असार २४, २०८२ मंगलबार July 8, 2025

संसद् सेवालाई समयानुकूल परिमार्जन गर्नुपर्छ : अध्यक्ष दाहाल

'संसदलाई अझ सक्षम, प्रभावकारी र बलियो बनाउन संसद् सेवालाई समयानुकूल परिमार्जन गर्न अब ढिलाइ गर्नुहुँदैन ।'

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँः संघीय संसद्को कामकारबाहीलाई प्रभावकारी बनाउनका लागि संसद सेवालाई समयानुकूल परिमार्जन गर्नुपर्ने राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले बताएका छन् । १८ औँ संघीय संसद् सेवा दिवसका अवसमा शुक्रबार आयोजित समारोहमा अध्यक्ष दाहालले संसदका हरेक गतिविधिमा जनताको पहुँच सुनिश्चित गर्नुपर्ने बताए ।

अध्यक्ष दाहालले जनता, सरकार र संसद्को सहकार्यलाई प्रभावकारी तथा संसदलाई राष्ट्रिय हितका मुद्दामा एकताबद्ध बनाउन र जनतामा संसद्प्रति विश्वास कायम राख्न संसद् सेवाका कर्मचारीको भूमिका महत्वपूर्ण हुने बताए । एकात्मक शासन व्यवस्था रहेको अवस्थामा स्थापना भएको संसद् सेवा संघीय शासन प्रणालीअनुसार सञ्चालन गर्दा थुप्रै चुनौती र अप्ठ्यारा देखिएका उल्लेख गर्दै उनले समयानुकूल संसद् सेवाको पुनःसंरचना गर्न आवश्यक भइसकेको उनले उल्लेख गरे ।

‘यसका लागि विद्यमान कानुनी व्यवस्था, परीक्षा प्रणाली, कर्मचारीलाई दिइने सेवा सुविधा र संरचनामा पनि परिमार्जन गर्नुपर्छ,’ अध्यक्ष दाहालले भने, ‘संसदलाई अझ सक्षम, प्रभावकारी र बलियो बनाउन संसद् सेवालाई समयानुकूल परिमार्जन गर्न अब ढिलाइ गर्नुहुँदैन ।’

संसदका हरेक गतिविधिमा जनताको सहज पहुँच र सहभागितालाई कसरी बढाउने भन्नेतर्फ विशेष ध्यान दिइनुपर्नेमा जोड दिँदै अध्यक्ष दाहालले संसद्का गतिविधिमा जनताको प्रत्यक्ष पहुँच सुनिश्चित गर्न अनलाइनबाट जनताको राय संकलन र प्रश्नहरूको जवाफ दिने प्रणाली लागू गर्नु उचित हुने बताए ।

विधेयक निर्माणदेखि त्यसको कार्यान्वयनसम्मको प्रक्रियालाई सहज र द्रुत बनाइ गुणस्तरीय कानुन निर्माणमा धेरै मेहनत गर्न जरुरी रहेको बताउँदै अध्यक्ष दाहालले संसदको प्रभावकारिताका लागि संसद्भित्र अनुसन्धानात्मक प्रणालीलाई बलियो बनाउन संसदीय अध्ययन अनुसन्धान केन्द्र स्थापना गर्नुपर्ने आवश्यकता औँल्याए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया