असार २५, २०८२ बुधबार July 9, 2025

नेपाल इन्जिनियरिङ कलेजद्वारा प्रादेशिक छात्रवृत्ति वितरण

प्रादेशिक छात्रवृत्ति परीक्षामा सर्वोत्कृष्ट भएका पाँच वटा प्रदेशका विद्यार्थीलाई पूर्ण छात्रवृत्ति प्रदान

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । मुनाफारहित सामाजिक शैक्षिक संस्थाका रुपमा सञ्चालित नेपाल इन्जिनियरिङ कलेजले प्रादेशिक छात्रवृत्ति वितरण गरेको छ । कलेजले आइतबार प्रादेशिक छात्रवृत्ति परीक्षामा सर्वोत्कृष्ट भएका पाँच वटा प्रदेशका विद्यार्थीलाई पूर्ण छात्रवृत्ति प्रदान गरेको हो ।

प्रादेशिक छात्रवृत्ति पाउनेहरुमा मधेश प्रदेशबाट अभिषेक कुमार यादव, बागमती प्रदेशबाट सुवास गिरी, गण्डकी प्रदेशबाट पार्वती पनेरु, लुम्विनी प्रदेशबाट विजयकुमार यादव र सुदुरपश्चिम प्रदेशबाट सरोज देउवा रहेका छन् । कोशी प्रदेश र कर्णाली प्रदेशबाट भने प्रादेशिक छात्रवृत्ति छनौट बाँकी रहेको छ । नयाँ शैक्षिक सत्रको भर्ना अभियान अझै केही दिन बाँकी रहेकाले दुई प्रदेशको प्रादेशिक छात्रवृत्ति वितरण गर्न बाँकी छ ।

छात्रवृत्ति पाउने विद्यार्थीहरुले क्रमशः इलेक्ट्रिक्स एण्ड इलेक्ट्रोनिक्स, सिभिल इन्जिनियरिङ, कम्प्युटर इन्जिनियरिङ, विडिएच, सिभिल एण्ड रुलर इन्जिनियरिङ विषयमा अध्ययन गर्नेछन् । छात्रवृत्ति पाउने सबै विद्यार्थीहरुले सामुदायिक विद्यालय अध्ययन गरेका छन् । कलेजले प्रादेशिक छात्रवृत्ति प्रदान गरेर दूरदराजमा रहेका गरिब तथा जेहेन्दार विद्यार्थीहरुलाई इन्जिनियरिङ शिक्षा हासिल गर्ने अवसर दिएकोमा विद्यार्थीहरुले कृतज्ञता व्यक्त गर्दै मेहनत गरेर अध्ययन गर्ने बताए ।

कलेजका सहायक प्राचार्य मोहनध्वज केसीले छात्रवृत्ति प्राप्त गर्ने विद्यार्थीलाई बधाई तथा शुभकामना दिँदै पोखरा विश्वविद्यालयको छात्रवृत्ति मापदण्ड अनुसार प्रादेशिक छात्रवृत्तिको परीक्षा लिइएको बताउँदै कलेज सदैव जेहेन्दार र मेहनती विद्यार्थीहरुको पक्षमा रहेको बताए। कलेजका प्राचार्य दुर्गाप्रसाद भण्डारीले छात्रवृत्तिको मर्यादा र गरिमालाई कायम राख्नेगरी मेहनतका साथ अध्ययन गर्न सुझाए। सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुको इन्जिनियरिङ शिक्षामा पहुँच पुगोस् भन्ने हेतूले कलेजले प्रादेशिक छात्रवृत्ति दिँदै आएको प्राचार्य भण्डारीको भनाई छ ।

कलेजले हरेक वर्ष ७० लाख बराबरको प्रादेशिक छात्रवृत्ति वितरण गर्ने बताउँदै प्राचार्य भण्डारीले भने,‘नेपाल इन्जिनियरिङ कलेजले वर्षेनी गरिब तथा जेहेन्दार विद्यार्थीलाई विभिन्न छात्रवृत्ति प्रदान गर्दै आइरहेको छ । यस वर्षपनि विभिन्न प्रदेशहरुबाट प्रादेशिक छात्रवृत्तिमा विद्यार्थीहरुले प्रतिष्पर्धा गरेका छन्। सामुदायिक विद्यालयमा पढेका विद्यार्थीहरुलाई इन्जिनियरिङ अध्ययन गर्न प्रेरित गर्नका लागि कलेजले यो छात्रवृत्ति प्रदान गरेको हो ।’

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया