काठमाण्डौं । सल्यानमा नेकपा एकीकृत समाजवादीका केन्द्रीय परिषद् सदस्यसहित ३५ नेता कार्यकर्ता एमालेमा फर्किएका छन् । शनिबार श्रीनगरमा आयोजित कार्यक्रममा नेकपा एमालेमा एकीकृत समाजवादी पार्टीका केन्द्रीय परिषद सदस्य, जिल्ला कमिटी सदस्यहरुसहित ३५ नेता कार्यकर्तालाई एमालेमा स्वागत गरिएको हो ।
विगतको भुललाई सच्याउँदै र जनप्रिय पार्टी एमालेलाई अझै सशक्त बनाउने प्रतिबद्धतासहित एकीकृत समाजवादीका केन्द्रीय परिषद सदस्य तथा कर्णाली प्रदेश कमिटी सदस्य ज्ञानेश्वर केसी, जिल्ला कमिटी सदस्य तथा शारदा नगर कमिटी सहइन्चार्ज राजेश बिक, जिल्ला कमिटी सदस्य तथा शारदा नगर कमिटी सचिव नवराज बुढाथोकी, जिल्ला कमिटी सदस्य तथा वडाध्यक्ष गणेश बुढाथोकीसहित ३५ नेता कार्यकर्ता एमालेमा फर्किएका छन् ।
उनीहरुलाई एमाले केन्द्रीय सदस्य तथा सल्यान जिल्ला इन्चार्ज गोविन्दकुमार पुन, कर्णाली प्रदेश कमिटी अध्यक्ष गुलाबजंग शाह, पार्टीका प्रदेश कमिटी सदस्यहरु सरिता हमाल, कुन्ता बस्नेत, जिल्ला कमिटी अध्यक्ष भीमबहादुर सेनलगायतले पार्टीका स्वागत गरेका थिए ।
एमालेमै फर्किएका एकीकृत समाजवादीका केन्द्रीय परिषद सदस्य केसीले पार्टी फुटेर बनाएको नयाँ संगठनले मजबुती र औचित्य देखाउन नसकेको र एमालेकै नेतृत्वमा देश र जनताको सेवा गर्न सकिन्छ भन्ने निष्कर्षसाथ आफैंले निर्माण गरेको पुरानो पार्टीमा फर्किएको बताए ।
एकीकृत समाजवादीका जिल्ला कमिटी सदस्यहरु बिक र बुढाथोकीले विगतमा भावनामा बगेर गलत निर्णयमा पुगिएछ भन्ने महसुस भएको र एकताले मात्रै बलियो राजनीतिक भविष्य सुनिश्चित गर्न सक्छ भन्ने विश्वासको साथ विनाकुनै स्वार्थ एमालेमै फर्किएको बताए ।
नेकपा एमाले शारदा नगर कमिटीले श्रीनगरमा पार्टी प्रवेश कार्यक्रम गरेरै उनीहरुलाई पार्टीका भित्र्याएको हो ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया