कार्तिक २६, २०८३ बिहिबार November 12, 2026

सहकारी बचतकर्ताहरूले बुझाए आयोग समक्ष ध्यानकर्षणपत्र

ध्यानाकर्षण पत्रमा सरकारद्वारा बचतकर्ताको रकम फिर्ता गर्न ठोस कदम नचालेको उल्लेख

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौँ । सहकारी पीडित तथा सहकारी बचतकर्ताहरूले बचत रकम फिर्ता गर्न माग गर्दै राष्ट्रिय मानव अधिकार आयोगलाई ध्यानाकर्षणपत्र बुझाएको छ ।

राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपवहादुर मगरसमक्ष बुझाएको ध्यानाकर्षण पत्रमा सरकारद्वारा बचतकर्ताको रकम फिर्ता गर्न ठोस कदम नचालेको उल्लेख छ ।

यस सम्बन्धमा सहकारी पीडित तथा सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियानका पदाधिकारीहरूको ज्ञापनपत्र बुझ्दै आयोगका अध्यक्ष मगरले सहकारीको रकम अपचलन र बचत फिर्ता हुन नसकेको सम्बन्धमा आयोगमा दर्ता भएका उजुरीहरूमा आयोगबाट अनुसन्धान भइरहेको र सम्बन्धित पक्षहरूसँग छलफल गरी निष्कर्षमा पुग्ने बताउनुभएको छ ।

“विगतमा सरकारले सहकारीका बचतकर्ताको बचत फिर्ता र अपचलनकर्ताहरूलाई कारबाही गर्ने भनी पीडित पक्षसँग सम्झौता गर्नाका साथै समस्या समाधान गर्ने सार्वजनिक रुपमा प्रतिबद्धता जनाए पनि बचत फिर्ता हुन नसक्दा पीडितहरू पटक पटक आन्दोलित हुनुपर्ने अवस्थाको सिर्जना हुनु चिन्ताको विषय हो”, अध्यक्ष मगरले भन्नुभयो, “यसबाट व्यक्तिको आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारको हनन हुनाका साथै न्यायप्राप्तिको अधिकारबाट वञ्चित भएको देखिन्छ ।”

आयोगले राज्य र पीडितहरुबीच यस अगाडि भएका सम्झौता र सरकारले सार्वजनिक रुपमा गरेका प्रतिबद्धताहरूको प्रभावकारी कार्यान्वयन गर्न सरकारलाई निर्देशनसमेत दिएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया