श्रावण १८, २०८३ सोमबार August 3, 2026

कांग्रेस नेता घिमिरेको सालिक अनावरण

पूर्वमन्त्री दीपक गिरी र नेता रामहरि खतिवडाले संयुक्त रूपमा गरे सालिकको अनावरण

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

दाङ, १७ साउनः यहाँको बबई गाउँपालिका–५ हापुरेमा नेपाली कांग्रेसका स्वर्गीय नेता शालिकराम घिमिरेको सालिक अनावरण गरिएको छ । नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री दीपक गिरी र नेता रामहरि खतिवडाले संयुक्त रूपमा सालिकको अनावरण गर्नुभएको हो ।

अनावरण कार्यक्रममा पूर्वमन्त्री गिरीले स्वर्गीय घिमिरे लोकतन्त्र र नेपाली कांग्रेसप्रति समर्पित, इमानदार तथा साहसी नेता रहेको स्मरण गर्नुभयो ।  उहाँले लोकतन्त्र स्थापनाका लागि ज्यानको प्रवाह नगरी सङ्घर्ष गर्ने सहिदहरूको योगदान कहिल्यै बिर्सन नहुने भन्दै उहाँहरूको सम्मान गर्नु सबैको दायित्व भएको उल्लेख गर्नुभयो ।

कांग्रेस नेता खतिवडाले घिमिरेजस्ता नेता तथा कार्यकर्ताको बलिदानकै कारण नेपाली कांग्रेस आजको अवस्थामा पुगेको बताउनुभयो ।

विसं २०५५ साउन १६ गते तत्कालीन विद्रोही पक्षबाट हत्या गरिएका स्वर्गीय घिमिरे तत्कालीन पुरन्धारा गाविसमा नेपाली कांग्रेसका पार्टी उपसभापति हुनुहुन्थ्यो । लोकतन्त्र र पार्टी सङ्गठन सुदृढीकरणमा सक्रिय भूमिका निर्वाह गर्नुभएका घिमिरेको योगदानको सम्मानस्वरूप बबई गाउँपालिका–५ हापुरेमा कांग्रेसले उहाँको सालिक निर्माण गरी अनावरण गरेको हो ।

नेपाली कांग्रेस बबई गाउँपालिका क्षेत्र नं ३ का नेता, कार्यकर्ता तथा शुभेच्छुकबाट सङ्कलन गरिएको रु आठ लाखबाट उहाँको सालिक निर्माण गरिएको नेपाली कांग्रेस क्षेत्र नं ३ का सचिव शोभाकर सापकोटाले जानकारी दिनुभयो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया