श्रावण १७, २०८३ आइतबार August 2, 2026

राजनीतिक व्यवस्था र सरकारविरूद्ध आन्दोलन गर्ने दुर्गा प्रसाईँको घोषणा

सरकार र सत्तापक्षीय नेताहरूले आफ्ना मान्छे खडा गरेर नक्कली सहमति र प्रपञ्च रचिरहेको आरोप

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ । राष्ट्रिय मुक्ति अभियानका संयोजक तथा अभियन्ता दुर्गा प्रसाईँले वर्तमान राजनीतिक व्यवस्था र सरकारविरुद्ध पुनः सशक्त आन्दोलन गर्ने घोषणा गरेका छन्।

काठमाडौँमा आइतबार पत्रकार सम्मेलन गर्दै प्रसाईँले वर्तमान लोकतान्त्रिक भनिने व्यवस्थामा अभिव्यक्ति स्वतन्त्रता खोसिएको र विचार मानिने लोकतन्त्रमा नागरिकका आधारभूत अधिकारसमेत कुण्ठित गरिएको आरोप लगाए।

उनले राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको उपदेश स्मरण गर्दै नेपाल सबै जातजाति र वर्गको साझा फूलबारी भएको बताए। प्रसाईँले सरकार र सत्तापक्षीय नेताहरूले आफ्ना मान्छे खडा गरेर नक्कली सहमति र प्रपञ्च रचिरहेको आरोप लगाए।

प्रसाईँले आफूहरूको आन्दोलन कुनै धर्म वा समुदाय विशेषको विरुद्ध नभई सिङ्गो व्यवस्था परिवर्तनका लागि भएको प्रष्ट पारे। उनले पूर्ववर्ती सरकार र सम्झौताहरूको प्रसङ्ग जोड्दै किरात र बौद्ध धर्मसहितको वैदिक सनातन हिन्दु अधिराज्य र राजसंस्थाको पुनर्वहाली नै आफूहरूको मुख्य एजेण्डा भएको उल्लेख गरे।

प्रसाईँले संविधान संशोधन गरी उच्चस्तरीय कार्यदलमार्फत आफ्ना मागहरु सम्बोधन नभए व्यवस्था ढाल्ने सम्मको चेतावनी दिए।

प्रसाईँले नेपालका सम्पूर्ण बुद्धिजीवी, पत्रकार, र नागरिकहरूलाई देशको अस्तित्व जोगाउन र हिन्दु राष्ट्र पुनर्वहालीका लागि एकै ठाउँमा उभिन अपिल गरे।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया