काठमाडौंः अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुले पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटवार्ता गरेका छन्। अध्यक्ष प्रचण्डको निवासी खुमलटारमा उनीहरूबीच भेटवार्ता भएको हो।
अध्यक्ष प्रचण्डले अमेरिकी सहायक विदेशमन्त्री लुको नेपाल भ्रमण फलदायी हुने विश्वास व्यक्त गरे। नेपाल र अमेरिकाबीच लामो समयदेखिको सम्बन्ध रहेको उल्लेख गर्दै यस्ता भ्रमण र भेटवार्ताले आपसी सम्बन्धलाई थप बलियो बनाउने विश्वास व्यक्त गरेको प्रचण्डको सचिवालयले जनाएको छ।
नेपालको आर्थिक विकासका लागि अमेरिकाले गरिरहेको सहयोगका लागि धन्यवाद ज्ञापन गर्दै उनले सबैको सहयोग र सद्भावबाट अघि बढ्ने बताए। ‘हामीले कृषिलाई आधार मानेर उर्जा र पर्यटन विकासलाई जोड दिने नीति लिएका छौं’, उनले भने, ‘सबै क्षेत्रमा सूचना प्रविधिलाई लिडिङ रोलमा राखेर मात्रै नेपाललाई समृद्ध बनाउन सकिन्छ भन्ने हाम्रो विश्वास रहेको छ। यसका लागि अन्तर्राष्ट्रिय समुदायबाट हुने सहयोग र लगानी महत्वपूर्ण हुन्छ।’
नेपालको शान्ति प्रक्रिया राष्ट्रिय सहमतिका साथ मौलिक रुपमा सम्पन्न हुन थालेको जानकारी गराउँदै अध्यक्ष प्रचण्डले यसमा अन्तर्राष्ट्रिय समुदायको सद्भावका लागि धन्यवाद दिए।
‘हामीले नेपालमा शान्ति प्रक्रिया बहुमत र अल्पमत वा सत्ता पक्ष र बिपक्षीको रुपमा नलिएर राष्ट्रिय सहमतिका साथ टुंग्याउँदै छौँ, यो हाम्रा लागि मात्र होइन शान्ति र स्थायित्व चाहने अन्तर्राष्ट्रिय समुदायकै लागि पनि खुसीको कुरा हो’, उनले भने, ‘टिआरसी विधेयक पारित भएपछि जसरी अन्तर्राष्ट्रिय समुदायले स्वागत गरेको छ, यसले हामीलाई खुसी बनाएको छ।’ अन्तर्राष्ट्रिय क्षेत्रमा देखिएको तनावप्रति नेपालको गहिरो चासो रहेको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले यसबाट नेपालमा पर्नसक्ने असरप्रति आफूहरू संवेदनशील रहेको बताए।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया