कार्तिक २६, २०८३ बिहिबार November 12, 2026

विश्व स्वास्थ्य संगठनसँग सहकार्य गर्न प्रदेश सरकार तयार छः मुख्यमन्त्री आचार्य

विश्व स्वास्थ्य संगठनसँग सहकार्य गरेर अघि बढ्न प्रदेश सरकार तयार रहेको भनाई

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

अर्घाखाँची। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशमा देखापरेका स्वास्थ्य समस्या निदान गर्न विश्व स्वास्थ्य संगठनसँग सहकार्य गर्न प्रदेश सरकार तयार रहेको बताएका छन्।

विश्व स्वास्थ्य संगठनका प्रतिनिधिसँग आज राप्ती उपत्यका देउखुरीमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको भेटमा मुख्यमन्त्री आचार्यले विश्व स्वास्थ्य संगठनसँग सहकार्य गरेर अघि बढ्न प्रदेश सरकार तयार रहेको बताएका हुन्।

तथ्यांक आधारमा लुम्बिनी प्रदेशमा बाल मृत्युदर, मातृ मृत्युदर, बालविवाह, कुपोषण, मानसिक रोग, नसर्ने रोगजस्ता स्वास्थ्य समस्या उच्च रहेको उल्लेख गर्दै उनले यी स्वास्थ्य समस्या निदानका लागि प्रदेश सरकारको एक्लो प्रयासले मात्रै सम्भव नरहेको बताए।

‘विश्व स्वास्थ्य संगठनले नेपाल र लुम्बिनीको स्वास्थ्य क्षेत्रमा गरेको लगानीको उच्च प्रशंसा गर्न चाहन्छु। आगामी दिनमा पनि लुम्बिनी प्रदेशमा विश्व स्वास्थ्य संगठनको साथ सहयोग चाहिन्छ’, मुख्यमन्त्री आचार्यले भने, ‘तथ्याङ्कले देखाएका स्वास्थ्यका कमजोर सूचकमा मिलेर काम गर्न जरुरी छ। प्रदेशमा बाल मृत्युदर, मातृ मृत्युदर, बाल विवाह, कुपोषणजस्ता समस्या निदान गर्न मिलेर अघि बढ्नुपर्ने आवश्यकता छ।’

विश्व स्वास्थ्य संगठनले अहिले लुम्बिनी प्रदेशमा खोप तथा स्वास्थ्यकर्मीको दक्षता अभिवृद्धि गर्न प्रशिक्षणलगायतका क्षेत्रमा सहयोग गर्दै आएको छ। आगामी दिनमा मानसिक स्वास्थ्य र नसर्ने रोगको उपचारका लागि पनि सहकार्य गर्ने बारेमा विश्व स्वास्थ्य संगठनलाई अनुरोध गरिएको लुम्बिनी प्रदेश सरकार स्वास्थ्य मन्त्रालयका सचिव डा बासुदेव उपाध्यायले जानकारी दिए।

विश्व स्वास्थ्य संगठनका नेपाल प्रतिनिधि डा राजेश पाण्डवको नेतृत्वमा रहेको प्रतिनिधि मण्डलले मुख्यमन्त्री आचार्यसँग भेट गरेको थियो। सो भेटमा स्वास्थ्य मन्त्री खेमबहादुर सारु, प्रदेश योजना आयोगा उपाध्यक्ष डा डिल्लीराज अर्याल, स्वास्थ्य सचिव डा बासुदेव उपाध्याय, मुख्यमन्त्रीका स्वकीय सचिव कुशल भुसाललगायत सहभागी थिए।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया