काठमाडौँ १६ वैशाख: नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सुन्दरीजलस्थित बिपी सङ्ग्रहालय पुगेर कांग्रेसका संस्थापक नेता बिपी कोइरालासहित प्रजातान्त्रिक आन्दोलनका अग्रणी नेताहरूको शालिकमा माल्यार्पण गर्नुभएको छ ।
नेता आङ्देम्बेले प्रजातन्त्र स्थापनाका लागि सङ्घर्ष गरेका नेता बिपीसँगै गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, आफ्ना माइला ठूला बुबा प्रेमराज आङ्देम्बे, योगेन्द्रमान शेरचन, रामनारायण मिश्र र देवानसिंह राईलगायतप्रति पनि पुष्पगुच्छासहित श्रद्धाञ्जली व्यक्त गर्नुभएको थियो ।
सङ्ग्रहालय परिसरमा रहेको स्मारक तथा शालिकहरूमा पुष्पगुच्छा अर्पण गर्दै उहाँले ती नेताहरूले देखाएको त्याग, बलिदान र लोकतान्त्रिक मूल्यको मार्गदर्शनलाई आजको पुस्ताले आत्मसात गर्नुपर्नेमा जोड दिनुभयो । नेपालको प्रजातान्त्रिक आन्दोलन र कांग्रेसको इतिहास ती नेताहरूको सङ्घर्षविना अधुरो हुने उहाँको भनाइ थियो ।
त्यस अवसरमा आङ्देम्बेले सुन्दरीजल कारागारको ऐतिहासिक महत्वबारे समेत जानकारी लिनुभएको थियो । उहाँले तत्कालीन निरङ्कुश शासनका बेला नेताहरूलाई बन्दी बनाइ राखिएको कोठाहरू, उनीहरूले प्रयोग गरेका सामग्री तथा सङ्ग्रहालयमा सुरक्षित ऐतिहासिक दस्तावेजहरूको अवलोकन गर्नुभयो । ती कोठा र सामग्रीहरू अवलोकन गर्दा उहाँ गम्भीर र भावुक मुद्रामा देखिनुभएको थियो ।
नेताहरूले जेल जीवनका क्रममा भोगेका कठिनाइ, उनीहरूको अदम्य साहस र लोकतन्त्रप्रतिको प्रतिबद्धताले आजको राजनीतिक यात्रालाई प्रेरणा दिने नेता आङ्देम्बेको भनाइ थियो । रासस
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया