श्रावण १७, २०८३ आइतबार August 2, 2026

किसान आन्दोलनको ऐतिहासिक योगदानलाई निरन्तरता दिन ओलीको आह्वान

किसान अधिकार, सामाजिक न्याय र समानताका लागि दुवै नेताले खेलेको ऐतिहासिक भूमिकाको स्मरण

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको किसान आन्दोलनका अग्रणी नेता तुलसीलाल अमात्य र अमर शहीद भीमदत्त पन्तले स्थापित गरेको संघर्षको विरासतलाई अझ सशक्त रूपमा अघि बढाउनुपर्ने बताएका छन्।

अमात्य र पन्तको स्मृति दिवसका अवसरमा आइतबार श्रद्धाञ्जली सन्देश जारी गर्दै अध्यक्ष ओलीले किसान अधिकार, सामाजिक न्याय र समानताका लागि दुवै नेताले खेलेको ऐतिहासिक भूमिकाको स्मरण गरेका हुन्।

उनले तुलसीलाल अमात्यले ‘जसको जोत, उसको पोत’ भन्ने नारामार्फत किसानलाई आफ्नो अधिकारका लागि संगठित गरेको उल्लेख गर्दै किसान आन्दोलनलाई वैचारिक र संगठनात्मक रूपमा सुदृढ बनाउन अमात्यको योगदान महत्त्वपूर्ण रहेको बताए। निरंकुश शासनविरुद्धको आन्दोलन र वामपन्थी राजनीतिक यात्रामा अमात्यको भूमिका नेपाली इतिहासमा सदैव सम्मानका साथ स्मरण गरिने उनको भनाइ छ।

यस्तै, अमर शहीद भीमदत्त पन्तलाई सामन्तवादी शोषणविरुद्ध संघर्ष गर्ने निर्भीक योद्धाका रूपमा स्मरण गर्दै ओलीले ‘कि त जोत हलो, कि त छोड थलो’ भन्ने नारासहित सुदूरपश्चिममा हलिया र कमैया प्रथाविरुद्ध उनले नेतृत्व गरेको आन्दोलन किसान मुक्ति अभियानको महत्वपूर्ण अध्याय बनेको उल्लेख गरेका छन्।

सन्देशमा पन्तको २०१० साल साउन १७ गते गोली हानी हत्या गरिएको तथा किसान आन्दोलन दबाउने उद्देश्यले उनको शिर प्रदर्शन गरिएको घटनालाई नेपाली किसान आन्दोलनको पीडादायी इतिहासका रूपमा स्मरण गरिएको छ।

अध्यक्ष ओलीले तुलसीलाल अमात्य र भीमदत्त पन्तको त्याग, समर्पण तथा क्रान्तिकारी विचार आज पनि समाजका लागि प्रेरणाको स्रोत रहेको उल्लेख गर्दै लोकतान्त्रिक व्यवस्था सुदृढ बनाउने, सामाजिक न्याय, समानता र आर्थिक समृद्धिको लक्ष्य हासिल गर्नु नै उनीहरूप्रतिको वास्तविक सम्मान हुने बताएका छन्।

उनले दुवै नेताप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै उनीहरूको योगदान नेपाली कम्युनिस्ट आन्दोलन, किसान आन्दोलन र लोकतान्त्रिक संघर्षको इतिहासमा सदैव सम्मानपूर्वक स्मरण भइरहने विश्वास व्यक्त गरेका छन्।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सामाजिक सद्भाव र राष्ट्रिय एकता कायम राख्न पूर्वराष्ट्रपति भण्डारीको आह्वान
२०८३ श्रावण १७, आइतबार
पर्यटक बोकेको विमान दुर्घटनाग्रस्त हुँदा १३ जनाको मृत्यु
२०८३ श्रावण १७, आइतबार
सय बढी नक्कली उत्पादन बरामद
२०८३ श्रावण १७, आइतबार
मुख्यमन्त्री कार्कीलाइ राजीनामा दिन शेरधन राईको दबाब
२०८३ श्रावण १७, आइतबार
राजविराज र बोदेबरसाइनमा कर्फ्यु हट्यो, निषेधाज्ञा जारी
२०८३ श्रावण १७, आइतबार
किसान आन्दोलनको ऐतिहासिक योगदानलाई निरन्तरता दिन ओलीको आह्वान
२०८३ श्रावण १७, आइतबार
भेरी अस्पतालमा एचआईभी उपचार सेवा प्रभावकारी, ६५७ जना नियमित एआरटीमा
२०८३ श्रावण १७, आइतबार