मंग्सिर २१, २०८१ शुक्रबार December 6, 2024

मिश्रित निर्वाचन प्रणालीलाई संशोधन गर्न आवश्यक – डा. प्रकाश महत

प्रजातन्त्रको विकल्प प्रजातन्त्र नै भएकाले कांग्रेस जनताको मालिक नभई सेवक भएर प्रस्तुत हुन आग्रह

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । नेपाली कांग्रेसका नेता डा.प्रकाशशरण महतले मिश्रित निर्वाचन प्रणालीलाई संशोधन गर्न आवश्यक भएको बताएका छन् । नेपाली कांग्रेस वीपी स्मृति प्रतिष्ठान गण्डकी प्रदेशद्वारा पोखरामा आयोजित डा. महतद्वारा लिखित ‘नेपाली कांग्रेस र राष्ट्र निर्माण’ नामक पुस्तकको परिचर्चा कार्यक्रममा पार्टी प्रवक्तासमेत रहेका डा. महतले समावेशितासहितको प्रत्यक्ष निर्वाचन आवश्यक रहेकाले मिश्रित निर्वाचन प्रणाली संशोधन गर्नुपर्ने आवश्यकता औँल्याएका हुन् ।

यो पुस्तक वीपी कोइराला स्कुल अफ पब्लिक पोलिसीद्वारा सन् २०२१ मा पहिलो पटक प्रकाशन भएको थियो । डा. महतले वीपीको आर्थिक नीतिको चिन्तनसँग वर्तमान आर्थिक नीतिलाई जोड्दै कांग्रेस अगाडि बढ्नुपर्नेमा जोड दिए ।

तत्कालीन समयमा वीपीले समाजवादी अर्थतन्त्रलाई अगाडि बढाउँदै विपन्न वर्गको जीवनस्थल उकास्ने काममा सक्रिय रहेको जानकारी दिँदै उनले त्यसबेला कृषिमा आधारित अर्थतन्त्र थियो भने अहिले उद्योगमा भएको उल्लेख गरे ।

विसं २०१२ मा वीपीले प्रजातान्त्रिक समाजवादलाई अँगाल्दै आर्थिक नीतिलाई अगाडि सार्नुभएकाले कांग्रेसले वीपीको बाटोलाई छाड्न नहुने नेता डा. महतले धारणा राखे । ‘युवालाई आर्थिक उपार्जनसँग जोडेर अगाडि बढ्नु वर्तमान समयको आवश्यकता हो’, उनले भने, ‘प्रजातान्त्रिक समाजवाद बिना आर्थिक समृद्धिको कल्पना गर्न सकिँदैन।’

पार्टीको आन्तरिक कारणबाट निर्वाचनमा पराजय हुन नदिन पार्टीका नेता तथा कार्यकर्ता एकजुट भएर जनताको सेवामा जुट्नुपर्नेमा नेता महतको जोड छ । विसं २०८४ को निर्वाचनमा नेपाली कांग्रेसलाई बहुमतमा पु¥याउन पार्टीका नेता तथा कार्यकर्ता सकारात्मक ऊर्जाका साथ जनतामाझ जानुपर्ने उनले सुझाव दिए ।

कांग्रेसले प्रजातन्त्रमा विश्वास राख्ने भएकाले पार्टीप्रति नेपाली आमजनताको विश्वास कायम रहेको बताउँदै उनले जनता केन्द्रित भएर विकास, निर्माण सबै लाग्नुको विकल्प नभएको बताए ।

नेपाली कांग्रेस गण्डकी प्रदेशका सभापति शुक्रराज शर्माले कांग्रेसले आफूलाई चिन्न नसक्दा पार्टी कमजोर हुँदै गएको बताए ।

कांग्रेसले आफ्नो पहिचान बिर्सन नहुने भन्दै उनले प्रजातन्त्रको विकल्प प्रजातन्त्र नै भएकाले कांग्रेस जनताको मालिक नभई सेवक भएर प्रस्तुत हुन उनले आग्रह गरे ।

डा. महतद्वारा लिखित उक्त पुस्तकका प्रमुख परिचर्चाकार प्रा.डा. यादव शर्मा गौडेलले आर्थिक समानताले समाजको उत्पादन सम्भावनालाई उजागर गर्ने हुँदा आर्थिक वृद्धिको प्रमुख सर्तका रुपमा लिन सकिने बताए ।

पुस्तकमा विसं २०१५ पछि कांग्रेसको सरकार बनेपछि राणाहरुको सम्पत्ति सरलीकरण गर्नु, वन नीतिमा सुधार, वार्षिक बजेटमा विकासतर्फ ४७.६ प्रतिशत गरी वृद्धि, कृषिमा आत्मनिर्भरता, साना उद्योगहरुको विस्तार, भूमि सुधार, शिक्षा तथा स्वास्थ्यमा सुधार, यातायात, सञ्चार र पूर्वाधार विस्तारमा विकास भएको उल्लेख भएको जनाउँदै उनले त्यतिबेला पनि आर्थिक नीतिलाई सही आकार दिएको पुस्तकमा उल्लेख भएको बताए । उक्त कार्यक्रमको अध्यक्षता नेपाली कांग्रेस वीपी स्मृति प्रतिष्ठान गण्डकीका अध्यक्ष माधवप्रसाद बास्तोलाले गरेका थिए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया