असार २८, २०८२ शनिबार July 12, 2025

धौलागिरि अस्पतालमा दुई वर्षयता सात सय शल्यक्रिया

अस्पतालमा प्रयाप्त उपकरण र दक्ष जनशक्तिका कारण लाखौँ खर्च लाग्ने शल्यक्रिया सरकारी अस्पतालमा सामान्य शुल्कमा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

गलकोट (बागलुङ), १९ मङ्सिरः धौलागिरि अस्पतालले पछिल्लो समय विशेषज्ञसहित विशिष्टिकृत सेवा दिन थालेको छ । धौलागिरि अस्पतालले दुई वर्षमा हाडजोर्नी तथा नशारोगसम्बन्धी सात सय सफल शल्यक्रिया गरेको हो ।

धौलागिरि अस्पतालमै ठूलो र सानो हड्डी रोगसम्बन्धी शल्यक्रिया गर्दा अधिकांश बिरामीलाई राहत भएको छ । यसअघि पोखरा र काठमाडौँ जानुपर्ने बिरामी स्थानीयस्तरमा उपचार पाएपछि यही रोकिन थालेका छन् । अस्पतालमा दुईजना हाडजोर्नी तथा नशारोग विशेषज्ञ चिकित्सक कार्यरत हुनुहुन्छ ।

अस्पतालमा जटिल प्रकारका हड्डीको समेत प्रत्यारोपण गरिएको छ । बढ्दो सवारी दुर्घटनाका कारण हाडजोर्नीसम्बन्धी धेरै बिरामी अस्पतालमा आउन थालेका छन् । बिरामीले जिल्लामा सेवा पाउँदा खर्च र समय दुवैको बचत भएको प्रतिक्रिया दिएका छन् ।

हड्डीरोग विशेषज्ञ डा प्रमेश थापा र डा समीर लामिछाने तथा एनेस्थेसियोलोजिस्ट डा अमित ढुङ्गानाको समूहले दुई वर्षमा सात सयवटा हाडजोर्नी तथा नशासम्बन्धी शल्यक्रिया गर्नुभएको अस्पतालका मेडिकल अधिकृत डा सन्दीप केसीले जानकारी दिनुभयो ।

“अस्पतालमा आउने बिरामीमध्ये ३० प्रतिशत हाडसम्बन्धी समस्या लिएर आउनुहुन्छ । दुई जना विशेषज्ञ चिकित्सकलाई हप्ताकोे तीन दिन शल्यक्रियाको समय छुट्टाइएको छ”, केसीले भन्नुभयो, “आधुनिक जीवनशैली र बढ्दो दुर्घटनाका कारण हाडजोर्नीसम्बन्धी समस्या बढ्दै गएका छन्, अस्पतालले छिमेकी जिल्लाका बिरामीलाई समेत सेवा दिएको छ ।”

अस्पतालमा ‘हेमी हिप रिप्लेसमेन्ट’, ‘फिमर नेलिङ÷प्लेटिङ’‘टिबिया नेलिङ÷प्लेटिङ’,‘ह्युमेरस’, ‘फोरआर्म’ र ‘क्लाभिकल प्लेटिङ’ तथा ‘एसी जोइन्ट पुनःनिर्माण’ लगायत जटिल प्रकारका शल्यक्रियासमेत सम्पन्न गरिएको अस्पताल प्रशासनले जनाएको छ ।

अस्पतालमा प्रयाप्त उपकरण र दक्ष जनशक्तिका कारण लाखौँ खर्च लाग्ने शल्यक्रिया सरकारी अस्पतालमा सामान्य शुल्कमा भइरहेको छ । अस्पतालले ‘टेन्डन रिपेयर’, हात र खुट्टाका सामान्य शल्यक्रिया पनि गर्दै आएको छ । दुई वर्षयता बागलुङमा भएका पाँच ठूला दुर्घटनाका घाइतेको उपचार गरिएको अस्पतालले जनाएको छ ।

मङ्सिर १७ गते मात्रै अस्पतालको हड्डीरोग विभागले १३ वर्षीय बालकको हड्डी भाँचिएको ‘मिडियल इपिकन्डाइल फ्याक्चर फिक्सेसन’ सफलतापूर्वक शल्यक्रिया सम्पन्न गरेको छ । मङ्सिर १७ गते चार वटा हड्डीसम्बन्धी शल्यक्रिया गरिएको थियो ।

अहिले अस्पतालमा हड्डी विभागमा बिरामीको चाप बढेको अस्पतालका तथ्याङ्क सङ्कलक नवराज शर्माले जानकारी दिनुभयो । उहाँका अनुसार बिरामीको भीड लागेपछि हप्तामा तीन दिन हड्डीको शल्यक्रिया गर्न थालिएको छ, भने अन्य समयमा बहिरङ्ग (ओपिडी) मा सेवा दिने गरिएको छ ।

हप्ताको सोमबार, बुधबार र शुक्रबार हड्डीको शल्यक्रिया गरिने शर्माले बताउनुभयो । हड्डीसम्बन्धी समस्या लिएर ओपिडीमा दैनिक एक सयदेखि एक सय ५० जना बिरामी आउने गरेका उहाँले जानकारी दिनुभयो । धौलागिरि अस्पतालमा गलकोट, बुर्तिबाङ, पर्वत, बेनी, मुस्ताङ, रुकुम, रोल्पालगायत क्षेत्रबाट हड्डीसम्बन्धी समस्या लिएर बिरामी आउने गरेका छन् ।

धौलागिरि अस्पतालका मेडिकल अधिकृत डा सन्दिप केसीले अस्पतालमा हड्डीरोगसम्बन्धी जटिल प्रकारका शल्यक्रिया हुन थालेपछि थप उपकरण र जनशक्तिको आवश्यकता देखिएको बताउनुभयो । आगामी दिनमा सरोकार भएका निकायसँग समन्वय गरी जनशक्ति व्यवस्थापन र सेवा विस्तार गर्दै जाने उहाँको भनाइ छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
तीन करोडको लागतमा नदी नियन्त्रण योजना सम्पन्न
२०८२ असार २८, शनिबार
रत्ननगर आयुर्वेद अस्पताल : सेवा लिनेमा पुरुष भन्दा महिलाको सङ्ख्या धेरै
२०८२ असार २८, शनिबार
एक अर्ब ३७ करोडको ब्याग, जाे हालै एक जापनीले लिलामीमा लिए
२०८२ असार २८, शनिबार
मासुजन्य उत्पादनमा पशुपालक किसानलाई नगद अनुदान
२०८२ असार २८, शनिबार
सिमलताल घटनाको एक वर्ष : अझै पत्तो छैन ३९ यात्रुको अवस्था
२०८२ असार २८, शनिबार
बाख्रापालनमा जमेका चन्द दम्पती
२०८२ असार २८, शनिबार
विवेकभन्दा आवेग हाबी हुँदा संसदमा अवरोध र बहिष्कार प्रवृत्ति बढेका हुन् : विश्वप्रकाश शर्मा (अन्तवार्ता)
२०८२ असार २८, शनिबार