श्रावण १७, २०८३ आइतबार August 2, 2026

सन्तानेश्वर महादेव मन्दिरः धार्मिक पर्यटनको गन्तव्य

पर्यटनको प्रचुर सम्भावना भएकाले वन्यजन्तु र चराचुरुङ्गीको भिन्दै आनन्द लिन सकिने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

नेपालगन्ज, १७ साउनः बाँकेको सन्तानेश्वर महादेव मन्दिर धार्मिक पर्यटनको गन्तव्यका रुपमा विकास हुन थालेको छ ।

पदयात्राका लागि प्रख्यात मानिएको उक्त स्थानमा सन्तानेश्वर महादेवको दर्शन गर्न खासगरी साउन महिनाभर भारतको लखनउ, बहराइचलगायत प्रमुख सहरबाट दर्शनार्थीहरु त्यहाँ पुग्ने गर्छन् । नेपालगन्जबाट २४ किलोमिटर पूर्वमा  नरैनापुर गाउँपालिकाको जमुनी पुगेपछि त्यहाँबाट उत्तरदिशातर्फ करिब छ घण्टाको पैदल यात्रामा सो मन्दिरमा पुग्न सकिन्छ ।

देबिया पहाडबाट झण्डहवा पहाड हुँदै सबैले त्यस स्थानमा पूजा आराधना गर्न थालेपछि भगवान्का सन्तानका रुपमा ‘सन्तानहरुको ईश्वर’ भनेर सन्तानेश्वर मन्दिरको स्थापना भएको सो मन्दिरका महन्त योगानन्द गिरीले जानकारी दिनुभयो । उहाँले अहिले सन्तानेश्वर महादेवको मन्दिरमा दर्शन गर्नाले सन्तान नहुनेहरुलाई सन्तान हुने बरदान प्राप्त हुने विश्वास दिलाउँदै अहिलेसम्म करिब दुई हजारले त्यस्तो बरदान पाएको बताउनुभयो । भाकल पूरा भएपछि सन्तान भएका परिवार आफ्नो सन्तानसहित पनि त्यहाँ जाने गर्छन् ।

महन्त गिरीले भन्नुभयो, “पहिले त हिँडने बाटो पनि थिएन, खानेपानीको सुविधा पनि थिएन । तर अहिले सबै परिवर्तन भएको छ”, पहिले त्रिपाल टाँगेर बसेको स्मरण गर्दै उहाँले अहिले खरले छाएको कुटी निर्माण भएको बताउनुभयो ।

महन्त गिरीले २०७७ सालअघि पूजा मात्रै गरेर त्यहाँ बसेको जानकारी दिँदै २०७७ सालदेखि यहाँको भौतिक पूर्वाधारको विकास भएको उल्लेख गर्नुभयो । उहाँले सन्तानेश्वरको आधुनिक मन्दिर निर्माण र सडकको स्तरोन्नतिसहित भौतिक पूर्वाधारको विकासमा जोड दिन स्थानीय सरकारलाई आग्रह गर्दै सन्तान लाभ वा भाकल पूरा गरेर आउने धेरै दम्पती भएको बताउनुभयो । यो मन्दिर नरैनापुर गाउँपालिका–५ र ६ मा पर्छ ।

मन्दिरका पुजारी पूर्णचन्द्र उपाध्यायले यहाँको विशेषता प्राकृति सौन्दर्यको शृङ्गार र दैवी शक्ति भएको पारिजात पाइने क्षेत्र तथा प्रणव क्षेत्र भएको जानकारी दिनुभयो । उहाँले पर्यटनको प्रचुर सम्भावना भएकाले वन्यजन्तु र चराचुरुङ्गीको भिन्दै आनन्द लिन सकिने बताउनुभयो ।

सन्तान प्राप्तिको विषय अनुसन्धानको विषय भएको उल्लेख गर्दै पुजारी उपाध्यायले धेरै दैवी ऊर्जा यस मन्दिरमा प्राप्त भएको बताउनुभयो ।  उहाँले भन्नुभयो, “मैले हवन र तन्त्र साधना गरिरहेको छु । यहाँ वन झाँक्रीको पनि पूजा हुने गर्छ ।”

द्वापरयुगमा भएको युद्धपछि देवीको बासस्थान रहेको क्षेत्रका रुपमा त्यसलाई मानिएको छ । सन् १९३५ मा स्थानीय सन्तराम यादवले त्यहाँ केही कुरा माग गरेको र त्यो माग पूरा भएकोसमेत पुरातन मान्यता छ । नरैनापुर गाउँपालिकाका अध्यक्ष इश्तियाक अहमद शाहले धार्मिक आस्थाका केन्द्रलाई राजनीतिक विवाद र द्वेषबाट अलग राखेर विकास गर्नुपर्नेमा जोड दिँदै मन्दिरको पूर्वाधार विकासका लागि स्थानीय तह प्रतिबद्ध रहेको बताउनुभयो ।

नाट्टा बाँके च्याप्टरका संस्थापक अध्यक्ष श्रीराम सिग्देलले सन्तानेश्वर मन्दिरसम्मको यातायात तथा आवागमनमा विगतको तुलनामा सुधार हुँदै गएकाले भक्तजनको सङ्ख्या उल्लेख्य बढ्दै गएको जानकारी दिँदै सडक तथा पूर्वाधारमा क्रमिक सुधार भइरहेकाले सन्तानेश्वर धार्मिक पर्यटनका लागि महत्वपूर्ण गन्तव्यका रुपमा विकास हुन लागेको बताउनुभयो । अध्यक्ष सिग्देलले सकारात्मक सोच र आध्यात्मिक ऊर्जा प्रदान गर्न विभिन्न समयमा पदयात्रा भएको जानकारी दिँदै पदयात्राजस्ता कार्यक्रमले पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो । पर्यटन प्रवर्द्धनका लागि स्थानीय सरकारलाई ध्यान दिन उहाँले आग्रह गर्नुभयो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया