सात सयको सङ्ख्यामा उपप्राध्यापक तथा कर्मचारी भर्ना आह्वान हुँदै छ । पछिल्लो २०७७ सालमा आह्वान गरिएको विज्ञापन अनुसार पनि आवेदन दिएकामध्ये अति न्यून मात्रामा मात्रै उम्मेदवार परीक्षामा सहभागी भएका छन् ।-गोरखापत्र दैनिक

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
विपक्षी दलको विरोधका कारण प्रदेशसभा बैठक अवरुद्ध
२०८२ असार २५, बुधबार
उपराष्ट्रपति यादव र फ्रान्सेली राजदूतबिच शिष्टाचार भेट
२०८२ असार २५, बुधबार
‘पार्टी नेतृत्वको विषयमा छलफल गर्ने बेला भएको छैन’ – महासचिव पोखरेल
२०८२ असार २५, बुधबार
स्पेन भ्रमणलाई लिएर फैलिएको भ्रमप्रति परराष्ट्र मन्त्रालयको आपत्ति, भ्रामक समाचारमा विश्वास नगर्न आग्रह
२०८२ असार २५, बुधबार
राप्रपा अनुशासन आयोगमा कार्की, प्रवक्ता लावती पदमुक्त
२०८२ असार २५, बुधबार
पोखरा विश्वविद्यालयको सिनेटः एक अर्ब ५४ करोडको बजेट पारित
२०८२ असार २५, बुधबार
त्रिविका नवनियुक्त उपकुुलपतिले लिए पद तथा गाेपनियताको सपथ
२०८२ असार २५, बुधबार