काठमाण्डौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले सामाजिक सद्भाव कायम गर्दै राष्ट्रिय एकताको पक्षमा उभिन आह्वान गरेको छ।
शुक्रबार बसेको राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले तराई–मधेशमा देखिएको तनावपूर्ण घटनाको समीक्षा गरेको छ। अध्यक्ष राजेन्द्र लिङ्देनको अध्यक्षामा बसेको बैठकले सामाजिक सद्भाव कायम गर्न आह्वान गरेको हो।
बैठकपछि प्रवक्ता मोहन श्रेष्ठले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘राप्रपा सम्पूर्ण नेपाली नागरिकलाई संयम, विवेक, सहिष्णुता तथा राष्ट्रिय एकताको पक्षमा दृढतापूर्वक उभिन हार्दिक आह्वान गर्दछ।’
सदियौंदेखि अभ्यास गर्दै आएको राष्ट्रिय चरित्रलाई ध्यानमा राखेर सद्भाव कायम राख्नुपर्नेमा राप्रपाले जोड दिएको छ।
‘नेपाली समाजको शक्ति विभाजनमा होइन एकतामा, वैमनस्यतामा होइन सहअस्तित्वमा र अस्थिरतामा होइन साझा राष्ट्रिय उद्देश्यप्रतिको प्रतिबद्धतामा निहित रहेको राप्रपा विश्वास गर्दछ,’ विज्ञप्तिमा भनिएके छ, ‘बहुसंख्यकको सम्मान र अल्पसंख्यकको संरक्षण हामीले सदियौंदेखि अभ्यास गर्दै स्थापित गरेको राष्ट्रिय चरित्र हो। यसका विरुद्ध कुनैपनि बहानामा गरिने क्रियाकलापले राष्ट्रिय एकता, सामाजिक सदभाव, धार्मिक सहिष्णुता र दीर्घकालीन शान्तिको हाम्रो साझा चाहनामाथि कुठाराघात हुन पुग्ने यथार्थलाई मनन गर्न सबैमा गम्भीर ध्यानाकर्षण गराउँदछ।’


युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया