नेपालगञ्ज । भेरी अस्पताल नेपालगञ्जबाट आर्थिक वर्ष २०८२–८३ को असार मसान्तसम्म ६५७ जना एचआईभी सङ्क्रमितले एन्टिरेट्रोभाइरल थेरापी (एआरटी) सेवा लिइरहेका छन् । अस्पतालको १३६औँ वार्षिकोत्सव ‘स्मारिका’ मा प्रकाशित तथ्याङ्क अनुसार सेवाग्राहीमध्ये वयस्क पुरुषको संख्या सबैभन्दा बढी रहेको छ ।
तथ्याङ्क अनुसार एआरटी सेवामा रहेका ३३४ जना वयस्क पुरुष, २८१ जना वयस्क महिला, १० जना यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक, १५ जना बालिका र १७ जना बालक रहेका छन् । एआरटी सेवा लिइरहेका सङ्क्रमितमध्ये ९ जनाको मृत्यु भएको छ । जसमध्ये ५ जना महिला र ४ जना पुरुष रहेका छन् ।
त्यसैगरी २८ जना उपचारबाट सम्पर्कविहीन भएका छन्, जसमा ७ जना महिला र २१ जना पुरुष छन् । यस्तै, उपचारको निरन्तरताका लागि २६ जनालाई अन्य एआरटी केन्द्रमा स्थानान्तरण गरिएको छ । स्थानान्तरण हुनेमा ११ जना वयस्क महिला, १० जना वयस्क पुरुष, २ जना बालिका र ३ जना बालक रहेका छन् ।
एचआईभी सङ्क्रमितलाई नियमित एआरटी सेवा उपलब्ध गराउँदै आएको भेरी अस्पतालले सङ्क्रमितको स्वास्थ्य अवस्था सुधार, संक्रमण नियन्त्रण तथा जीवनस्तर उकास्न निरन्तर उपचार, परामर्श र अनुगमन सेवा सञ्चालन गर्दै आएको जनाएको छ । नेपालमा एचआईभी नियन्त्रण कार्यक्रम अन्तर्गत सङ्क्रमितलाई निःशुल्क एआरटी सेवा उपलब्ध गराइँदै आएको छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया