कार्तिक २६, २०८३ बिहिबार November 12, 2026

सर्वोच्चद्वारा दुर्गा प्रसाईलाई थुनामुक्त गर्न अस्वीकार

बन्दी प्रत्यक्षीकरण रिट खारेज गर्दै सरकारका नाममा निर्देशनात्मक आदेश जारी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौं । विद्युतीय कसुरको आरोपमा पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न सर्वोच्च अदालतले अस्वीकार गरेको छ ।

सर्वोच्चका न्यायाधीशहरू महेश शर्मा पौडेल र नित्यानन्द पाण्डेको इजलासले दुर्गा प्रसाईको हकमा छोरा निराजन प्रसाईले दायर गरेको बन्दी प्रत्यक्षीकरण रिट खारेज गर्दै सरकारका नाममा निर्देशनात्मक आदेश जारी गरेको हो ।

प्रसाईका छोरा निराजनले गृह मन्त्रालय, प्रहरी प्रधान कार्यालय नक्साल, केन्द्रीय अनुसन्धान ब्युरो लाजिम्पाट र काठमाडौं जिल्ला अदालतलाई विपक्षी बनाएर दायर गरेको बन्दी प्रत्यक्षीकरण रिटमाथि सुनुवाइ गर्दै सर्वोच्चले सो आदेश जारी गरेको हो ।

सामाजिक सञ्जालमा विवादास्पद अभिव्यक्ति दिँदै आएका प्रसाईले पछिल्लो समय प्रधानमन्त्री केपी शर्मा ओलीको कम्बोडियाको टेलिकम कम्पनीमा ३२ अर्ब बढीको सेयर रहेको भन्दै विवादास्पद भिडियो सार्वजनिक गरेपछि उनलाई प्रहरीले भक्तपुरबाट गत ४ मंसिरमा पक्राउ गरेको थियो ।

काठमाडौं जिल्ला अदालतले प्रसाईंलाई दोस्रोपटक म्याद थप गरी अनुसन्धानको अनुमति दिएपछि उनी हिरासतमै छन् । प्रहरीले प्रसाईंमाथि साइबर अपराध, सरकारी कागजात किर्तेलगायतको आरोपमा अनुसन्धान गरिरहेको छ । छोरा निराजनले प्रसाईंलाई गैरकानुनी थुनामा राखिएको भन्दै ८ मंसिरमा बन्दी प्रत्यक्षीकरण रिट दायर गरेका थिए । न्यायाधीश डा. मनोजकुमार शर्माको इजलासले ९ मंसिरमा बन्दीलाई अदालतमा उपस्थित गराउने आदेश दिएको थियो ।

बुधबार उनलाई अदालतमा उपस्थित गराएर हिरासत फर्काइएको थियो । सर्वोच्चबाट रिट खारेज भएसँगै प्रसाईंले अब सरकारी वकिलबाट रिहाइ नभएर अदालतमा मुद्दा दायर भएपछि हुने थुनछेक आदेश कुर्नुपर्ने भएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया