मंग्सिर २१, २०८१ शुक्रबार December 6, 2024

पाशुपत क्षेत्रमा अखण्ड दीपदान गर्ने भक्तजनहरुको घुँइचो

दिवङ्गत पितृका नाममा अखण्ड दीपदान गरी बसेका भक्तजनले चतुर्दशीको बिहान पितृको मोक्षको कामना गर्दै सतबीज छर्छन्

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

प्रत्येक वर्ष मार्गशीर्ष कृष्ण त्रयोदशीका दिन पशुपति क्षेत्रमा दिवङ्गत पितृको सद्गतिको कामना गर्दै बत्ती बाल्न पशुपति क्षेत्रमा भक्तजनको भीड लागेको छ ।

आज बेलुकीदेखि दिवङ्गत पितृका नाममा अखण्ड दीपदान गरी बसेका भक्तजनले चतुर्दशीको बिहान पितृको मोक्षको कामना गर्दै सतबीज छर्छन् ।

आज रातभर दीपदान गरी बसेका भक्तजनले भोलि बिहानै पितृको सम्झनामा शतबीज छर्ने गर्दछन् । प्रत्येक वर्ष मार्गशीर्ष कृष्ण चतुर्दशीका दिन बालाचतुर्दशी पर्व मनाउन देशका विभिन्न स्थानबाट भक्तजन पशुपतिमा आउँछन् ।

जाडो मौसम भएकाले पाललगायत व्यवस्था गरिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।

यसैबीच जिल्ला प्रशासन कार्यालय काठमाडौँले बालाचतुर्दशी पर्वको सुरक्षालाई ध्यानमा राखेर तीन दिन पशुपति क्षेत्रमा माछामासु मदिरा, नशालु पदार्थको उत्पादन, बिक्री तथा सेवनमा निषेध गरेको छ ।

यसैबीच प्रत्येक वर्ष मार्गशीर्ष कृष्ण त्रयोदशी र औँसीका दिन पशुपतिनाथमा प्रदर्शन गरिने नाथको कवच, मुकुट, नागमणि र एकमुखे रुद्राक्ष आज बिहान देखाइएको छ ।

गत एक वर्षसम्म पशुपतिनाथ मन्दिरको माथिल्लो तलामा यी सामग्री सुरक्षित राखिएको भनी आज देखाइएको पशुपति क्षेत्र विकास कोषका प्रवक्ता रेवतीरमण अधिकारीले जानकारी दिनुभयो ।

मार्ग शीर्ष कृष्ण औँसीका अवसरमा यही मङ्सिर १६ गते बिहान पनि अर्को वर्षका लागि सुरक्षित राखिँदै छ भनी आममानिसलाई देखाउने परम्पराअनुसार यो देखाउने कार्यक्रम रहेको उहाँले बताउनुभयो ।

पशुपति क्षेत्रमा पशुपतिनाथको कवच, मुकुट, नागमणि र एकमुखे रुद्राक्ष हेर्न हजारौँ भक्तजनको घुइँचो लागेको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया